ट्रकमा आगजनी

शुक्रबार, पुस १६, २०७८

राजविराज, १६ पुस । अज्ञात समूहद्वारा पूर्वपश्चिम राजमार्गअन्र्तगत सप्तरीको अग्निसाइर कृष्णासवरण गाउँपालिका–५ महुली पुलमा आज एउटा ट्रकमा आगजनी गरिएको छ । गिट्टी बोकेर पूर्वतर्फ जाँदै गरेको ना ६ ख ७६२९ नंको ट्रकमा अज्ञात समूहले आगजनी गरेको हो । 
आगजनीबाट ट्रकको अगाडिको भाग जलेको छ । ट्रकमा लगाइएको आगो निभाउन वारुणयन्त्र खटाइएको थियो । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले अज्ञात व्यक्तिद्वारा ट्रकमा आगजनी गरेको भन्दै उक्त व्यक्तिको खोजी भइरहेको जानकारी दिए । यसैबीच डा सिके राउत नेतृत्वको जनमत पार्टीले सात बुँदे माग राखी पूर्व–पश्चिम राजमार्ग अनिश्चितकालका लागि बन्द गरेको घोषणा गरे पनि बन्दको उलङ्घन गरेको भन्दै आक्रोशित जनमतका कार्यकर्ताले आगो लगाएको जनाइएको छ  । शान्तिपूर्ण आन्दोलनलाई अर्को पक्षसहित प्रहरी प्रशासनले दमन गर्न खोजेपछि आक्रोशित भएर आगजनी गरेको आन्दोलनकर्मीको भनाइ छ । यस्तै भारदहमा एक ट्रिपर तोडफोड गरिएको छ ।  

ट्याक्टर दुर्घटनामा मृत्यु
महोत्तरीको लोहारपट्टी नगरपालिका–४स्थित सडकमा आज साँझ ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा जिल्लाको भङ्गहा नगरपालिका–८ बस्ने २२ वर्षीय शैलेन्द्र सदा रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले बताए । सात जना रहेको सो ट्रयाक्टर तीव्रगतिका कारण आफँै अनियन्त्रित भई दुर्घटना हुँदा चालकसँगै बसेका शैलेन्द्रको ट्र्याक्टरमा च्यापिएर मृत्यु भएको हो । मृतक शैलेन्द्रको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल जलेश्वर पठाइएको छ । 
साथै दुर्घटनामा परेर चालक लोहारपट्टी नगरपालिका–३ बस्ने २५ वर्षीय सरोज पासवान घाइते भई जिल्ला अस्पताल जलेश्वरमा उपचाररत रहेका छन् भने अन्य सबै सकुशल रहेका छन् । 

भीरबाट लडेर मजदूरको मृत्यु

भीरबाट लडेर बैतडीमा आज एक मजदूरको मृत्यु भएको छ । मृत्यु हुनेमा नुवाकोट घर भएका ४१ वर्षीय नारायण मगर रहेका बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए । 
मगरको दोगडाकेदार गाउँपालिका–६ स्थित सित्तडमा भीरबाट लडेर मृत्यु भएको हो । भीरबाट १५० मिटर तल खसेका मगरको घटनास्थलमै मृत्यु भएको हो  । प्रहरीले उक्त घटनासम्बन्धी थप अनुसन्धान सुरु भएको जनाएको छ । 

प्रकाशित मिति: शुक्रबार, पुस १६, २०७८  २२:२५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार