स्थानीय सरकारको पुग्दैन नजर

शुक्रबार, पुस २, २०७८

देश सङ्घीयतामा गएसँगै गाउँगाउँमा सिंहदरबार आए । काठमाडौँको सिंहदरबार गाउँमा आएको नारा लागे तर कटीगाउँबासीका लागि भने यो नाराले सार्थकता पाएको छैन । सिङ्गो गाउँ नै ऋणमा डुबेको छ, स्थानीय सरकारका कुनै कार्यक्रम कटीगाउँवासीका लागि केन्द्रित छैनन् । भेरी नगरपालिकाले कटीगाउँवासीका लागि कुनै कार्यक्रम नल्याएको स्थानीय नरबहादुर विकले गुनासो गरे । उनले भने, “नगरपालिकाले हाम्रो गाउँलक्षित कुनै कार्यक्रम ल्याएको छैन, गाउँका बासिन्दा सबै ऋणमा डुबेको पटक–पटक जानकारी गरायौँ, खासै चासोका रूपमा लिएको देखिँदैन”, “हाम्रो गाउँमा क्षमताअनुसारको रोजगारी व्यवस्था गरेको भए हामीलाई सहज हुने थियो ।” गत आर्थिक वर्ष २०७७/७८ मा नगरपालिकाले कटीगाउँबासीका लागि रु १३ लाख रकम विनियोजन गरी सुधारिएको चुलो वितरण गरेको थियो । कटीगाउँका दुई/चार जना जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था गरिदिएको भए भोलिका पुस्ताले राम्रोसँग जिउन सक्ने थिए स्थानीय रामबहादुर विकले बताए । यता नगरपालिकाले थालेको छुवाछूतमुक्त नगर घोषणा कार्यक्रममा रु ४४ लाख विनियोजन गरेको छ । पुसको तेस्रो सातादेखि उक्त अभियान सञ्चालन गरिने नगरपालिकामा कार्यरत अधिकृत अनिश शाहले बताए । उनले भने, “कटीगाउँजबासीका लागि चुलो वितरण, जातीय छुवाछूत मुक्त नगरपालिका घोषणाका कार्यक्रम गरेको छ ।”

नगरपालिकाका नगरप्रमुख चन्दप्रकाश घर्तीले नगरपालिकाका १३ वटै वडाका दलित समुदायका लागि समग्र सूचकमा आधारित काम गर्ने योजना रहेको बताए । जसमा कटीगाउँ पनि समावेश रही त्यहाँको जीवनस्तर उकास्ने उनको भनाइ छ । जातीय छुवाछूतमुक्त नगर घोषणा कहिलेदेखि सञ्चालन हुने भन्ने विषयमा छलफलसमेत भएको छैन । स्थानीय सरकारले दलित समुदायका लागि प्रभावकारी काम गरेको पाइँदैन । नगरपालिकाको जनसङ्ख्याको आधा हिस्सा ओगटेको दलित समुदायका लागि कुनै कार्यक्रम नहुनुले नगरपालिकाको सेवाप्रवाहमा समेत प्रश्न उठ्ने छ । यहाँ पीडित दलित समुदायका स्थानीयवासीले सबै तहका सरकारलाई ज्ञापनपत्रसमेत बुझाइसकेका छन् तर कुनै सुनुवाइ भएको छैन । 
 

प्रकाशित मिति: शुक्रबार, पुस २, २०७८  १३:५२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार