चितवनमा शिक्षक अस्पताल बनाउँदै सरकार

शुक्रबार, माघ ७, २०७८

 चितवन, ७ माघ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शिक्षक अस्पताल भरतपुर महानगरपालिकामा बन्ने र यसका लागि तत्काल काम अघि वढ्ने जानकारी दिएका छन् ।  उनले भने, “शिक्षक अस्पताल चितवनमा बनाउन आवश्यक कानुनी प्रक्रिया अघि बढाएर यसै आर्थिक वर्षमा काम थालिने छ । हामी छिट्टै फाइल उठाएर मन्त्री परिषद्को बैंठकमा लैजान्छौं ।”
जग्गा अस्पतालको नाममा आएपछि विस्तृत अध्ययन प्रतिवेदनको काम अघि बढ्ने छ । कानुनी प्रक्रियाका कारण केही समय लाग्ने भए पनि अन्य कारणबाट काम नरोकिने उनको भनाइ छ । 
पूर्व सम्भाव्यता अध्ययन र जग्गा पहिचान समितिले बुधबार मन्त्री पौडेललाई भरतपुरमा अस्पताल बनाउन उपयुक्त हुने जनाउँदै प्रतिवेदन बुझाएको छ ।
सुरुमा तीन ३०० शय्याको अत्याधुनिक शिक्षक अस्पताल बनाइने छ । क्रमशः अस्पतालको शय्या थप गर्दै लगिने उनले बताए । अस्पताल परिसरमा कुरुवा घर समेत बनाइने छ । महानगरपालिकाका प्रमुख रेनु दाहालले महानगरपालिकाको वडा नं १५ भगवानपुरमा आवश्यक जग्गा उपलब्ध गराउने बताइन् । 
महानगरले सो स्थलमा रहेको ८ बिघा १६ कठ्ठा जग्गा उपलब्ध गराउन आवश्यक निर्णय गरी कागजपत्र समितिलाई उपलब्ध गराएको थियो । महानगरपालिकाले प्रमुख जिल्ला अधिकारीसहित जिम्मेबार सरोकारवालासमेत बसेर सो जग्गा शिक्षक अस्पतालका लागि उपलब्ध गराउने सहमति गरेको हो ।
सहमतिपत्रसँगै सार्वजनिक जग्गाको फिल्ड बुक र नक्शा, प्राविधिक (नापी कर्मचारी)को स्थलगत नापजाँच प्रतिवेदन, वडा नं १५ को सहमतिपत्र र महानगरपालिकाको निर्णय प्रतिलिपिसहित आवश्यक सम्पूर्ण कागजपत्र पेश गरिसकेको छ । देशकै केन्द्रभागमा रहेकाले चितवन उपयुक्त हुने भन्दै समितिले प्रतिवेदन बुझाएको हो । 
महानगर प्रमुख दाहालले भनिन्, “यस अस्पतालले भरतपुरलाई मेडिकल सिटीको रूपमा विकास गर्न सहयोग पुग्ने छ ।”  शिक्षक अस्पतालपछि शिक्षाण अस्पताल हुने दाहालको भनाइ छ । अस्पतालले यहाँको समग्र विकासमा समेत सहयोग पुग्ने जनाइएको छ ।
भरतपुरमा क्यान्सर अस्पताल, दुई ठूला मेडिकल कलेज, सङ्घीय सरकारी अस्पतालको सुविधा भएकाले काठमाडौँ बाहिर आउँदै गर्दा भरतपुर जस्तो उपयुक्त ठाउँ अन्यत्र नहुने भरतपुर महानगरपालिकाका उपप्रमुख पार्वती शाह ठकुरीले जानकारी दिइन् । 
उनले भनिन्, “सबै हिसाबले शिक्षक अस्पताल भरतपुरमा उपयुक्त हुन्छ ।” शिक्षा मन्त्रालयले डा बिमल शर्मा चालिसेको संयोजकत्वमा पूर्व सम्भाव्यता अध्ययन र जग्गा पहिचान समिति बनाएको थियो । समितिका सदस्य शिक्षक महासङ्घका सहसंयोजक पूर्णप्रसाद दवाडीले समितिले हेरेका अन्य क्षेत्रका तुलनामा भरतपुरको जग्गा उपयुक्त रहेको बताए । 
उनले भने “अन्यत्र पनि नराम्रो छैन । सबै हिसाबले भरतपुर अरु राम्रो छ ।” समितिले जग्गा हेर्नु पूर्व पेशागतसँग सङ्गठनसङ्ग छलफलसमेत गरेको दवाडीले जानकारी दिनुभयो । अधिकांशले मध्यभाग भएकाले भरतपुरलाई रुचाएका थिए । दवाडीका अनुसार चार लाख भन्दा बढी शिक्षक कर्मचारी र तीनका परिवार प्रत्यक्ष रूपमा लाभान्वित हुनेछन् । 
नेपालमा स्थायी शिक्षक एक लाख सात हजार, राहत ४० हजार, पाठ शिक्षक ४० हजार, विद्यालय कर्मचारी ३६ हजार, निजी स्कुलका शिक्षक एक लाख ५० हजार र पूर्ब शिक्षक ३० हजार रहेका छन् । यस अस्पतालले सर्वसाधारणको पनि उपचार गर्ने छ । अस्पताल बन्दै गर्दा कार्यविधि बन्ने र शिक्षक कर्मचारीले पाउने सुविधाको बारेमा निर्णय हुने उनले जानकारी दिए ।
नमूना अस्पताल बन्ने भन्दै उहाँले टाढाबाट आएका बिरामी र आफन्त बस्नका लागि कुरुवाघरसमेत हुने बताए । 
चितवनमा क्यान्सर उपचारका लागि देशैभरबाट बिरामी आउने गर्दछन् । केन्द्रियस्तरको भरतपुर अस्पताल र मेडीकल कलेजमा देशभरबाट बिरामी उपचारका लागि आउने गर्दछन् । भरतपुरलाई मेडिकल सिटीको रूपमा लिने गरिन्छ ।-रासस

प्रकाशित मिति: शुक्रबार, माघ ७, २०७८  ०६:२९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार