कांग्रेस दलित केन्द्रीय सदस्यको मतपरिणाम सार्वजनिक

बिहीबार, पुस ८, २०७८

काठमाडौँ, ८ पुस । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत दलित केन्द्रीय सदस्यको मतपरिणाम सार्वजनिक भएको छ । पार्टीको १४औँ महाधिवेशनअन्तर्गत मङ्सिर २७ गते भएको मतदानको आज सार्वजनिक परिणाममा दलित खुलातर्फ पाँच पदका लागि भएको निर्वाचनमा  मानबहादुर नेपाली, प्रकाश रसाइली ‘स्नेही’, नृपबहादुर वड, हरिशरण नेपाली र मैकुलाल वाल्मिकी निर्वाचित भएका छन् । 
दलित महिलातर्फ लक्ष्मी परियार, सुजाता परियार, शान्ति परियार र रुपा विश्वकर्मा निर्वाचित हुनुभएको कांग्रेस केन्द्रीय निर्वाचन समितिले जनाएको छ । 

प्रदेश नं २ को नयाँ नेतृत्व चयनका लागि मतदान शुरु
नेपाली कांग्रेस प्रदेश नं २ को नयाँ नेतृत्वका लागि आज बिहान १० बजेदेखि मतदान सुरु भएको छ ।  मतदान आज बिहान ८ बजेदेखि सुरु हुने भनिए पनि प्राविधिक तयारीमा ढिलाइ भएकाले बिहान १० बजेदेखि मतदान सुरु भएको निर्वाचन समितिका संयोजक प्रह्लाद गौतमले जानकारी दिए । सभापति पदका उम्मेदवार कृष्णा यादव र रामसरोज यादवले पहिलो आआफ्नो मत खसालेर मतदानको सुरुआत गरे । जनकपुरधामस्थित गोपाल धर्मशालामा जारी मतदान आज दिउँसो ४ बजेसम्म हुने निर्वाचन समितिका संयोजक गौतमले बताए ।  
बुधवार नै मतदान हुने कार्यतालिका रहेपनि मतपत्र छपाइमा ढिलाइ भएको भन्दै निर्वाचन समितिले बुधबार साँझ मतदान प्रक्रिया स्थगित गरी आज बिहान ८ बजेदेखि मतदान गर्न लागेको हो । 
कांग्रेस प्रदेश नं २ को नयाँ नेतृत्वका लागि संस्थापन पक्ष र कोइराला–निधि पक्ष प्यानलसहित चुनावी प्रतिष्पर्धामा उत्रिएका छन् । सहमतिमा नेतृत्व टुङ्गो लगाउने प्रयास असफल भएपछि दुवै समूह छुट्टाछुटै प्यानल बनाएर चुनावी मैदानमा उत्रिएका हुन् । 
संस्थापन पक्षले कांग्रेस रौतहटका सभापति कृष्णा यादवको नेतृत्वमा प्यानलसहित उम्मेदवारी दर्ता गराएको छ भने कोइराला–निधि पक्षले कांग्रेस प्रदेश नं २ संसदीय दलका नेता रामसरोज यादवको नेतृत्वमा प्यानलसहित उम्मेदवारी दर्ता गराएको छ । कूल ७२ पदका लागि १७४ जनाले विभिन्न पदमा उम्मेदवारी दिएका छन् । जसमध्ये पाँच जना सदस्य निर्विरोध निर्वाचित भएको र छ जना उम्मेदवारले उम्मेदवारी फिर्ता लिइसकेका छन् ।  
प्रदेश नं २ का आठ जिल्लाको ६४ वटा प्रदेश निर्वाचन क्षेत्रबाट २५ जना गरी दुई हजार मतदाता रहेको बताइएको छ । 

प्रकाशित मिति: बिहीबार, पुस ८, २०७८  १२:४०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार