सेयर बजार दोहोरो अंकले बढ्यो

बिहीबार, पुस ८, २०७८

काठमाडौं, ८ पुस : साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार दोहोरो अंकले बढेको छ । नेप्से परिसूचक १२ दशमलव ५३ अंकले बढेर दुई हजार ५२० दशमलव २३ बिन्दुमा पुगेर कारोबार बन्द भएको हो । 

बिहीबार चार अर्ब ४९ करोड २ लाख बराबरको कारोबार भएको छ । बुधबार चार अर्ब ५२ करोड ३३ लाख बराबरको कारोबार भएको थियो । बिहीबार सबैभन्दा धेरै कारोबार गर्नेमा हिमालयन डिष्ट्रिलरी रहेको  छ । यस कम्पनीको ३६ करोड २४ लाखभन्दा बढीको कारोबार भएको छ ।  

बिहीबार कारोबारमा आएका सबै समूहको सूचकमध्ये विकास बैंक, हाइड्रोपावर र फाइनान्सबाहेक सबै समूहको सूचक हरियाे देखिएका छन् । नेप्सेकाअनुसार बिहीबार शिखर इन्स्योरेन्सको सेयर मूल्य करिब १० प्रतिशतले बढेर प्रतिकित्ता एक हजार ६८८ रुपैयाँ पुगेको छ ।

त्यस्तै, बरुण हाइड्रोपावरको सेयर मूल्य पनि नौ दशमलव ३१ प्रतिशतले बढेर प्रतिकित्ता ४९३ रुपैयाँ पुगेको  र जीवन विकास लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य नौ दशमलव सात प्रतिशतले बढेर प्रतिकित्ता चार हजार ४९८ रुपैयाँ पुगेको नेप्सेले जनाएको छ । गोर्खाज फाइनान्सको सेयर मूल्यमा सबैभन्दा गिरावट आएको छ । आज यसको सेयर मूल्य छ दशमलव ७४ प्रतिशत भन्दा बढीले घटेको छ ।

मध्य भोटेकोसीको शेयर नेप्सेमा सूचीकृत
मध्य भोटेकोसी जलविद्युत् कम्पनी लिमिटेडको साधारण शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत भएको छ । कम्पनी र नेप्सेबीच आज प्रतिशेयर अङ्कित मूल्य १०० रुपैयाँ रहेको छ करोड कित्ता साधारण शेयर नेप्सेमा सूचीकरण हुने सम्झौता भएको हो ।
कम्पनीले सर्वसाधारणलाई निष्काशन गरेको ९० लाख कित्ता, आयोजना प्रभावित क्षेत्रका स्थानीयवासीलाई निष्काशन गरेको ६० लाख कित्ता, सञ्चय कोषमा रकम जम्मा गर्ने सञ्चयकर्तालाई निष्काशन गरेको एक करोड १७ लाख कित्ता, ऋणदाता संस्थाका कर्मचारीलाई निष्काशन गरेको छ लाख कित्ता, संस्थापक शेयरधनी संस्थामा काम गर्ने कर्मचारीलाई वितरण गरेको २१ लाख कित्ता र कम्पनीको संस्थापकको लगानी रहेको तीन करोड छ लाख कित्ता गरी कूल छ करोड कित्ता शेयर नेप्सेमा सूचीकृत भएको छ ।
मध्य भोटेकोसी जलविद्युत् कम्पनीले धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेडमार्फत सर्वसाधारणसमक्ष साधारण शेयरको बिक्री खुला गरेको थियो । नेप्सेले जारी गरेको सूचनाअनुसार कम्पनीको सङ्केत (एमबिजेसी) रहने र कारोबार सोही सङ्केतका आधारमा हुनेछ ।
 

प्रकाशित मिति: बिहीबार, पुस ८, २०७८  १६:११
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार