सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौँ, १ पुस । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले यहाँस्थित अन्तरराष्ट्रिय आप्रवासन सङ्गठन (आईओएम) का प्रमुख लोरेना ल्याण्डोसँग वैदेशिक रोजगारीमा जाने नेपालीलाई कोभिड–१९ विरुद्धको खोप उपलब्ध गराउन आग्रह गरेका छन् । आईएओएम प्रमुखसँग आज आफ्नै कार्यकक्षमा भएको भेटमा वैदेशिक रोजगारीबाट नेपाल फर्केका नेपालीले सिकेको सीपको सदुपयोग र पुँजी परिचालनका लागि मन्त्रायलले गरेका प्रयासबारे जानकारी दिँदै उनले अन्तर्राष्ट्रिय श्रम बजारमा नेपाली श्रमिकले भोगेका समस्या समाधानका लागि आईओएम नेपालले गरेको योगदानको सराहना गरे । सुरक्षित आप्रवासन, अन्तर्राष्ट्रिय श्रम बजारमा नेपाली श्रमिकले सुरक्षित एवं मर्यादित काम पाउने, शोषणलगायत अवाञ्छित गतिविधि हुन नदिनेलगायत विषयमा रणनीतिक अवधारणा बनाएर मन्त्रालय र आईओएमबीच साझेदारी हुनुपर्नेमा मन्त्री श्रेष्ठले जोड दिएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । मन्त्री श्रेष्ठले नेपालको अर्थतन्त्रको मेरुदण्डको रुपमा रहेको श्रम शक्तिलाई उत्पादनमूलक र प्रतिस्पर्धी बनाउँदै बैदेशिक रोजगारीबाट आर्जित पुँजी, प्रविधि, सीप र अनुभवलाई अधिकतम उपयोग गर्ने सरकारको नीति रहेको बताए । आईओएम प्रमुख ल्याण्डोले पनि विदेशमा रहेका नेपाली श्रमिकका समस्या समाधानमा सहजकर्ताको भूमिका निर्वाह गर्न, नीतिगत एवं प्राविधिक पक्षमा सुझाव दिन सङ्गठन तत्पर रहेको बताएका थिए ।