सुदूरपश्चिम विश्वविद्यालयको परीक्षा स्थगित

मंगलबार, माघ ११, २०७८

बैतडी, ११ माघ । सुदूरपश्चिम विश्वविद्यालयले वार्षिक परीक्षा स्थगित गरेको छ । पछिल्लो समय कोरोना सङ्क्रमण बढ्दै गएकाले माघ महिनाभरी हुने सबै परीक्षा स्थगित गरिएको विश्वविद्यालयले जनाएको छ । विश्वविद्यालयको आज बसेको परीक्षा बोर्डको बैठकले यही माघ १६ गतेदेखि सुरु हुन लागेको स्नातक तहको व्यवस्थापन सङ्कायको पहिलो, दोस्रो र  तेस्रो वर्षका परीक्षा स्थगित गर्ने निर्णय गरेको छ । परीक्षा नियन्त्रक देवसिंह नाथका अनुसार अर्को सूचना प्रकाशित नभएसम्मका लागि परीक्षा स्थगित गरिएका हुन् । यसका साथै विश्वविद्यालयले कक्षा सञ्चालन पनि अनलाइनबाटै गर्ने निर्णय गरिएको जनाएको छ ।   

सिटिइभिटीअन्तर्गतका सबै परीक्षा स्थगित
यता भक्तपुरमा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) ले मातहतका सबै परीक्षाहरू स्थगित गरेको छ । 
सिटिइभिटी परीक्षा नियन्त्रण कार्यालयले आज सूचना जारी गर्दै कोरोना भाइरस सङ्क्रमणका कारण सिटिइभिटीअन्तर्गतका सम्पूर्ण परीक्षा स्थगित गरेको जनाएको हो ।
सिटिइभिटी परीक्षा नियन्त्रण कार्यालयका उपनियन्त्रक डिलबहादुर घिमिरेले सिटिइभिटीको आज बसेको बैठकले परीक्षा सञ्चालनको पूर्वतयारी अवस्थामा रहेका सम्पूर्ण परीक्षाहरू अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गर्ने निर्णय गरेको जानकारी दिनुभयो । उहाँले परीक्षा केन्द्रमा परीक्षासँग सम्बन्धित विद्यार्र्थी र कर्मचारीमा कोरोना भाइरस सङ्क्रमण हुनसक्ने भएकाले परीक्षा अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको जानकारी दिए । 
सिटिइभिटीले यही माघ १५ गते बायोमेडिकलतर्फको प्रवेश परीक्षा र २२ गते प्रिडिप्लोमा तहको मौका परीक्षा लिने तयारी गरेको थियो । परिषद्ले यही माघ २७ गतेदेखि वार्षिक प्रणाली र सेमेस्टर प्रणालीका तर्फका इन्जिनियरिङ, स्वास्थ्य, कृषि लगायतका विभिन्न कार्यक्रमअन्तर्गतका नियमित तथा पूरक परीक्षा सञ्चालन गर्ने तयारी गरेको थियो । परिस्थिति सहज हुनासाथ एक हप्ता अथवा १० दिनको समय दिएर नयाँ परीक्षा तालिका सार्वजनिक गर्ने सिटिइभिटीको तयारी रहेको उपनियन्त्रक घिमिरेले बताए ।
 

प्रकाशित मिति: मंगलबार, माघ ११, २०७८  २२:४७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार