सोसल मिडिया
Contact Us
युनिकोड
मनाङ, २ पुस । चिसो बढेसँगै मनाङका भेडापालक जाडो छल्न बेँसी झर्न थालेका छन् । उच्च हिमाली क्षेत्रमा अत्यधिक चिसो बढ्न थालेपछि भेडीगोठ बेँसीतर्फ झार्न थालिएको हो । यहाँका चामे र नासो गाउँपालिका भेडापालक चरनका लागि चिसो बढेसँगै थानचोक ताल हुँदै लमजुङको घनपोखरा र घलेगाउँ पु¥याउने गर्दछन् ।
बर्खायममा चार हजार मिटरभन्दा अग्लो पाटनमा भेडा चराउनु यस क्षेत्रका भेडापालकको दिनचर्या भएको र चिसो बढेकाले मङ्सिरमै बेँसीतिर झर्न थालेका हुन् । नासो गाउँपालिकाका भेडापालक यादव घलेले आफ्ना डेढसय भेडा लिएर जाडो छल्न बेँसी झरेको बताए । भेडा चराउने गरेको हिमाली पाटनमा चिसो बढ्न थालेपछि सँगै गएका अन्य भेडापालक झरेको उनको भनाइ थियो । घलेसँगै भेडापालक किसानलगायतले छ महिना नाम्के, ड्रोना र लमजुङ हिमालको बेसक्याम्पमा बिताएको वीरबहादुर गुरुङले बताए । उनीहरू एक हजार ५०० भन्दा बढी भेडाबाख्रा लिएर जेठको पहिलो साता भेडा चराउन पाटनतिर गएका थिए ।
वर्षौँदेखि पाटनमा भेडा चराउने गर्दै उनीहरूले यस वर्ष चिसो निकै बढेको बताए । चिसो बढेसँगै भेडा मर्न थालेपछि यसपालि छिट्टै भेडालाई बेँसी झारिएको हो । चिसो बढेसँगै भेडाले बेँसीतिर झर्ने सङ्केत गर्ने गरेको अर्का भेडापालक अजय गुरुङले बताए । उनले भने, “गर्मी बढेपछि बेँसीबाट लेकतिर जान खोज्छन् भने लेकमा जाडो बढेपछि बेँसीतर्फ झर्छन् । उच्च हिमाली क्षेत्रमा बस्न रुचाउने भेडाले धेरै चिसो पनि सहँदैनन् र बढी गर्मी पनि मन पराउँदैनन् । सोहीअनुसार हामीले पनि गोठ सार्ने गर्नुपर्छ ।”