‘बिबिसी सो’ का चर्चित मास्टर सेफ साह भन्छन्, ‘नेपाली खाना विश्वभर पस्किँदैछु’

बेलायतको चर्चित मास्टर सेफको उपविजेता सन्तोष साह काठमाडौंमा
बिहीबार, फागुन १३, २०७७
डिस होम विज्ञापन
Global Ime Bank

काठमाडौं । नेपाली भएर जन्मिएपछि संसारलाई नेपालको मौलिकता र पहिचान चिनाउनैपर्छ । मेहनत र संघर्षले सफलताको शिखरमा पु¥याउने थोरै मात्र पात्र भेटिन्छन् । तिनैमध्येका एक हुन, चर्चित सेफ सन्तोष साह । पाककलामा उत्कृष्ट प्रदर्शन गर्दै नेपाली सेफ सन्तोष साह ‘बिबिसी मास्टर सेफ प्रोफेसनल्स युके’ को उपविजेता बने । पाककलाका बादसाह सन्तोषको नेपालमा मात्र होइन, विश्वभर चर्चा चुलिएको छ । विश्वचर्चित सञ्चार माध्यमले साहलाई ‘सेलीब्रेटी’ बनाए । कारण थियो, उनको सामान्य र सरल जीवन, दुःख, संघर्ष, दैनिकी र सफलतासँग जोडिएका कथा । 
हो, आज उनी विश्वको नजरमा पर्न सफल भए, उनले नेपालको मौलिक खानाको परिकारलाई विश्वमाझ पस्केर नेपाल र नेपालीको सान र गरिमालाई पनि उँचो बनाउन भूमिका खेले । ‘नाम राख्नलाई नेपाली भएर जन्मिएपछि संसारमा सफलता पाउन कठिन छैन मेहनत चाहिन्छ । विश्वबजार घुमेर नेपाली खानाको प्रवद्र्धन गर्ने योजना बनाएको छु’, बेलायतको चर्चित मास्टर सेफको उपविजेता बनेपछि पहिलोपटक आज नेपाल आएका सेफ साहले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा संक्षिप्त कुराकानीका क्रममा भने ।
खाद्य गुणस्तर अभिवृद्धिबारे सचेतना फैलाउने उद्देश्यका साथ अघि बढ्ने योजना साहले सुनाए । बेलायतमा छिट्टै रेष्टुराँ सञ्चालन गर्ने र नेपालमा पनि रेष्टुराँ खोल्ने योजना बनाएका साहले यसमा नेपाली सेफले अवसर पाउने बताए । उनी भन्नुछन्, ‘मेहनत नै हो हाम्रो सफलता, जति उपलब्धि छ, त्यसैमा खुशी हुन सिक्नुपर्छ । जब म ‘प्लाष्टिकको झोला बेच्दथँे र पाउरोटी बेच्थेँ त्यतिबेला पनि खुशी थिएँ, अहिले यो सफलतामा पनि खुशी नै छु ।’

अहिले जतिपनि सेफहरू छन् उनीहरूले नेपाली खाना जन्मेदेखि बनाएको र आफूले दुई वर्षदेखि बनाउन थालेकाले अझै नेपाली सेफहरूबाट धेरै सिक्न नेपाल आएको सुनाए । ‘नेपालमा जन्मेपछि केही कुरा पनि गाह्रो हँुदैन । खाली सोच बनाएर कर्ममा तल्लीन हुनुपर्छ’, उनले अगाडि भने, ‘हाम्रो ‘फुड इन हाइजिन’ छैन’, चिसो खाना नखानू र बोतलबिनाको पानी नपिउनू भन्ने हाम्रो सन्देश हो । चिसो र बासी खानाले मानव शरीरलाई असर गर्छ । मेरा जति साथी छन् तीनलाई तातो खाना खानु, बोतलको मात्रै पानी पिउनु भन्ने मेरो सन्देश छ । विदेशीका लागि यो गुणस्तर कायम गर्नेपर्छ ।’ एउटा सामान्य नेपालीको छोरो यति ठूलो सफलतामा पुग्छ भन्ने विश्वासै थिएन । देशभित्र भान्से र खानाका लागि मान्यतै छैन । यस क्षेत्रमा पनि केही गरौँ भन्ने उद्देश्यका साथ लागी सङ्घर्षको यात्रा शुरु गरिएको साहले बताए । उनले सेफकै लागि १० वर्ष भारतमा काम गरेको भए पनि नेपालको खाना र पहिचानको लागि केही गरौँ भनेर दिलैदेखि सोच आएकाले अहिलेको सफलता मिलेको बताए । ‘अब नेपालको खानाको गुणस्तर बढ्छ, खानाबाट पनि सरकारले आम्दानी गर्न सक्छ’ उनले भने । अहिलेको सफलतालाई लिएर अझै दोब्बर सफलता पाउने गरी नेपाल प्रवद्र्धनमा जुट्ने साहको भनाइ छ । साहले पाँच भाषामा पुस्तक प्रकाशन गर्दै छन् । चर्चित पेन्गुइन पब्लिकेशनले साहको ‘कुक बुक’ पुस्तक प्रकाशन गर्न लागेको हो । पुस्तक प्रकाशनको कामका लागि पनि आफू नेपाल आएको साहले बताए । खानाको विश्वव्यापी ‘रोडम्याप’ बनाएको र लण्डनबाटै यो अभियान शुरु गरिने उनले जानकारी दिए । भान्सेको संस्कार नेपालमा छैन तर, सुधार गरे सम्भव हुन्छ । खाना सबैले बनाउँछन् गुणस्तरीय खानामा ध्यान दिनुपर्छ । सरसफाइ र स्वच्छतालाई अभियानकै रुपमा नेपाल अघि बढे सफलतामा पुग्न सकिन्छ उनले भने । 

नेपालमा के गर्दै छन् साह
प्यासिफिक एशिया ट्राभल एशोसिएशन (पाटा) नेपाल च्याप्टरको पहल र समन्वयमा नेपाल आएका साह करिब एक महिना नेपालमा रहनेछन् । उनी पाटाको ४४औँ वार्षिक साधारणसभाको प्रमुख वक्ताका रूपमा सहभागी हुनेछन् । उनी नेपाल पर्यटन बोर्डलगायत संस्थाले गर्ने कार्यक्रममा पनि सहभागी हुनेछन् । साह पाँच दिन होटल क्वारेन्टिन बसाइपछि पर्यटकीय गतिविधिमा सक्रिय हुनेछन् । काठमाडौँ पार्क भिलेज र टर्किज एयरवेजको सहकार्यमा पाटा नेपालको अग्रसरतामा साह नेपाल आएका हुन् ।  नेपालको पाकशास्त्रलाई व्यापक अनुसन्धान गरी पर्यटनका विविध विधामध्ये पाकवान महत्वपूर्ण पाटो बन्न सक्ने सन्देश दिनु पनि उनको नेपाल आगमनको उपलब्धि भएको पाटाका कोषाध्यक्ष खेम लकाईंले बताए । नेपालका चर्चित सेफ गोविन्दनरसिंह केसीले नेपालको ४० वर्षे सेफ इतिहासमा नेपाल र नेपालको परिकारलाई विश्वभर चिनाउन सफल भएकामा खुशी व्यक्त गरे । पाटाका प्रमुख कार्यकारी अधिकृत सुरेशसिंह बुडालले सेफ साहको नेपाल आगमनले कोभिडबाट थलिएको मुलुकको पर्यटनलाई प्रवद्र्धनका साथै नेपाल गन्तव्यलाई खानाको माध्यमबाट विश्वभर पु¥याउन सहयोग पुग्ने विश्वास व्यक्त गरे । 

