यस पटकको भूकम्प सुरक्षा दिवसको मुख्य कार्यक्रम पाटन दरबार स्क्वायरमा हुने

बुधबार, पुस १४, २०७८

काठमाडौँ, १४ पुुस । नेपाल सरकारले २४ औँ भूकम्प सुरक्षा दिवस मूल समारोहको मुख्य कार्यक्रम ललितपुर महानगरपालिकाको पाटन दरबार स्क्वायरमा गर्नेे भएको छ । गृहमन्त्री बालकृष्ण खाँणको अध्यक्षतामा गृहमन्त्रालमा आज भएको भूकम्प सुरक्षा दिवस, २०७८ मूल समारोह समितिको बैठकले भूकम्प सुरक्षा दिवसको मूल कार्यक्रम पाटनमा गर्ने निर्णय गरेको हो । प्रधानमन्त्री शेरबहादुर देउवा सो समारोहमा प्रमुख अतिथि रहने छन् ।
विसं १९९० माघ २ गते महाभूकम्पबाट भएको क्षति र सम्झनास्वरुप विसं २०५५ देखि हरेक वर्ष सोही दिन भूकम्प सुरक्षा दिवस मनाइँदै आएको छ । भूकम्पबाट कसरी सुरक्षित हुने भन्ने सन्दर्भमा जनचेतना दिलाउन स्वास्थ्य मापदण्डको पालना गर्दै मुलुकभर यही पुस २६ देखि आगामी माघ १६ गतेसम्म विभिन्न कार्यक्रम गरी भूकम्प दिवस भव्यताका साथ मनाउन लागिएको हो ।
ललितपुर महानगरपालिकाका नगर प्रमुखको संयोजकत्वमा व्यवस्थापन उपसमिति र सहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशकको संयोजकत्वमा प्रचारप्रसार उपसमिति गठन गरिएको छ । भूकम्प सुरक्षा दिवसको नारासहितका पोष्टर मुलुकभरका निजी, सामुदायिक तथा सरकारी विद्यालयमा पठाई विभिन्न शैक्षिक एवं चेतनामूलक कार्यक्रम गरिने भएको छ । 
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र स्थानीय पालिकालाई सङ्घीय मामिला तथा समान्य प्रशासन मन्त्रालयमार्फत प्रदेशस्तर र पालिकास्तरमा विभिन्न कार्यक्रमसहित दिवस मनाउन सबै प्रदेश सरकारलाई पत्राचार गर्न अनुरोध गर्ने निर्णय गरिएको छ ।
बैठकले जिल्ला प्रशासन कार्यालयलाई भूकम्प सुरक्षा दिवस, विभिन्न कार्यक्रम आयोजना राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट परिपत्र गर्ने निर्णय गरेको छ । यस वर्ष भूकम्प दिवसको नारा ‘बहुप्रकोपीय विपद्मा भूकम्प सुरक्षा, साझा सहकार्यमा जनधनको रक्षा’ भन्ने रहेको छ ।

नागरिकलाई भूकम्पबाट जोगिन सिकाउने सन्देश प्रवाह गरौँ  : गृहमन्त्री खाँण

गृहमन्त्री बालकृष्ण खाँणले भूकम्पलगायत प्राकृतिक प्रकोपबाट नागरिकको जीउधनको सुरक्षा गर्नु सबैको दायित्व भएको बताएका छन् । गृहमन्त्रालयमा आज भएको २४ औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस मूल समारोह समिति बैठकमा उहाँले सबै नागरिकमा एक दिनमात्र होइन, हरेक दिन भूकम्पसम्बन्धी सजगता दिलाउन आवश्यक रहेको धारणा व्यक्त गरे । 
गृहमन्त्री खाँणले भने, “भूकम्पीय जोखिमका हिसाबले नेपाल ११ औँ स्थानमा पर्छ, पछिल्लो भूकम्पले सबैलाई सजग तुल्याएको छ, ठूलो जनधनको क्षति भयो । भूकम्पपछिको पुनःनिर्माणका काम अझै भइरहेका छन् ।”
सरकारले २४ औँ भूकम्प सुरक्षा दिवस मूल समारोह माघ २ गते ललितपुर महानगरपालिकाको पाटन दरबार स्क्वायरमा गर्नेे भएको छ । भूकम्पबाट जनधनको क्षति कम गर्न जारी भएको पूर्वाधार निर्माणमा आचारसंहिताको पूर्णपालना गरिनुपर्नेमा जोड दिँदै उहाँले दिवसलाई औपचारिकतामा सीमित नतुल्याई नागरिकलाई भूकम्पबाट जोगिन सिकाउने सन्देश प्रवाह गर्न सक्नुपर्छ भने ।
विसं १९९० माघ २ गते महाभूकम्पबाट भएको क्षति र सम्झनास्वरुप विसं २०५५ देखि हरेक वर्ष सोही दिन राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइँदै आएको छ । बैठकले २४ औँ भूकम्प सुरक्षा दिवस भव्यताका साथ मनाउन नागरिक समाज, संयुक्त राष्ट्रसङ्घीय निकाय, अन्तर्राष्ट्रिय गैरसरकारी संस्था र समुदायलाई आह्वान गरेको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिरणका कार्यकारी निर्देशक अनिल पोखरेलले २४ औँ भूकम्प दिवसका लागि प्रस्तावित र तय गरिएका समग्र कार्यक्रम र बजेटबारे जानकारी दिनुभयो । भूकम्प दिवसलाई सफल तुल्याउन राष्ट्रिय सञ्चारमाध्यममा भूकम्पीय जोखिम न्यूनीकरण, पूर्वतयारी तथा प्रतिकार्यसम्बन्धी लेख रचना, सार्वजनिक सन्देश प्रकाशन र प्रसारण गर्ने कार्यक्रम तय भएको छ ।
भूकम्पपछिको पुनःनिर्माणसम्बन्धी डिजिटल प्रचारप्रसार सामग्री वितरण, रेडियो र टेलिभिजनमा भूकम्पीय जोखिम न्यूनीकरण परिसंवाद र अन्तक्र्रिया, काठमाडौँ उपत्यका, प्रदेश, जिल्ला र स्थानीय तहमा भूकम्प स्मृतिसभा गर्ने कार्यक्रम बनाइएको छ ।
दिवसका अवसरमा विपद्पुस्तिका लोकार्पण, भूकम्प सुरक्षा डिजिटल प्रदर्शनी, सडक नाटक प्रदर्शनी र भूकम्पीय सुरक्षासम्बन्धी राष्ट्रिय गोष्ठीका अरिक्ति ¥याली एवं झाँकीसमेत प्रदर्शन हुनेछ । सहरी विकास तथा भवन निर्माण विभाग, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल रेडक्रस, प्रदेश, स्थानीय, जिल्ला प्रशासनको समन्वय र सहभागितामा मुलुकभर भूकम्प सुरक्षा दिवससम्बन्धी विभिन्न कार्यक्रम हुनेछ ।
काठमाडौँ महानगरपालिकाले माघ २ गते भूगोलपार्कमा भूकम्प स्मृतिसभा गर्नेछ । यस वर्ष भूकम्प दिवसको नारा ‘बहुप्रकोपीय विपद्मा भूकम्प सुरक्षा, साझा सहकार्यमा जन धनको रक्षा’ भन्ने छ ।–रासस
 

प्रकाशित मिति: बुधबार, पुस १४, २०७८  २०:३९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार