सोसल मिडिया
Contact Us
युनिकोड
सुपेरियर (संयुक्त राज्य अमेरिका), १६ पुस । अमेरिकी राज्य कोलाराडोमा तीव्र गतिमा फैलिइरहेको डढेलोले सयौँ घरहरू ध्वस्त पारेको स्थानीय अधिकारीले बताएका छन् । स्थानीय प्रशासनका अनुसार डढेलोका कारण कम्तीमा ३३ हजार व्यक्तिलाई उनीहरूको घर खाली गरी सुरक्षित स्थलतर्फ लगिएको छ । लामो समयसम्मको खडेरीले गर्दा सुख्खा बनेको जङ्गली तथा घाँसे मैदानलाई आगोको ज्वालाले समातेपछि ती क्षेत्रमा रहेका घरहरू पनि डढेका हुन् । कोलोराडोको बोल्डर काउन्टीमा कम्तीमा एक हजार ६०० एकड (६५० हेक्टर) जमिनमा डढेलो लागेको छ । अधिकांश उपनगरीय क्षेत्रमा आगलागी हुँदा मृत्यु र घाइते हुनेका सम्भावना रहेको अधिकारीहरूले चेतावनी दिएका छन् । सहरको एउटा होटल, सपिङ सेन्टर र अपार्टमेन्ट कम्प्लेक्स पनि डढेलोका कारण जलेका छन् । बोल्डर काउन्टी शेरिफ जो पेलेले बिहीबार पत्रकार सम्मेलनमा भने, “हामीलाई थाहा भएअनुसार सागामोर उपशाखाका करिब ३७० घर डढेलोका कारण खरानीमा परिणत भएका छन् । आगोको परिमाण, तीव्रता र घना जनसङ्ख्या भएको क्षेत्रमा यसको उपस्थितिले गर्दा यहाँका स्थानीयहरू डढेलोमा जलेर घाइते हुने वा मृत्यु हुने सम्भावना अत्यधिक छ । यद्यपि अहिलेसम्म कुनै हताहतको सूचना बाहिरिएको छैन ।” कोलोराडोका सञ्चारमाध्यमहरूले डढेलोका कारण कम्तीमा पनि छ जना बिरामी वा घाइते भएर अस्पतालमा भर्ना भएका समाचारमा उल्लेख गरेका छन् । लुइसभिल र सुप्रिम शहरका लगभग ३३,००० मानिसहरूलाई सुरक्षित स्थानमा जान अनुरोध गरिएको छ । शुक्रबार बिहानसम्ममा मौसम परिवर्तनको सङ्केत देखिएको र आगामी दुई दिन कोलोराडोमा भारी हिमपातको पूर्वानुमान गरिएको छ । मौसममा देखिएको परिवर्तनको सङ्केतले कोलोराडोवासीलाई तत्कालका लागि डढेलोजन्य सङ्कटबाट राहतको महसुस हुने देखिएको छ ।– रासस/एएफपी