यसरी विश्वभर कहलिए साह 
बेलायतको चर्चित प्रसारण सेवा बिबिसीबाट प्रसारण हुने प्रतिष्ठित ‘मास्टर सेफ प्रोफेसनल्स २०२०’ मा साह उपविजेता बने । संसारभरका विभिन्न कुइजिनका झण्डै तीन दर्जन सेफले भाग लिएको उक्त प्रतिस्पर्धाको ‘ग्राण्ड फिनाले’ सम्म पुग्ने अन्तिम तीनमा साह पनि थिए । ग्राण्ड फिनाले एपिसोडमा नेपाली ढाकाटोपीमा देखिएका साह दोस्रो बने । उनले अन्तिम प्रस्तुतिमा नेपालको राष्ट्रिय झण्डा प्रदर्शन गरेर नेपाली प्रशांसा बटुलेका थिए । साहको यो सफलतालाई संसारभरका सञ्चारमाध्यमले स्थान दिए । नेपालको पहिचानलाई विश्वभर फैलाउन र पर्यटन प्रवद्र्धनका निम्ति महत्वपूर्ण सहयोग पुगेको छ । अन्तिम प्रतिस्पर्धामा सेफ साहले हड्डीवाला भैँसीको मासु, खोले साग, भेडाको गिदीलगायत परिकार पकाएर चरेशको थालमा पस्किएका थिए उनले । खानासँगै उनले नेवारी समुदायमा सगुनका रुपमा प्रचलित ‘ऐला’ पनि ‘सर्भ’ गरेका थिए । बिबिसी मास्टर सेफमा नेपाली खानासहित भाग लिने पहिलो सेफ सन्तोषको फाइनलसम्मको यात्रा प्रभावशाली रह्यो, जसले उनलाई विश्वस्तरमा प्रतिष्ठित बनायो । सिस्नुको तरकारी, बेथेको साग, योमरी, गुन्द्रुरुक, मकैको रोटी, भाङको अचारलगायत दर्जनौं मौलिक नेपाली परिकार विश्वभरका दर्शकमाझ पस्किएका साह देशवदेशका लाखौं नेपालीको मन जित्न सफल भएका छन् । नेपाली खानाको मौलिकता र विविधतालाई विश्वमाझ चिनाउनु नै आफ्नो प्रमुख लक्ष्य बताउने सन्तोषले भविष्यमा नेपाली खानाको प्रवद्र्धनमा निरन्तर जुटिरहने जानकारी दिए । 
     

विमानस्थलमा भव्य स्वागत 
‘मास्टर सेफ युके’ मा उपविजेता ‘फस्ट रनरअप’ भएका साह आज नेपाल आएका हुन् । मध्याह्न काठमाडौँ ओर्लिएका साहलाई विमानस्थलमा भव्य स्वागत गरिएको थियो । नेपालका सेफ तथा पर्यटन व्यवसायीले स्वागत गरेका हुन् । नेपालमा लामो समयदेखि काम गरेका ‘लेजेन्ड’ सेफ तथा युवा सेफको उपस्थितिले माहोल निकै भावुक बनेको थियो । 

को हुनु ?


नेपालको सिरहाको करजन्हामा जन्मिएका साह हाल बेलायतमा बस्छन् । सात दाजुभाइ दिदीबहिनीमध्ये उनी सबैभन्दा कान्छो सदस्य हुन् । सानै उमेरमा बुबाको साथ गुमाएका साहले १० वर्षका उमेरदेखि काम गर्न थाल्नुभयो । स्थानीय बजारमा प्लास्टिकको झोला बेच्नेदेखि पाउरोटी किनेर बेचेको पनि उनीसँग अनुभव छ । नेपालमा कक्षा १० सम्म पढेका साहले एसएलसी उत्तीर्ण गर्न नसकेपछि कामको खोजीमा सन् २००० मा १५ वर्षका उमेरमै भारतको गुजरात पुगे । उनले अहमदावादको एक रेस्टुरेन्टमा भाडा माँझ्ने काम शुरु गरे । एकपछि अर्काे होटलमा काम गरेर नयाँ अनुभव उनले सम्हाले । कामकै सिलसिलामा पकाउन सिके । अनि अंग्रेजी भाषाको ज्ञान पनि लिए । पछि होटल व्यवस्थापनमा डिप्लोमा गरेर सात वर्षमै उनी एक पाँचतारे होटलको सेफ बने । सेफ साहले भारतमा खानेकुरा महोत्सवसमेत आयोजना गरे । महोत्सवले साहबारे तारिफ बढ्यो । लगत्तै बेलायतबाट एक गुजराती व्यवसायीको सहयोगले सन्तोषलाई बेलायतमा रहेर काम गर्ने प्रस्ताव राखे । उनी सन् २०१० मा बेलायत गए । एक रेस्टुरेन्टमा काम गरे । बेलायतकै ललित होटल र बनारसमा समेत काम गरे ।-रासस 

प्रकाशित मिति: बिहीबार, फागुन १३, २०७७  २०:०४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार