जस्तापाताका भरमा जाडो छल्दै मनाङका तालवासी

आइतबार, पुस ४, २०७८

मनाङ, पुस ४ । चिसो बढेसँगै माथिल्लो मनाङका वासिन्दा जिल्ला बाहिर झरिसकेका छन् । मनाङका नार्पाभूमी गाउँपालिका र मनाङ ङिस्याङ गाउँपालिकाका अधिकांश मानिस घर कुरुवा राखेर काठमाडौँ, पोखरालगायत सहरमा पुगिसकेका छन् । बाढीले क्षति पु¥याएका चामे गाउँपालिका र नासो गाउँपालिकाका मानिस भने जाडोयाममा जिल्लामा नै बसोबास गर्ने गर्दछन् । झनै यसपटक बाढीका कारण घरबार विहिन भएका यहाँका मानिस राहतमा आएका जस्तापाता तथा प्रदेश सरकार र गाउँपालिकाले उपलब्ध गराएको राहत रकमले बगर पञ्छाएर बसेका छन् । उनीहरु जस्तापाताको टहरामा दिन काटिरहेका छन् । उनीहरु अहिलेको यो चिसोमा पनि मस्र्याङ्दीको किनारमा बगर पन्ञ्छाउँदै कष्टकार जीवन बिताएका छन् ।  मनाङको तल्लो क्षेत्र नासो गाउँपालिका–१ सिरानतालमा सात घर थियो । गत जेठ ३१ को रातिदेखि परेको अवरिल वर्षाले मस्र्याङ्दीमा बाढी आउँदा सबै बगायो । स्थानीयवासी राजन गुरुङका अनुसार अहिले कुन ठाउँमा कुन घर थियो भनेर अड्कल गर्न पनि सकिँदैन । जसोतसो मान्छे जोगिए पनि घरबारी सबै बगायो । घर भएको ठाउँ पूरै बगर बनेको छ । पहिलेको ठाउँमा अब अर्को घर बनाउन पनि मिल्दैन । भीरपाखाको ओडार र छेलमा बसेर रात कटाएका स्थानीयवासी अहिले कोही तालबजारको छिमेकीकोमा छन् । कोही बेंशीसहर आफन्तकोमा छन् । सिरानतालकै दूधजङ्ग गुरुङको परिवार तालबजारस्थित कविन्द्र गुरुङको घरमा एउटा कोठा भाडामा लिएर बसेको छ । बाढीले डुबाएको कविन्द्रको घरका कोठाबाट बालुवा झिकेर पत्नी र छोरीसहित तीन जनाको परिवार एउटा कोठामा बसेको छ । तालडाडामा पालमुनि बस्दै आएको परिवार चिसोले सताउन थालेपछि तीन साताअघि मात्रै कविन्द्रको घरमा आएका हुन् । “दाताले दिएको पालमुनि बसियो । चिसोले सकिएन । तप्पतप्प चिसो चुहिएपछि डेरा खोजेर बस्यौँ’’, उनले भने।

    उनका अनुसार हिउँद अगाडि जस्ताको अस्थायी टहरा बनाउने योजना छ । यसका लागि गण्डकी प्रदेश सरकारले रु दुई लाख दिएको छ । “हामी घरबार विहीन भएको सात महिना भयो, प्रदेश सरकारले चेक दिएको छ । अब घर टहरा बनाउनुपर्ला’’, उनले भने। “चिसो छल्न आफन्तको घरमा कोठा लियौँ । रु दुई लाखले घर बन्दैन । टिन जस्तापाताले बार्ने र टिनैको छानो हाल्ने हो । टिनले पनि के जाडो छेकिएला र खै र?’’

    तालबजारकै खिमबहादुर गुरुङको घरमा कोठा लिएर बसेका भीमबहादुर गुरुङले पनि रु दुई लाखको चेक लिए । पत्नी, दुई छोरी र एक छोरा अहिले कोठामा बसेका छन् । मस्र्याङ्दीले घर सबै पुरिएपछि उनी तालडाँडामा विस्थापित भएका थिए । “तालडाँडामै टेन्ट लगाएर बसियो । घर र खाद्यान्न सबै बाढीले डुबायो । दाताले दिएको राहत पनि सकियो”, उनले भने, “राहतको पैसाले सानोतिनो टहरा बनाउनुपर्ला । घर बनाउन पछि केन्द्र सरकारले दिने भनेको छ ।” नासों–१ का अध्यक्ष झलकबहादुर गुरुङले पूर्ण क्षतिको सूचीमा परेको तालगाउँका २२ घरधुरीलाई प्रदेश अर्थमन्त्री राम्जी बरालले धारापानीमा आएर रु दुई÷दुई लाखको चेक हस्तान्तरण गरेका थियो । घर बनाउनका लागि पैसापछि आउँछ भन्नुभएको छ । उनले भने, “केन्द्र सरकारले दिने हो कि, प्रदेशले दिने हो, त्यो त उहाँले भन्नुभएन ।” 

    

प्रकाशित मिति: आइतबार, पुस ४, २०७८  १४:५१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार