सोसल मिडिया
Contact Us
युनिकोड
तनहुँ, १५ पुस । दमौली कारागारमा स्वास्थ्यकर्मी नहुँदा कैदीबन्दीले समस्या भोगिरहेका छन् । यहाँका हेल्थ असिस्टेन्ट सक्षम घिमिरे विसं २०७६ असोज २३ गते सरुवा भएर गएदेखि अर्को स्वास्थ्यकर्मीको पदपूर्ति हुन सकेको छैन् । स्वास्थ्यकर्मी नहुँदा कैदीबन्दीलाई उपचारमा समस्या हुने गरेका छन् । कर्मचारी समायोजन पश्चात् घिमिरे जिल्लाको म्याग्दे गाउँपालिकामा सरुवा भएर गएपछि कारागार स्वास्थ्यकर्मीविहीन बन्न पुगेको कारागारका सूचना अधिकारी नारायणप्रसाद अधिकारीले बताए । सामान्य रोगको उपचारका लागि पनि बाह्य अस्पतालमा लैजानुपर्ने बाध्यता रहेको उनको भनाइ छ । उनले कैदीबन्दी अस्वथ्य हुँदा बाहिर गएर स्वास्थ्य परीक्षण गराउन गाह्रो मान्ने गरेको बताए । कैदीबन्दीको स्वास्थ्यपरीक्षण गराउन लैजाँदा हत्कडी लगाएर हिँडाएर लैजानुपर्ने अवस्था रहेकाले चिनेजानेका, आफन्तजन, साथीभाइ भेट हुने हुँदा अप्ठ्यारो मान्ने गरेको उनले जानकारी दिए । “गाडीमा लैजाउ भने सुविधा छैन्, हिँडाएरै लैजानुपर्छ”, उनले भने, “कारागारमै स्वास्थ्यकर्मी हुँदा कैदीबन्दीलाई पनि सहज र कारागार व्यवस्थापनलाई पनि सहज हुन्थ्यो ।” जटिल प्रकृतिका बाहेक अन्य बिरामीको स्वास्थ्यकर्मीले कारागारमा स्वास्थ्यपरीक्षण गरी औषधि दिने व्यवस्था रहेपनि अहिले स–साना रोगका लागि पनि बाहिर लैजानुपर्ने अवस्था रहेको उहाँको भनाइ छ । सो कारागारमा हाल १८ सुरक्षाकर्मी राखिएको बताइएको छ । दमौली कारागारमा हाल कैदी १४४ र थुनुवा ११४ गरी २५८ जना रहेको कारागार प्रशासनले जनाएको छ ।
चिकित्सक अभाव भएपछि सेवा प्रभावित दार्चुला जिल्ला अस्पतालमा चिकित्सक अभाव भएपछि सेवा प्रभावित भएको छ । अस्पतालमा दरबन्दीअनुसार चिकित्सक नहुँदा समस्या भएको हो ।
जिल्ला अस्पताल र गोकुलेश्वर अस्पतालमा मेडिकल सुपरिटेन्डेण्टको दरबन्दी रिक्त छ । जिल्ला अस्पतालमा दुई दरबन्दी भए पनि अहिले रिक्त छ । दरबन्दीमा रहेका चिकित्सक छात्रवृत्ति अध्ययनअन्तर्गत बिदामा बसेपछि रिक्त रहेको हो । प्रदेश लोकसेवा आयोगले विज्ञापन नखोल्दा स्वास्थ्यकर्मी अभाव भएको जिल्ला अस्पतालका प्रशासन शाखा प्रमुख आनसिंह डाँगाले बताए। रिक्त दरबन्दी विवरण प्रदेश लोकसेवा आयोगलाई पठाएको उनले बताए । अस्पतालमा तीन स्टाफ नर्सको दरबन्दी रहेकामा तीनै जना कार्यरत छन् । अस्पतालमा हेल्थ असिस्टेन्ट एक, अहेब दुई, अनमी दुई तथा ल्याब असिस्टेन्ट एक जना कार्यरत छन् । जिल्लामा हाल ४० स्वास्थ्य चौकी, पाँच निर्माणाधीन आधारभूत अस्पताल, ३३ सामुदायिक स्वास्थ्य इकाई, चार नगर स्वास्थ्य केन्द्र, १४४ गाउँघर क्लिनिक, १४२ खोप केन्द्र, आठ माइक्रोस्कोपिक सेन्टर, दुई डट्स सेन्टर तथा तीन सब कोल्ड चेन सेन्टर छन् । जिल्लाभरी १४ मेडिकल अधिकृत, एक जनस्वास्थ्य अधिकृत, ४३ हेल्थ असिस्टेन्ट, २१ स्टाफ नर्स, ११७ सिनियर अहेब, १७४ सिनियर अनमी तथा ३० ल्याब टेक्निसियन कार्यरत छन् । जिल्लामा एक वर्षको अवधिमा एक हजार १८२ जनाले स्वास्थ्य बीमा गराएका छन् । कोरोनाविरुद्वको पूर्ण खोप लगाउनेको सङ्ख्या ६४ हजार ३७० जना पुगेको छ । व्यास गाउँपालिकामा चार हजार २२३, दुहुँमा पाँच हजार ११२, महाकाली नगरपालिकामा ११ हजार ९४०, नौगाड गाउँपालिकामा सात हजार ६८१, अपिहिमाल गाउँपालिकामा तीन हजार ३९०, मार्मा गाउँपालिकामा ६ हजार ५१०, शैल्यशिखर नगरपालिकामा ११ हजार ८५६, मालिकार्जुन गाउँपालिकामा आठ हजार ६३५ तथा लेकम गाउँपालिकामा पाँच हजार १२३ जनाले खोपको पूर्ण मात्रा लगाएका छन् । जिल्लाभरी खोपको पहिलो मात्रा लगाउनेको सङ्ख्या ८५ हजार ३९३ रहेको स्वास्थ्य कार्यालयका सूचना अधिकारी खगेन्द्र कार्कीले जानकारी दिए।