डब्लुटिओ प्रमुखमा नाइजेरियाकी ओकोन्जो नियुक्त

मंगलबार, फागुन ४, २०७७

जेनेभा । नाइजेरियाकी पूर्व अर्थमन्त्री एन्गोजी ओकोन्जो–इवेला विश्व व्यापार संगठन (डब्लुटिओ) को प्रमुखमा नियुक्त भएका  छन् । ओकोन्जो उक्त पदमा पुग्ने पहिलो अफ्रिकी पनि हुन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनका बेला तथा विश्वव्यापीरुपमा फैलिएको कोरोनाभाइरसका कारण उत्पन्न आर्थिक सङ्कटबाट मुलुकलाई राहत प्रदान गर्न डब्लुटिओको काँधमा ठूलो जिम्मेवारी छ । व्यापार क्षेत्रको यो शक्तिशाली संस्थाको प्रमुख पदमा नियुक्त भएसँगै उनले सुदृढ डब्लुटिओ धेरै मुलुकको चाहना रहेको बताएका छन् ।  ६६ वर्षीया नवनियुक्त अर्थशास्त्री ओकोन्जोले यसअघि विश्व बैंकमा पनि महत्वपूर्ण जिम्मेवारी सम्हालेका थिए । उनलाई डब्लुटिओको महानिर्देशकमा नियुक्त गर्न सदस्य राष्ट्रले भर्चुअल विधिबाट मतदान गरेका थिए । लगभग निस्कृय र पक्षघातकै अवस्थामा पुगेको डब्लुटिओलाई पुनःजीवित तुल्याउनु पनि ओकोन्जोको काँधमा ठूलो जिम्मेवारी आएको छ । महानिर्देशक पदमा विजयी भएसँगै उनले भने, ‘कोभिड–१९ को महामारीका कारण सिर्जित आर्थिक क्षतिलाई पूर्ण र तीब्रगतिमा पुनःजीवित तुल्याउने हो भने सुदृढ डब्लुटिओ निकै महत्वपूर्ण छ ।’ उनले डब्लुटिओका सामुन्ने धेरै चुनौती रहेका छन् भन्दै मिलेर कार्य गरिए डब्लुटिओलाई अझ बलियो, बढी जीवन्त र आजका यथार्थसँग अझ अनुकूलित बनाउन सकिन्छ भने । ओकोन्जोले आगामी मार्च १ देखि कार्यभार सम्हाल्ने छन् । उनको कार्यकाल सन् २०२५ को अगष्ट ३१ सम्म हुनेछ । एक जना पश्चिमी मुलुकका कुटनीतिज्ञले ओकोन्जो महिला भएको वा अफ्रिकाकी भएकैले नछानिएको बताउँदै डब्लुटिओका सामुन्ने उत्पन्न चुनौतीलाई सामना गर्नसक्ने योग्यता, अनुभव र गुण ओकोन्जोमा रहेको स्पष्ट गरे । जेनेभामा मुख्यालय रहेको डब्लुटिओ गत वर्ष अगष्टदेखि नै नेतृत्वविहीन छ । एक वर्ष कार्यकाल रहँदै तत्कालीन कार्यकारी निर्देशक रोबर्टो अजिभेडोले राजीनामा गरेपछि डब्लुटिओमा नयाँ प्रमुखको नियुक्ति हुन सकेको थिएन । विश्वका १६४ मुलुक सदस्य रहेको यस संस्थाको नेतृत्व चयन सहमतिका आधारमा गर्ने प्रचलन रहिआएको छ ।  शुरुमा आठ जना उम्मेदवार रहेपनि गत नोभेम्बरमा तीमध्ये एक व्यक्तिको नाम सिफारिस गरिएको थियो । तर तत्कालीन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले ओकोन्जोको नाममा असहमति जनाएर विवाद खडा गरिदिएको थियो ।  ट्रम्प प्रशासनले दक्षिण कोरियाली व्यापार मन्त्री यू म्युङ–हीलाई नियुक्त गर्न चाहेको थियो । तर अमेरिकामा नयाँ राष्ट्रपति जो बाइडन नियुक्त हुने पक्का भएपछि म्युङ–हीले आफ्नो नाम सम्भावित सूचीबाट हटाएका थिए । बाइडनले ओकोन्जोको नामलाई अनुमोदन गर्ने सङ्केत गरेका थिए । अमेरिकी कूटनीतिज्ञ डेभिड बिस्बीले संयुक्त राज्य अमेरिका डा.ओकोन्जोसँग मिलेर कार्य गर्न इच्छुक रहेको बताएका छन् । सन् १९९५ मा डब्लुटिओ स्थापना भएपछि ओकोन्जो कार्यकारी निर्देशक हुने सातौं व्यक्ति भएकी छन् । नाइजेरियाली ओकोन्जोको महानिर्देशक पदमा नियुक्तिका लागि संयुक्तराज्य अमेरिका, युरोपेली युनियन र अफ्रिकाले समर्थन जनाएका थिए ।  यतिबेला डब्लुटिओ धेरै किसिमका चुनौतीको घेरामा परेको छ । कोभिड–१९ शुरु हुनुअघि नै विश्व अर्थतन्त्रमा सङ्कट देखिएका थिए । डब्लुटिओले व्यापार वार्तालाई सहजीकरण गर्न सकिरहेको थिएन भने संयुक्तराज्य अमेरिका र चीनबीचको व्यापार तनाबलाई मत्थर बनाउन असमर्थ भएको थियो । डब्लुटिओमाथि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले लगातार आक्रमण गरिरहेको थियो । अमेरिकाले सन् २०१९ को अन्त्यतिर डब्लुटिओको विवाद समाधान अपिल प्रणालीमा आवश्यक न्यायाधीश नियुक्तीमा अवरोध गरिदिएको थियो ।  युरोपेली आयोगकी प्रमुृख उर्सुला भोन डर लियेनले ओकोन्जोको नियुक्ती विश्वकै लागि ऐतिहासिक क्षण भएको बताए । उनले ओकोन्जोलाई युरोपले पूर्णसहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।–एएफपी 

प्रकाशित मिति: मंगलबार, फागुन ४, २०७७  २१:३०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार