सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौँ, १५ पुस । हाल देशमा पश्चिमी न्यूनचापीय प्रणाली र भारतको विहार आसपासमा रहेको न्यूनचापीय क्षेत्रको प्रभाव रहेको छ । उक्त प्रणालीका कारण अहिले देशभर सामान्यदेखि पूर्ण बदली रही थोरै स्थानमा हल्का वर्षा र उच्च हिमाली तथा पहाडी भेगमा हल्का हिमपात भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले आगामी २४ घण्टाका लागि चेतावती तथा परामर्श जारी गर्दै देशभर आंशिकदेखि सामान्य बदली रही पहाडी भूभागको थोरै स्थानमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भेगमा हलदेखि मध्यम हिमपातको सम्भावना रहेका कारण चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ । दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही पहाडी भूभागका थोरै स्थानमा हल्का वर्षा र उच्च हिमाली तथा पहाडी भूभागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ । आजदेखि मौसम क्रमिकरुपमा सुधार हुँदै जाने महाशाखाका मौसमविद् मञ्जु बासीले बताइन् । तत्कालै नयाँ मौसमी प्रणालीको विकास हुने सम्भावना नरहेकाले पनि आगामी दिनमा मौसम सुधार हुने उनको भनाइ छ । महाशाखाको पछिल्लो विवरणमा काठमाडौँको तापक्रम न्यूनतम ६ र अधिकतम तापक्रम ८ डिग्री सेल्सियस छ । वितेको २४ घण्टामा काठमाडौँमा ३५ मिलिमिटर वर्षा भएको छ । भैरहवामा ४१, पोखरामा ३१ र घोराहीमा ३१ मिलिमिटर वर्षा रेकर्ड भएको छ ।
चिसोबाट जोगाउन प्रदेश नं २ सरकारले थाल्यो तयारी
अत्यधिक चिसो बढ्ेसँगै प्रदेशवासीलाई जाडोबाट जोगाउन प्रदेश नं २ सरकारले आवश्यक तयारी थालेको छ । वर्षासँगै चिसो बढेपछि प्रदेश नं २ सरकारले आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयमार्फत जाडो प्रभावितका लागि योजना बनाउन तयारी थालेको हो । आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरत साहले भने, ‘‘चिसोबाट प्रभावितलाई न्यानो लुगा र कम्बल वितरणको तयारी सुरु गरेका छौं, केही दिनभित्रै वितरण गर्नेछौं ।” यसवर्ष चिसोका कारण कुनै किसिमको मानवीय क्षति हुन नदिन न्यानो लुगासँगै काठ दाउरा वितरणसँगै अन्य अति आवश्यक कुरा मिलाइरहेको मन्त्री साहको भनाइ छ । ‘‘शीतलहरबाट जोगिन पूर्वतयारीबारे प्रदेशका आठ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायका प्रमुखसँग प्रत्यक्ष सम्पर्कमा छौं”, उनले भने, ‘‘चिसोबाट जोगिन आवश्यकपर्ने न्यानो लुगा र दाउरालगायतको बन्दोबस्तीमा प्रदेश सरकारले समन्वय गरिरहेको छ ।” शीतलहरबाट सबैभन्दा बढी जोखिममा विपन्न गरिब परिवार मारमा पर्ने भएकाले त्यसलाई लक्षित गरी पूर्वतयारीमा जोड दिएको उनले बताए । विगतमा जाडो बढेपछि चोक–चोकमा आगो बाल्न दाउराको व्यवस्था हुँदै आएको छ र यस पटक पनि स्थानीय प्रशासनसँग छलफल गरेर तयारी गरिरहेको मन्त्री साहको भनाइ छ । वर्षेनी चिसोबाट प्रदेश नं २ मा करिब १५ प्रतिशत नागरिक प्रभाबित हुने गरेको प्रदेश नीति तथा योजना आयोगले जनाएको छ । ‘‘प्रदेशको कूल जनसङ्ख्यामध्ये करिब १५ प्रतिशत जनसङ्ख्या दलित, विपन्न छन्, ती सबै चिसोबाट प्रभाबित हुने गरेका छन्”, प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष भोगेन्द्र झाले भने, ‘‘अधिकांशसँग चिसोबाट जोगिन ओढ्ने, ओछ्याउने न्यानो लुगा हुँदैन्, त्यसैले चिसोबाट कतिपयले ज्यान समेत गुमाउने गर्छन् ।” हरेक वर्ष हुने शीतलहर र चिसोका कारण अनाहकमा सर्वसाधारणहरु ज्यान गुमाउने गरेका छन् । पछिल्ला चार वर्षमा चिसोका कारण प्रदेश नं २ मा ७४ जनाको मृत्यु भइसकेको छ । गत वर्ष मात्रै चिसोका कारण प्रदेश नं २ मा १० जनाको मृत्यु भएको प्रदेश नं २ प्रहरी कार्यालय जनकपुरधामले जनाएको छ । आर्थिक वर्ष २०७४÷७५ देखि २०७७÷७८ सम्म रौतहटमा सबैभन्दा बढी ३२ जनाको मृत्यु भएको छ भने सप्तरीमा १८, सिरहामा सात, पर्सामा ६, धनुषामा चार, महोत्तरी र सर्लाहीमा तीन–तीन तथा बारामा एकजनाको मृत्यु भएको प्रदेश प्रहरी कार्यालयको तथ्याङ्क छ ।–रासस