विवेकशील साझा पार्टि भन्दा माथि देश (भाग १) - रन्जु दर्शना

बिहीबार, पुस ८, २०७८

विवेकशील साझा पार्टि भन्दा माथि देश (भाग १) - रन्जु दर्शना

       जग त असली, मजबुत नै हालेका थियौं। विस्तारै विस्तारै एक पक्का भुईतल्ला पनि निर्माण भइसकेको थियो। समय बित्दै जाँदा समाज, दबाब, र आफ्नै इच्छा शक्तिले गर्दा तल्ला थप्न उत्साह जाग्यो र तल्ला थपियो पनि । पहिलो पटक थपेको तल्ला भत्कियो र दोस्रो पटक पुनस् सो भत्किएको तल्ला निर्माण गर्ने प्रयास गरियो। तर, जुन असली, मजबूत सामग्रीको आडमा जग र भुईतल्ला बनेको थियो माथिको तल्ला भने कमसल, देख्दा झिलिक्क् तर भित्र खोक्रो हने सामाग्री बाट बनेछ। देख्दा रामै छ, झिलिक्क पनि त छ भनेर केहि समय मैले पनि आफूलाई आश्वासन दिएँ। तर, विस्तारै थपिएको तल्लामा अन्य ठाउँमा बन्द भइसकेको लोडशेडिंग देखिन थाल्यो, वर्खा आउँदा पानी चुहिन थाल्यो। यि सबै समस्याहरूको दिर्घकालिन समाधान सम्भव थियो तर आलटाल समाधान मात्र भयो। खासमा, यस तल्लाको नेतृत्व गर्नेलाई अझै तल्ला थप्ने मोह निकै धेरै छ यसै कारणले वर्तमानमा यहि तल्लामा देखा परेका समस्या, समस्या नै होईन भन्ने भ्रम पालिएको छ। यो तल्ला सानै कम्पन, ऑदि हरि आयो भने पनि गाम् गुल्म ढल्ने खालको बनेको छ। तर, यो तल्लाको नेतृत्व गरिरहेका व्यक्ति भने जसरी पनि यहिं बाट एकदिन देशको सरकार बनाउने सपना देख्दै छन्। अहिले यो तल्ला ढल्यो भने नव निर्मित कमसल फ्लाट मात्र ढल्छ र पाठ सिकियो भने फेरि बलियो शसक्त नयाँ संरचना निर्माण हुन सक्ला तर कुनै दिन यहि कमसल तल्ला मैं राज्यको कुनै निकाय रह्यो भने पुरै राज्य संयन्त्र ढल्न सक्छ। त्यसैले यँहा हुने र यसका नजिक रहनु हुने सबैजनालाई समय छंदै सचेत हुन आग्रह गर्न चाहन्छु ।
माथि भनिएको असलि मजबुत जग २०६७र६८ बाट सुरु भएको विवेकशील नेपाली यात्रा हो जुन २०७१ सालमा आधिकारिक रुपमैं राजनीतिक दलको रुपमा दर्ता भएको थियो । वि।सं। २०७२ को भुईचालो र २०७४ को स्थानीय निर्वाचनमा रन्जु दर्शनाको टिमको दरिलो उपस्थिति पछि विवेकशील नेपाली दल एउटा आसाको किरणको रुपमा स्थापना भएको थियो। संघिय गणतान्त्रिक लोकतन्त्रको स्थापना भइसकेको देशमा भर्खर सुरु भएको राजनीतिक दलले बलियो जग निर्माण गरि विश्वसनिय संगठनको रुपमा परिचित हुँदै जानुमा केहि कारणहरु छन् जस मध्यका केहि तल उल्लेख गरेको छुः


 बन्द हड्ताल, हिंसा रहित आन्दोलनको बिजारोपण गर्नु। 
 राजनीतिलाई पेशा बनाउनु हुँदैन, सबैले आफ्नो इलम, व्यवसाय बाट पालिनु पर्छ भन्ने विचारको
नेपाली राजनीतिमा सशक्त स्थान बनाउनु, मलजल गर्नु। 
 तडक भडक बिनै कम खर्चमा हरेक कार्यक्रम गर्नु। 
 टाउको गन्न कै लागि गाउँ ठाउँ बाट मानिसको हुललाई खर्च दिएर नलेराउनु । 
 निर्वाचनको तैयारी, हरेक राजनीतिक कार्यक्रम सादा हिसाबले गर्न ।
खर्च आमदानीको हिसाब खुलस्त रुपमा सधैं निर्वाचन आयोगलाई बुझाउन, वेवसाईट मै बिना कुनै डर राख्न सक्नु । सुचनाको हकू अधिकारको प्रयोग गरि राज्य प्रणाली, जनप्रतिनिधिलाई जवाफदेहि बनाउने काम गर्नु।
 जवाफदेहि राज्य मात्र होईन राजनीतिक दल पनि हुनुपर्छ भन्ने विश्वासले आन्तरिक लोकतन्त्र
बलियो बनाउन दल भित्रै सुचनाको हकको कार्यान्वयन गर्नु।
 युवाले नेतृत्व गर्ने वातावरण बनाउनु र युवा नेतृत्व स्विकार गर्नु ।
सुचना प्रविधि, सामाजिक सञ्जालको अधिकतम प्रयोगले हरेक नेपालीलाई जोड्न । विदेशमा बस्ने नेपाली नागरिकको मतदान गर्ने अधिकार सुनिश्चित गर्न (नोट चल्ने भोट नचल्ने)
अभियानको सुरुवात र दल भित्रै अभ्यास गर्नु । 
 महाभुकम्पमा आफ्नो चुस्त दुरुस्त व्यवस्थापन शक्ति र युवाको नेतृत्व पुष्टि गर्न सक्नु ।
 नेतृत्व हस्तान्तरणको राजनीतक संस्कार सहज ढङ्गले अभ्यास गर्नु ।
 एक नेताको अनुहार भन्दा माथि दलको प्रणाली हुनु।
  
   
माथि उल्लेखित तत्त्वहरु तल्ला थपिने क्रममा केहि पुर्ण त केहि अधिकतम विलय हुन पुग्यो जसको परिणाम रुपमा झिलिक्क तर सारमा खिसिक्क संरचनाको निर्माण भयो जसले आँखालाई शितलता त प्रदान गर्न सक्यो तर समाजको रुपान्तरणमा होईन बिखण्डनमा आफ्नो भलो देख्यो । जति सक्दो चाँडो जुनसुकै हालतमा निर्वाचन जित्नु पर्छ र एकपटक जितेपछि फेरी अर्को पटकको निर्वाचन जित्न कै लागि कम्मर कस्नुपर्छ भन्ने मोहको जरा मनमष्तिस्कमा स्थापित हुनु हाम्रो देशको सुशासन, राजनीतिक स्थायित्व, लोकतन्त्र सबैका लागि घातक छ।
म राजनीतिमा सके सफा गर्छ नसके फोहोर गर्दिन भनेर प्रवेश गरेकी व्यक्ति हूँ। अहिले म संलग्न पार्टीले संघीय गणतान्त्रिक नेपालमा वैकल्पिक राजनीतिको खोल ओढेर अत्याधिक फोहोर गरिरहेको छ जुन मैले सफा गर्ने कोसिस पनि गरें तर पूर्ण रूपले सफा गर्न असमर्थ रहें तसर्थ म यहि संगठनमा बसेर नेपाली राजनीतिमा थप फोहोर बढाउन सक्दिन।
म आफुले लिएको सम्पूर्ण जिम्मेवारी र हरेक पद बाट साधारण सदस्य समेत नरहने गरी विवेकशील साझा पार्टि सँगको संलग्नता बाट आफुलाई स्वतन्त्र पार्दछु ।
मिति २०७८ पौष ८ गते बाट अन्य कुनै राजनीतिक निर्णय नलिएसम्म एक सचेत स्वतन्त्र नागरिकको भूमिकामा मात्रै राजनीतिक रुपमा सक्रिय रहनेछ।
मनमा शान्ति, मुहारमा कान्ति छाइराखोस्
( रन्जु दर्शना )नेपाली युवा 

 

प्रकाशित मिति: बिहीबार, पुस ८, २०७८  १२:४७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार