गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल शीघ्र सञ्चालनको तयारी : पर्यटनमन्त्री

शुक्रबार, पुस १६, २०७८

काठमाडौँ, १६ पुस । राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल शीघ्र सञ्चालनमा आउने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले करिब निर्माण सम्पन्न रहेको उक्त विमानस्थल आगामी तीन महिना भित्र उद्घाटन गरिने बताए । नेपाल नागरिक उड्डयन प्राधिकरणको २३औँ वार्षिकोत्सबको आज यहाँ उद्घाटन गर्दै मन्त्री आलेले गौतमबुद्ध विमानस्थलमा छिट्टै ‘क्यालिब्रेसन फ्लाइट’ गरेर व्यावसायिक उडान सञ्चालन गरिने उल्लेख गरे । उनले भने, “अब हामी भैरहवा विमानस्थल उद्घाटनको सङ्घारमा छौँ । हवाई रुटका सम्बन्धमा भारतसँग हालै नयाँ दिल्लीमा त्यहाँको एभिएसन मिनिस्टरसँग कुराकानी भएको छ । कागजात ल्याउनुस् हामी सकारात्मक छौँ भन्नुभएको छ, चाँडै यो प्रक्रिया टुङ्गिने अपेक्षा गरिएको छ ।”
गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलको निर्माण कार्य ९८.७६ प्रतिशत सम्पन्न भई रनबे लाइट, यान्त्रिक अवतरण प्रणाली, सञ्चार उड्डयन सहायक उपकरणहरु, ब्यागेज ह्याण्डलिङग सिस्टम, एक्सरे आदि उपकरण जडान कार्य सम्पन्न भइसकेको प्राधिकरणले जनाएको छ ।
पर्यटनमन्त्री आलेले छिटो ‘विजनेश प्लान’ ल्याएर कम्तीमा १४ वटा जहाज खरिद प्रक्रिया अघि बढाउन नेपाल वायुसेवा निगम नेतृत्वलाई निर्देशन दिइसकिएको बताए । “मैले धेरै अगाडि पनि भनेको थिए । प्राधिकरणले भटाभट विमानस्थल बनाउँदै जान्छ, तपाईं (वायुसेवा निगम) अन्य कम्पनीका नयाँ जहाज गनेर बस्नुस् । भएका जहाज मर्मत गरेर उडाउनुस् भनिरहेको छु”, मन्त्री आलेले भने।
मन्त्री आलेले युरोपका आकाशमा नेपाली जहाज उडाउने वातावरण सिर्जना गर्न युरोपेली युनियनको कालोसूचीबाट हट्ने गरी काम गर्न प्राधिकरणलाई निर्देशन दिए । प्राधिकरणका महानिर्देशक राजकुमार क्षेत्रीले गौतमबुद्ध विमानस्थलमा जनवरी २०२२ भित्र क्यालिब्रेसन उडान गर्ने तयारी भइरहेको जानकारी दिए । “क्यालिब्रेसन फ्लाइटको तयारी भइरहेको छ, केही हाम्रै कारणले रोकिएको थियो, फिडर जडानको काम भइसकेको छ । उडान अनुमति पाएको एरो थाईका प्राविधिकले निरीक्षण गरेर गइसकेकोले जनवरीभित्रै परीक्षण उडान हुन्छ ।”
पोखरा क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थलको निर्माण कार्य ९८ प्रतिशत सम्पन्न भएको छ । अबको आठ महिनाभित्रै पोखरा विमानस्थल पनि उद्घाटन गरिने योजना छ । निजगढ अन्तरराष्ट्रिय विमानस्थलको गुरुयोजना तयारीको ८० प्रतिशत कार्य सम्पन्न भएको छ । विमानस्थल क्षेत्रमा रहेका रुख विरुवाको गणना गर्ने कार्य प्रदेश वन डिभिजन कार्यालयबाट भइरहेको प्राधिकरणले जनाएको छ ।
पर्यटन मन्त्रालयका सचिव महेश्वर न्यौपानेले प्राधिकरणले उठाएका गम्भीर चासोका विषयलाई व्यावहारिक ढङ्गले सम्बोधन गर्न मन्त्रालयले समन्वयकारी भूमिका खेल्ने बताए । प्राधिकरणसम्बन्धी संसद्मा विचाराधिन दुई विधेयक उपर कर्मचारीका सरोकारका विषयलाई पनि समेटेर प्रगतिमूलक ढङ्गले अघि बढाइने सचिव न्यौपानेको भनाइ छ । प्राधिकरण विभाजन गरेर नियामक र सेवा प्रदायकको रुपमा स्थापित गर्नेगरी विधेयक राष्ट्रियसभाबाट पारित भई प्रतिनिधिसभामा पेश गर्ने चरणमा रहेको छ ।
नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले निगम र प्राधिकरणको समन्वय र सहकार्यबाट निगमको साख अभिवृद्धिका लागि भइरहेका पछिल्ला प्रगतिको सराहना गरे । प्राधिकरण कर्मचारी युनियनका प्रतिनिधि लक्ष्मणकुमार गिरीले कर्मचारीको मर्का र गुनासोलाई सम्बोधन गरेर मात्रै विधेयक अघि बढाइनुपर्ने धारणा राखे।

हवाई यात्रु बढे
कोभिड–१९ महामारीका विशेषगरी पर्यटन र हवाई क्षेत्र बढी प्रभावित बन्यो । महामारीकै बीच पनि हवाई उडान गर्ने यात्रुको सङ्ख्या उल्लेख्य मात्रामा वृद्धि भएको छ । 
त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमार्फत अन्तरराष्ट्रिय उडानतर्फ कूल ११ लाख पाँच जहार १५९ यात्रु आवागमन गरेकोमा सन् २०२१ को नोभेम्बर सम्ममा यो सङ्ख्या १२ लाख ८० हजार २१२ रहेको छ । जसअनुसार गत वर्षको सोही अवधिको तुलनमा यात्रु सङ्ख्या करिब १९ प्रतिशतले वृद्धि भएको प्राधिकरणको प्रगति विवरणमा उल्लेख छ । त्यसैगरी आन्तरिक उडानतर्फ सन् २०२० मा १४ लाख ५७ हजार ५३९ यात्रुहरुको आवागमन भएकोमा सन् २०२१ को नोभेम्बर सम्ममा यो सङ्ख्या ३१ लाख १६ हजार ६७५ रहेको छ । जुन गत वर्षको सोही अवधिको तुलनमा ११३ प्रतिशतले वृद्धि भएको देखिन्छ । यसबाट हवाई क्षेत्रले विस्तारै पुनरुत्थानको चरणमा रहेको प्राधिकरणको निष्कर्ष छ ।

नयाँ रणनीतिका साथ पर्यटन प्रवद्र्धनका काम अघि बढाउन पर्यटनमन्त्रीको निर्देशन

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री  प्रेमबहादुर आलेले कोभिड–१९ महामारीका कारण समग्र पर्यटन क्षेत्रमा समस्या आइरहेकाले प्रतिकुल परिस्थितिमा नयाँ रणनीतिका साथ पर्यटन प्रवद्र्धनको काम अगाडि बढाउनुपर्ने बताएका छन् । 
नेपाल पर्यटन बोर्डको २३औँ वार्षिकोत्सवको आज यहाँ उद्घाटन गर्दै उनले आफ्नो सबै ध्यान पर्यटन क्षेत्रले भोगेका समस्या समाधान गर्दै पर्यटनलाई चलायमान बनाउनमा केन्द्रित रहेको धारणा राखे । पर्यटनमन्त्री आलेले बोर्डलाई सङ्घीय संरचना अनुरुप लैजान तथा कर्मचारीको वृत्ति विकासमा अवरोध नआउने गरी काम भइरहेको बताउँदै उत्साहका साथ काम गर्न पनि कर्मचारीलाई निर्देशन दिएका छन् ।
कार्यक्रममा पर्यटन मन्त्रालयका सचिव तथा बोर्डका अध्यक्ष महेश्वर न्यौपानेले कोभिडले सबैभन्दा बढी प्रभावित क्षेत्र पर्यटन भएकोले यसको पुनःरुत्थानका लागि मन्त्रालयले काम गरिरहेको जानकारी दिए । उनले पर्यटन पुनःरुत्थानमा व्यवसायीलाई आर्थिक तथा नीतिगत सहुलियत आवश्यक भएको उल्लेख गर्दै त्यसको लागि मन्त्रालयसमेतले पहल गरिरहेको बताए । 
यस्तै पर्यटन बोर्डका उपाध्यक्ष चन्द्रप्रसाद रिजालले पर्यटन क्षेत्रको समग्र विकासका लागि नीतिगत सुधारको आवश्यक रहेको बताए । उनले बोर्ड स्थापनाको २३औँ वर्षसम्म आइपुग्दा थुप्रै उतार चढाव ब्यहोरेको उल्लेख गर्दै विगतका कमीकमजोरीलाई सुधार गर्दै अगाडि बढ्नुको विकल्प नरहेको बताए ।  
बोर्डका निमित्त कार्यकारी प्रमुख नन्दिने लाहे थापाले कोभिड सङक्रमणबीचमा पनि बोर्डले आफ्नो कामलाई निरन्तरता दिएकै कारण बोर्डले बेलायतामा अर्वाड प्राप्त गरेको जानकारी दिए । बोर्डका वरिष्ठ निर्देशक हिक्मत सिंह ऐरले कोभिडले अन्तरराष्ट्रिय पर्यटन आगमन घटेको सन्र्दभमा बोर्डले आन्तरिक पर्यटन प्रवद्र्धनका लागि विभिन्न कार्यक्रम अगाडि सारेको जानकारी दिए । बोर्ड कर्मचारी युनियनका अध्यक्ष गोपाल भण्डारीले हरेक कठिन परिस्थितिमा बोर्डका कर्मचारीले काम गरिरहेको उल्लेख गर्दै कर्मचारीको वृत्ति विकासमा ध्यान दिन मन्त्रालय र बोर्डलाई आग्रह गरे । 
यस्तै बोर्डको जर्मनीका लागि पूर्व मानार्थ जनसम्पर्क प्रतिनिधि दिलबहादुर गुरुङलाई उहाँले विदेशमा रहेर नेपालको पर्यटन प्रवद्र्धनमा गरेको योगदानको सम्मान गर्दै मन्त्री आलेले सम्मान गरेका थिए । यस्तै कार्यक्रममा पर्यटन मन्त्री प्रेमबहादुर आले र सचिव न्यौपानेले बोर्डले प्रकाशन गरेको इन्फोकस २०२१ को विमोचन गरेका थिए । बोर्डको वार्षिकोत्सवको अवसरमा आयोजित विभिन्न खेलका विजेताहरुलाई पुरस्कार वितरण गरे । कार्यक्रममा कोभिडको कारण ज्यान गुमाएका बोर्डका सवारी चालक हिराबहादुर ढकालकी धर्मपत्नीलाई नगद सहयोगसहित प्रमाणपत्र प्रदान गरिएको थियो ।

प्रकाशित मिति: शुक्रबार, पुस १६, २०७८  २१:५५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार