पत्रकारिता तथा समाजशास्त्र विषयमा स्नातकोत्तर कक्षा सञ्चालनको तयारीमा जनभावना 

सोमबार, माघ १७, २०७८

ललितपुर, १७ माघ । दक्षिण ललितपुरको अग्रणी सामुदायिक क्याम्पस जनभावना क्याम्पसले तेह्रौँ क्याम्पस सभा  सम्पन्न गरेको छ । गोदावरी नगरपालिका–११ स्थित क्याम्पस सभा हलमा आयोजित क्याम्पस सभाले क्याम्पस सञ्चालक समितिका सदस्यसचिव शिवराज सञ्जेलले प्रस्तुत गरेका वार्षिक प्रगति प्रतिवेदन तथा आय–व्यय प्रतिवेदन पारित गरेको छ ।  क्याम्पस सभामा प्रतिनिधि सभाका सांसद नवराज सिलवालले दक्षिण ललितपुरका नागरिकहरुको शैक्षिक चाहनालाई पूरा गर्न क्याम्पसले अग्रणी भूमिका निर्वाह गरिहेको बताए । मुलुकको समग्र शिक्षा प्रणालीले समाज निर्माणमा सकारात्मक भूमिका खेल्न नसकिरहेको अवस्था भएपनि जनभावनाको उपलव्धी उल्लेखनीय रहेको उनको भनाइ थियो ।  क्याम्पस सभामा बागमती प्रदेशका सांसद चेतनाथ सञ्जेलले भौतिक पूर्वाधारको अभाव झेलेरै भए पनि शैक्षिक प्रगति गरिरहेको भन्दै कलेज परिवारलाई धन्यवाद दिए । उनले सांसद विकास कोषमार्फत आफूले कलेजका लागि रकम छुट्याएको जानकारी दिँदै आफू कलेजको प्रगतिमा निरन्तर लागिरहने प्रतिवद्धता जनाए । 
क्याम्पस सञ्चालक समितिका कार्यवाहक अध्यक्ष रविन्स शर्माको सभापतित्वमा सम्पन्न क्याम्पस सभामा गोदावरी उद्योग बाणिज्य संघका सपभाति जगननाथ महर्जनलगायतले क्याम्पसको शैक्षिक उपलब्धिका बारेमा मन्तव्य व्यक्त गरेका थिए । 
क्याम्पस सभामा सदस्यसचिव शिवराज सञ्जेलले क्याम्पसमा शिक्षाशास्त्र सङ्कायमा प्रविधिकधारको ब्याचलर इन इन्फरमेशन एण्ड कम्युनिकेशन एजुकेशन (बीआइसीटीइ) अध्यापन अनुमतिको काम अन्तिम चरणमा रहेको तथा मानविकी सङ्कायअन्र्तगत स्नातकोत्तर तहमा प्रभावकारी मानिएका आम सञ्चार र पत्रकारिता तथा समाजशास्त्रको कक्षा सञ्चालन तयारी थाल्नु पर्नेमा जोड दिए । 
यस्तै उनले स्नातक तहमा बीबीए तथा अन्य प्राविधिक, व्यावसायिक तथा सिपमूलक विषय अध्यापन अनुमति प्राप्तिका लागि पहल भइरहेको क्याम्पस सभालाई जानकारी दिए ।  हाल क्याम्पसमा स्नातक तहका तीनवटै सङ्कायमा हाल ६०३ जना विद्यार्थी तथा स्नातकोत्तर तह व्यवस्थापन सङ्कायअन्तर्गत ५३ विद्यार्थीसहित शैक्षिक सत्र २०७८ मा ६५६ जना विद्यार्थी अध्ययनरत छन्  ।  स्नातक तह अन्तर्गत मानविकी, व्यवस्थापन र शिक्षाशास्त्र सङ्कायका विभिन्न विषयमा अध्यापन भइरहेको छ । स्नातक तह मानविकी सङ्कायमा प्रविधिकधारको ब्याचलर इन कम्प्युटर एप्लीकेशन(बीसीए) समेत अध्यापन भइरहेको छ ।
क्यायापस र समुदाय बीचको सबन्धलाई थप प्रभावकारी बनाउने तथा यस क्याम्पसमा आमसञ्चार विषयमा अध्ययनरत विद्यार्थीहरुको सहभागितामा विद्यार्थीहरुका लागि अध्ययन सामग्रीको साथमा अनलाइन सञ्चार सुविधासहितको  डब्लुडब्लुडब्लुडट जेबीसीखबर डटकम (अनलाइन सञ्चार, रेडियो, टिभि लाइभको सुविधा सहितको) दर्ता गरी सञ्चालनको अन्तिम चरणमा रहेको पनि सदस्यसचिव सञ्जेलले जानकारी दिए । 
कोभिड १९ को महामारीका कारण भौतिक कक्षा बन्द रहेपनि एमएस टिम्सको प्रयोग गरी अनलाइन कक्षा सञ्चालन गरिएको तथा  मुडल सफ्टवेयरको प्रयोग गरी आफ्नै अनलाइन लर्निङ पोर्टल सञ्चालनमा ल्याएको उनले क्याम्पससभालाई जानकारी गराएका थिए । 

 

प्रकाशित मिति: सोमबार, माघ १७, २०७८  १५:४०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार