सोसल मिडिया
Contact Us
युनिकोड
लमजुङ, ११ पुस । उत्तरी लमजुङको मर्स्याङदी गाउँपालिका-५ घेर्मुमा सात महिनापछि पुनः मोटर पुगेको छ । सवारी साधन पुर्याउन स्थानीयले फेरि पनि अस्थायी मोटरेवल पुल निर्माण गरेसँगै घेर्मुमा मोटर पुगेको हो । स्थानीयले निर्माण गरेको काठको अस्थायी मोटरेवल पुल मर्स्याङदी नदीको बहाव नबढेसम्मका लागि प्रयोग गर्ने गरेका छन् । प्राय: जेठसम्म नदीको बहाव कम हुने भएकोले कम्तिमा पाँच महिनाका लागि उक्त अस्थायी पुल प्रयोग गर्न सकिने स्थानीयको भनाइ छ । नदीमा स्थायीरुपमा पक्की पुल नबनेसम्म स्थानीयले अस्थायी पुल निर्माणलाई निरन्तरता दिने जनाएका छन् । अस्थायी पुल निर्माण भएपछि घेर्मुअन्तर्गत तल्लो चिप्ला, छिचु, निउरी, संजापु खानिगाउका स्थानीयसमेत लाभान्वित हुने गरेका छन् ।
हिउँदमा मात्रै भए पनि स्थानीयलाई यातायात तथा ढुवानीमा सहज हुने गरेको छ । सदरमुकामदेखि अहिलेसम्म सडक सञ्जालले नजोडिएको घेर्मुमा स्थानीय आफैंले काठको अस्थायी मोटरेवल पुल निर्माण गरेका हुन् । अघिल्लो वर्ष निर्माण भएको अस्थायी मोटरेवल बर्षातको समयमा नदीले बगाउने डरले गत जेठको अन्तिम साता झिकिएको थियो । हाल मर्स्याङदी नदीमा पानीको बहाव कम भएसँगै स्थानीयले पुन: अस्थायी मोटेरवल पुल बनाएका हुन् ।
काठको अस्थायी मोटरेवल पुल निर्माणका लागि गत वर्ष स्थानीयले संकलन गरेको रकम केही बाँकी रहेको र पुरानै सामग्री प्रयोग गरी यस वर्ष पनि अस्थायी पुल निर्माण गरेको स्थानीय अभियन्ता एवं कांग्रेस लमजुङका सहसचिव नरबहादुर गुरुङले बताए । अन्नपूर्ण पदमार्गअन्तर्गत पर्ने साविक घेर्मु दशकौँ अघिदेखि बाह्य पर्यटकहरुको आगमन हुने क्षेत्र भए पनि हालसम्म तत्कालीन सिँगो गाविसमा सडक सञ्जाल नजोडिँदा मोटर पुग्न सकेको थिएन ।
स्थानीय व्यवसायीसमेत रहेका गुरुङको नेतृत्वमा घेर्मु–ताघ्रिङका स्थानीयले सहयोग रकम उठाएर मर्स्याङदी नदीमा अस्थायी मोटरेवल पुल निर्माण गरेपछि गत वर्ष पहिलो पटक घेर्मुफाँटमा मोटर पुगेको थियो । मर्स्याङदी गाउँपालिका-४ ताघ्रिङ र ५ घर्मु जोड्ने मर्स्याङदी नदीमा विगतका वर्षहरु देखि नै पक्की पुल बन्ने आश्वासन पाए पनि नदीमा मोटरेवल पुल नहुदाँ सास्ती खेप्दै आएका स्थानीयले अस्थायी मोटर पुलबाटै काम चलाउँदै आएका छन् । स्थानीयले गत वर्ष करिव तीन लाख रुपैया खर्च गरेर पुल निर्माण गरेका थिए ।