सोसल मिडिया
Contact Us
युनिकोड
वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको बुझाइमा उनका लागि विश्व ‘अमेरिका पहिला’ भन्ने राष्ट्रवादी धारणाको एउटा हिस्सा थियो । त्यसअन्तर्गत उनले अमेरिकालाई फाइदा नभएको भन्दै अन्तर्राष्ट्रिय सम्झौताहरूबाट अलग हुने घोषणा गरे । जुन नाफामुखी, एकातर्फी र समस्याकारी थियो । त्यो व्यक्तिवादी र सनकपूर्ण पनि थियो । राष्ट्रपति ट्रम्पको कार्यकालमा अमेरिकी विदेश नीति उनको सम्बन्ध र ट्वीटरमा अभिव्यक्त हुने धारणाले निर्धारण गरेको थियो । तर जो बाइडनका लागि विश्व अमेरिकी भूमिका र स्वार्थ, दोस्रो विश्वयुद्धपछि स्थापित अन्तर्राष्ट्रिय संस्थाहरू र पश्चिमा लोकतान्त्रिक मूल्य एवम् मान्यतामा आधारित हुनेछ ।
बाइडनको कार्यकालमा के–के परिवर्तन हुनसक्छ ? बाइडनको प्राथमिकताको उच्च सूचीमा नेटो र विश्व गठबन्धनहरूमा पुनः सामेल विषय समावेश छ । बाइडनको प्रशासन विश्व स्वास्थ्य सङ्गठनमा पुनः आबद्ध हुनेछ भने र कोरोनाभाइरसविरुद्ध अन्तर्राष्ट्रिय प्रयासको नेतृत्व गर्ने प्रयास गर्नेछ । बाइडनकको अभियानले क्षति पुगेको अमेरिकी छविमा सुधार ल्याउने र लोकतन्त्र पक्षधरलाई समर्थन गरेर प्रस्तुत हुने गरेको छ ।
जलवायु परिवर्तन बाइडनले जलवायु परिवर्तनलाई आफ्नो प्राथमिकता बनाउने र राष्ट्रपति ट्रम्पका कारण अमेरिका पछि हटेको पेरिस जलवायु सम्झौतामा पुनः फर्कने बताएका छन् । ट्रम्पले जलवायु परिवर्तनको मुद्दालाई अर्थतन्त्रको जोखिमका रूपमा हेर्ने गरेका थिए । उनले खनिज इन्धनहरूलाई प्रवद्र्धन गर्दै कतिपय वातावरण संरक्षण र जलवायुसम्बन्धी नियम खारेज गरेका थिए । बाइडनले कार्बन उत्सर्जन कटौतीका लागि विशाल योजनालाई अघि बढाउने बताएका छन् ।
इरान बाइडनले ट्रम्पले अस्वीकार गरेको इरानसम्बन्धी परमाणु कार्यक्रमको सम्झौतामा पनि पुनः अमेरिकालाई जोड्ने बताएका छन् । सन् २०१८ मा ट्रम्प प्रशासनले उक्त सम्झौता तेहरानका कारण निम्तिने जोखिम कम गर्न र परमाणु गतिविधि सिमित गर्न कमजोर रहेको भन्दै अलग हुने निर्णय लिएको थियो । त्यसपछि अमेरिकाले इरानमाथि पुनः प्रतिबन्धहरू लगायो र हालै लगभग सम्पूर्ण अर्थतन्त्रलाई कालोसूचीमा राखेर आर्थिक रूपमा दबाव बढायो । त्यसको बदलामा इरानले आफ्नो परमाणु गतिविधिमाथि लगाइएको प्रतिबन्ध पालना गर्न छाडेको छ । बाइडनले अत्याधिक दबाव दिने नीति विफल भएको र त्यसले तनावहरू चुलिएको बताएका छन् । उनले राष्ट्रपति ट्रम्प सत्तामा आउनुभन्दा अहिले इरान परमाणु अस्त्र नजिक पुगेको भन्दै इरानले कडा रूपमा पालना गर्ने धारणा राखे आफू परमाणु सम्झौताको पक्षमा उभिने जनाएका छन् ।
के उस्तै रहन्छ ? राष्ट्रपति ट्रम्पजस्तै राष्ट्रपति बाइडन पनि अफगानिस्तान र इराकमा लामो समयदेखिको युद्ध अन्त्य गर्न चाहन्छन् । तर उनले आतङ्कवादसँग जुध्न दुवै देशमा सानो सङख्यामा फौज राख्न चाहन्छन् । उनले अमेरिकी रक्षा मन्त्रालयको बजेट पनि घटाउने छैनन् भने ड्रोन हमलाहरू पनि रोक्ने छैनन् । तर भूराजनीतिक प्रतिद्वन्द्वीहरूको हकमा भने सोचेभन्दा कम परिवर्तन पनि हुनसक्छ ।
रुस निश्चित रूपमा माथिल्लो तहमा सम्बन्ध परिवर्तन हुन्छ तर अन्तराष्ट्रिय मान्यता उल्लंघन गर्ने व्यवहारका लागि पनि राष्ट्रपति ट्रम्प व्यक्तिगत रूपमा अधिकांश अवस्थामा भ्लादिमिर पुटिनलाई माफी दिन तयार देखिन्थे । तर ट्रम्प प्रशासन रुसमाथि प्रतिबन्ध लगाएर सजाय दिने मामिलामा कठोर थियो । यस्तो अभ्यासले बाइडनको राष्ट्रपतिकालमा पनि निरन्तरता पाउनसक्छ । पूर्वउपराष्ट्रपति बाइडनले रुस अमेरिकाको प्रतिद्वन्द्वी रहेको आफूले ठानेको सीएनएनलाई बताएका थिए । उनले चुनावमा हस्तक्षेप गरेको र अफगानिस्तानमा अमेरिकी फौजलाई निशाना बनाउन तालिबानहरूलाई रकम दिएको जस्ता ट्रम्पले सम्बोधन नगरेका सवालमा रुसविरुद्ध कठोर रूपमा पेश हुने प्रतिबद्धता व्यक्त गरेका छन् । तर बाइडनले परमाणु भण्डार सिमित पार्ने सन्धिको कार्यान्वयन विषयमा मस्कोसँग मिलेर काम गर्न आफूले चाहेको पनि बताएका छन् ।
चीन सन् २०१७ मा राष्ट्रपति ट्रम्पले कसरी आफू र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच चकलेट केकका कारण नजिकिएको बताएका थिए । त्यसयता उनले उक्त मित्रतालाई चिनियाँ राष्ट्रपतिलाई कोरोनाभाइरसको महामारी फैलाएको र नयाँ शीतयुद्धकालीन भाषणमा बदलिदिएका छन् । व्यापार र अन्य विषयमा चीनविरुद्ध कडा रूपमा प्रस्तुत हुनेमा दुर्लभ राजनीतिक सहमति छ । बाइडनले पनि चीनको ‘अपमानजनक आर्थिक अभ्यास’लाई चुनौती दिने ट्रम्पको नीतिलाई निरन्तरता दिनेछन् । तर उनले ट्रम्पजस्तै एकपक्षीय व्यापार सम्झौताभन्दा पनि साझेदारसँग मिलेर उक्त विषयमा अघि बढ्ने धारणा राख्नेछन् । अमेरिकाले केयौँ मोर्चामा बेइजिङलाई पछि धकेल्ने प्रयास अघि बढाएपछि दुवै देशबीच सम्बन्ध दशकौँ यताकै चिसो अवस्थामा पुगेको छ । बाइडनले उदयमान चीनसँग सहकार्य गर्ने क्षेत्रहरू पनि आफूले हेर्ने बताएका छन् ।–बीबीसी