आँधीखोलामा माछाका भुरा छाडियो

शुक्रबार, पुस २, २०७८

स्याङ्जा, २ पुस । आँधीखोला गाउँपालिकाले पर्यावरणीय सन्तुलन कायम गर्न आँधीखोलामा एक लाख माछाका भुरा छाडेको छ । गाउँपालिकाले बिहीबार आँधीखोलाको विभिन्न १० ठाउँमा माछाका भुरा छोडेको हो । कालीगण्डकी माछा प्रजनन केन्द्रबाट माछाका भुरा ल्याइएको थियो । माछाको पारिस्थितिकीय प्रणालीमा असर परेको जनाउँदै वातावरणीय प्रभाव सन्तुलनका लागि माछाका भुरा छाडिएको गाउँपालिकाले जनाएको छ । करेन्ट र विषादी प्रयोगले परम्परागत र स्थानीय जातका माछा लोप हुने खतरा बढेपछि स्थानीय जातका माछाका भुरा छाडिएको आँधीखोला गाउँपालिका अध्यक्ष सुधीरकुमार पौडेलले जानकारी दिए। उनले भने, “नदी, ताल र खोलाको जैविक विविधता कायम गर्न, पानी शुद्ध राख्न र पानीमा अक्सिजनको मात्रा बढाउन माछाको भूमिका महत्वपूर्ण हुन्छ, जैविक विविधता नभएको नदी ताल तथा खोलाको कुनै महत्व हुँदैन”, यसको महत्व जोगाइराख्न माछाका भुरा छाडिएको हो ।  गाउँपालिका उपाध्यक्ष शर्मिला देवी पौडेलले स्थानीय जातका माछा संरक्षण गर्दै आँधीखोलाका माछालाई ब्राण्डिङ गर्नुपर्ने बताए । 

प्रकाशित मिति: शुक्रबार, पुस २, २०७८  १५:०६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार