फिलिपिन्समा आएको सुपर टाइफुन ‘राई’बाट बीसभन्दा बढीको मृत्यु  

शनिबार, पुस ३, २०७८

दापा (फिलिपिन्स), ३ पुस । फिलिपिन्समा यस वर्षको सबैभन्दा शक्तिशाली आँधीमा परी कम्तीमा २३ जनाको मृत्यु भएको छ । अधिकारीले शनिबार दिएको जानकारीअनुसार आँधीको चपेटामा परेका टापुमो ‘डर लाग्दो’ विनाश भएको विवरण पनि प्राप्त भएका छन् ।  फिलिपिन्समा भीषणरुपमा आएको बतास र मुसलधारे वर्षाको साथै, सुपर टाइफुन ‘राई’ का कारण बिहीबार हजारौँ मानिस आफ्नो घर र समुद्र तटीय रिसोर्ट छोडेर भागेका थिए ।
अधिकारीले दिएको पछिल्लो विवरणअनुसार अहिलेसम्म तीन लाखभन्दा बढी मानिस आँधीका कारण विस्थापित भएका छन् । शनिबारसम्म साउथ चाइना सागरमाथि उभिएर भियतनामतर्फ लाग्नु अघि राईले भिसायास क्षेत्र, मिन्डानाओ र पलावान टापु पार गरेको थियो । प्रत्येक वर्ष फिलिपिन्समा औसत २० ओटा आँधीबेहरी र टाइफुनबाट प्रभावित पारेको पाइन्छ । यसले सामान्यतया पहिले नै गरिब क्षेत्रमा रहेका पसल, घर र पूर्वाधार नष्ट गर्ने गरेका छन् । दक्षिण फिलिपिन्स हुँदै मडारिएको शक्तिशाली समुद्री आँधीले लोकप्रिय पर्यटकीय क्षेत्र तहसनहस बनाएको अधिकारीले बताएका छन् । 
मानिस बिदा मनाउन पुग्ने सिरगाओ टापुमा १९५ किलोमिटर प्रतिघण्टाको हुरीसहित बिहीवार आएको राई समुद्री आँधीले भारी वर्षा गराएको थियो । तीव्र गतिको आँधीले बाटोमा परेका घर ढलाउँदा करोडौँको क्षति भएको छ । सिरगाओमा रुख जरैसँग उखेलिएका छन् भने बिजुलीका तार र खम्बा ढलेका छन् । संयुक्त राष्ट्रसङ्घले एक करोड ३० लाख मानिस प्रभावित भएका जनाएको छ । जताततै बाढी आएपछि हजारौँ मानिस घर छोडेर सुरक्षितस्थलमा आश्रय लिइरहेको बताइएको छ । अधिकारीले विमानस्थलको प्रमुख टर्मिनलमा क्षति पुगे पनि धावनमार्ग उद्धार उडानका लागि चालु रहेको बताएका छन् ।– रासस/एएफपी
 

प्रकाशित मिति: शनिबार, पुस ३, २०७८  २०:०८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार