सोसल मिडिया
Contact Us
युनिकोड
डोटी, १२ पुस । बजेट अभावमा स्तरोन्नति हुन नसकेका सुदूरपश्चिमका नौवटै जिल्लाका विमानस्थलका लागि अर्बौं बजेट विनियोजन गरिएको छ । सुदूरपश्चिमका कैलालीको गेटा, कञ्चनपुरको मझगाउँ, बैतडीको पाटन, दार्चुलाको गोकुलेश्वर, अछामको साँफेबगर र कमलबजार, बझाङ, बाजुरा, डडेल्धुरा तथा डोटीको दिपायल विमानस्थलका लागि बजेट विनियोजन गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको निर्देशनमा गेटा विमानस्थलका लागि रु एक अर्ब, अछामको साँफेबगर र कमलबजार विमानस्थलका लागि रु छ करोड, कञ्चनपुरको मझगाउँ विमानस्थलका लागि रु दुइ करोड ५१ लाख ३२ हजार ७४३.३६, बैतडीको पाटन विमानस्थलका लागि रु एक करोड ५० लाख ४४ हजार २४७.७८, दार्चुलाको गोकुलेश्वर विमानस्थलका लागि रु दुइ करोड ६५ लाख ४८ हजार ६७२.५६, बझाङ विमानस्थलका लागि रु १२ लाख ९९ हजार २००, बाजुरा विमानस्थलका लागि रु १८ लाख ७६ हजार ३००, डडेल्धुरा विमानस्थल सम्भाव्यता अध्यनका लागि रु ५० लाख तथा डोटी विमानस्थलको २५० मिटर धावनमार्ग थप गर्न, टर्मिनल टावर निर्माण र जग्गा अधिग्रहणका लागि रु १८ करोड ६१ लाख ४७ हजार १०० विनियोजन गरिएको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले जनाएको छ । सुदूरपश्चिमका साना विमानस्थलको स्तरोन्नतिदेखि कैलालीको गेटामा रहेको विमानस्थललाई क्षेत्रीयस्तरको बनाउन २५० बिघा जमिन अधिग्रहण तथा दुई हजार ५०० मिटर धावनमार्गका लागि बजेट विनियोजन गरिएपछि यहाँका नागरिकमा खुशियाली छाएको दिपायल सिलगढी नगरपालिका–२ का वडाध्यक्ष राजेन्द्र खड्काले बताए । नेपाल नागरिक उड्डयन प्राधिकरणले बजेट विनियोजन गरेसँगै अब यहाँका सबै विमानस्थलमा काम सुरु गरिने धनगढी विमानस्थलका प्रमुख रामकृष्ण भट्टले बताए। उनले भने, “बजेट विनियोजन भइसकेको छ, अब छिट्टै काम सुरु हुनेछ ।”
विमानस्थल स्तरोन्नतिका लागि एक करोड ५० लाख बैतडी विमानस्थल स्तरोन्नतिका लागि रु एक करोड ५० लाख ४४ हजार २४७ विनियोजन गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री प्रेमबहादुर आलेको अध्यक्षतामा बसेको नेपाल नागरिक उडड्यन प्राधिकरणको बैठकले बहुवर्षीय आयोजनाअन्तर्गत बैतडीसहित सुदूरपश्चिम प्रदेशका विभिन्न विमानस्थल स्तरोन्नतिका लागि बजेट विनियोजन गरेकाले सो रकम प्राप्त भएको हो । बैठकले धनगढी विमानस्थलका लागि रू एक अर्ब, दार्चुलाको गोकुलेश्वर विमानस्थलका लागि रू दुई करोड ६५ लाख उपलब्ध गराउनका साथै डोटी, साँफेबगर, कमलबजार, महेन्द्रनगर, बाजुरा र डडेल्धुरा विमानस्थलका लागि पनि बजेट विनियोजन गरेको छ । पाटनमा रहेको विमानस्थल २६ वर्षपछि विसं २०७७ असोज अन्तिम सातादेखि पुनः सञ्चालनमा आएको हो । विमानस्थल कालोपत्र गर्न विसं २०७३ मा रु ११ करोड बजेट विनियोजन गरिएकामा सो काम सम्पन्न भइसकेको जनाइएको छ । हाल साताको एक दिन शुक्रबार पाटन–धनगढी नियमित उडान हुने गरेको छ । पाटनमा विसं २०३२ मा विमानस्थल निर्माण थालिएकामा २०३५ सालदेखि हवाई उडान सुरु भएको थियो । पछि २०५२ सालदेखि विमानस्थल बन्द भएको थियो । त्यतिबेला पहाडी जिल्लामा सडक सञ्जाल पुगेको र यात्रु कम भएको भन्दै विमानस्थल बन्द गरिएको थियो ।विसं २०५८ मा तत्कालीन विद्रोही माओवादीले विमानस्थलको टावरमा आगो लगाएर ध्वस्त बनाएको थियो । विमानस्थलको धावनमार्ग निर्माण भए पनि टर्मिनल भवन र कन्ट्रोल टावरको निर्माण भने सुरु नै भएको छैन ।–रासस