सोसल मिडिया
Contact Us
युनिकोड
विराटनगर, ४ पुस । दिनप्रति दिन बढ्दै गएको सवारी साधन दुर्घटनाबाट बच्न र बचाउन सवारी नियम पालनाको विकल्प नरहेको बताइएको छ । सडक अनुशासन तथा सवारी साधन दुर्घटना न्यूनीकरणका लागि आजदेखि प्रदेश नं १ को १४ वटै जिल्लामा सुरु भएको ट्राफिक सप्ताह–२०७८ को सन्दर्भमा सो धारणा आएको हो । सो अवसरमा प्रदेश नं १का प्रहरी प्रमुख तथा प्रहरी नायब महानिरीक्षक अरुणकुमार विसीले प्रदेशमा दैनिक सरदर एक दशमलव शून्य चार जनाको मृत्यु भइरहेको जानकारी .दिए। यस प्रदेशमा आव २०७५÷७६ मा ३१३, २०७६÷७७ मा ३३२, २०७७÷७८ मा ४४४ जनाको दुर्घटनाबाट मृत्यु भएको छ भन्दै उनले यो भयावह स्थितिलाई न्यूनीकरण गर्न सबैको दायित्व भएकाले ट्राफिक सप्ताहअन्तर्गत एक सातासम्म विविध कार्यक्रम सञ्चालन गरी सवारी नियम पालना गराउनेतर्फ ट्राफिक प्रहरी सचेत रहेको छ बताए । आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्कीले व्यवस्थित र सुरक्षित जीवनयापन गर्न अनुशासित भई सवारी नियम पालना गर्नुपर्नेमा जोड दिए। उनले दुर्घटनाको जोखिम र मृत्युलाई छल्न नसकिने भएकाले सवारी चालक, बटुवा सबैले ट्राफिक नियम पालना गर्नुपर्ने सुझाव दिए। मन्त्री कार्कीले कोशी ब्यारेजदेखि मेचीसम्म र रानीदेखि धरानसम्म राजमार्गमा सिसी क्यामेरा जडान गर्ने योजना र विराटनगरको ट्राफिक व्यवस्थापनका लागि पुरानो गुद्रीमा स्मार्ट पार्किङ बनाउन केही समयपछि नै विराटनगरमा प्रदेशस्तरीय बसपार्क शिलान्यास गरिने जानकारी दिए। सामाजिक विकास मन्त्री जयराम यादवले मादकपदार्थ सेवनबाटै सबैभन्दा बढी सवारी दुर्घटना भइरहेकाले मानिसले नैतिक आचरण र व्यवहार सुधार गर्नुपर्नेमा जोड दिए । यातायात आन्तरिक मामिला तथा कानून सचिव कालीप्रसाद पराजुली, सहायक प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेल र व्यवसायी महासङ्घ प्रदेश नं १ का अध्यक्ष सरोज श्रेष्ठले पनि सवारी साधनको दुर्घटनाबाट पर्ने असरबारे चर्चा गरे ।