व्यवस्थित बसपार्क नहुँदा समस्या

शुक्रबार, पुस २, २०७८

डोटी, २ पुस । पुरानो क्षेत्रीय सदरमुकाम दिपायलमा व्यवस्थित बसपार्क नहुँदा समस्या उत्पन्न भइरहेको छ । प्रमुख व्यापारिक केन्द्र पिपल्ला बजार छेउमा निर्माण गरिएको बसपार्क सानो भएकाले अहिले चालकलाई सवारी पार्किङदेखि अन्य काम गर्न समस्या भएको हो । बसपार्क सानो तथा सवारीको चाप बढी भएकाले यात्रुलाई बीच सडकबाटै गाडीमा चढाउने र झार्ने काम हुँदै आएको शैैलेश्वरी यातायात प्रालिका कार्यालय प्रमुख प्रेमबहादुर रावलले बताए ।

उनले भने, “बसपार्क सानो छ, चार÷पाँच गाडी राख्नेबित्तिकै पूरै भरिन्छ, अन्य गाडी सडकमै पार्किङ गर्नुपर्दा समस्या भएको छ ।” अधिकांश सवारी सडकमै राखिँदा यहाँको ट्राफिक व्यवस्थापनमा समस्या हुँदै आएको जिल्ला ट्राफिक कार्यालय दिपायलका केशवबहादुर खड्काले बताए । उनले भने, “ट्राफिक व्यवस्थापनमा पनि चुनौती थपिएको छ ।” दिपायलस्थित पिपल्लाका राजमार्गमा सवारी राखिने गर्नाले यहाँबाट अछाम, बाजुरा तथा डडेल्धुरा जाने सवारीलाई पनि समस्या छ । बसपार्क ठूलो र गतिलो नभएका कारण सवारी मूल सडकबाटै पार्किङ गर्नुपर्ने बाध्यता आएको सवारी चालक बताउँछन् ।

उक्त राजमार्ग भएर साना ठूला गरी दैनिक ५०० भन्दा बढी सवारी आउजाउ गर्ने जिल्ला ट्राफिक प्रहरी कार्यालय दिपायलले जनाएको छ । जिल्लामा पछिल्लो केही वर्षयता यात्रुवाहक सवारीका अलवा ट्रक, टिपर, लहरी, ट्र्याक्टर, टेम्पो र अन्य भारवाहन यातायातका साधनको चाप दिनहँु बढ्दै गएकाले बसपार्कमा ठाउँ अभाव भएको बसपार्क निर्माण गर्ने जिम्मा पाएको दिपायल सिलगढी नगरपालिकाका नगर उपप्रमुख शिवराज खड्काले बताए ।

प्रकाशित मिति: शुक्रबार, पुस २, २०७८  १२:२१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार