भूक्षय रोक्न जैविक तटबन्ध प्रभावकारीः स्थानीय तहले बजेट परिचालन गर्दै

बिहीबार, पुस १, २०७८

कञ्चनपुर, १ पुस । भूक्षय रोक्नका लागि थोरै बजेट परिचालन गरी बनाउन सकिने जैविक तटबन्ध प्रभावकारी हुँदै जान थालेपछि स्थानीय तहले बजेट परिचालन गर्न थालेका छन् । लालझाडी गाउँपालिका, शुक्लाफाँट, पुनर्वास र कृष्णपुर नगरपालिकाले नेपाल रेडक्रस सोसाइटी कञ्चनपुरले मर्सिकोरको सहयोगमा सञ्चालन गरेको आर्थिक विकासमार्फत विपद् जोखिम व्यवस्थापन परियोजना (एमरेड) सँग सहकार्य गरी दोदा, स्याली र वनहरा नदीमा जैविक तटबन्ध निर्माण गरेका छन् । दुई वर्षको अवधिमै दोदा, स्याली र वनहरा नदीले भूक्षय गर्दै आएको चार हजार छ मिटर क्षेत्रमा जैविक तटबन्ध निर्माण गरिएको छ । रेडक्रसले सञ्चालन गरेको एमरेड परियोजनाका कार्यक्रम संयोजक महेश घिमिरेका अनुसार आव ०७७/७८ मा लालझाडी गाउँपालिकाको दोदा नदीको कञ्ज, विनावारी, खल्लाजाई, नन्दगाउँमा गरी एक हजार ७०० मिटर जैविक तटबन्ध निर्माण गरिएको छ ।
 
    शुक्लाफाँटा नगरपालिका–३ जोनापुरको स्याली नदीमा ३०० मिटर, कृष्णपुर नगरपालिकाको वनहरा नदीमा ५५० मिटर बेलौरी नगरपालिकाको दोदा नदीमा १५० मिटर जैविक तटबन्ध निर्माण गरिएको छ । तटबन्ध निर्माणका लागि लालझाडी गाउँपालिकाले रु १९ लाख २६ हजार ३६४, कृष्णपुर नगरपालिकाले रु चार लाख ९९ हजार ९५०, शुक्लाफाँटा नगरपालिकाले रु एक लाख ९९ हजार ९२५ र एमरेड परियोजनाको रु १९ लाख ३१ हजार ४२५ रकम लगानी गरेका छन् । तीमध्ये स्थानीय समुदायले रु तीन लाख ४८ हजार १४४ बराबरको श्रमदान गरेका छन् । आव ०७७/७८ मा तीन हजार ८०० मिटर जैविक तटबन्ध निर्माण गर्न कूल रु ४९ लाख पाँच हजार ८०९ रकम खर्च गरिएको छ ।
 
    यसैगरी आव ०७८/७९ मा पुनर्वास नगरपालिका– ९ सीताबस्तीस्थित दोदा नदीमा ४०० मिटर, शुक्लाफाँटा नगरपालिका– ३ स्याली नदीको उल्टापनीमा ३०० मिटर र शुक्लाफाँटा नगरपालिका– १२ वनहरा नदीमा १०० मिटर गरी ८०० मिटर जैविक तटबन्ध निर्माण गरिएको छ । यसका लागि पुनर्वास नगरपालिकाले रु तीन लाख ४४ हजार ९२२, शुक्लाफाँटा नगरपालिकाले रु एक लाख ९९ हजार ९२५, समुदायको श्रमदान रु एक लाख छ हजार ५७० र परियोजनाको रु सात लाख १८ हजार ६१५ गरी कूल रु १३ लाख ७० हजार ३३ रकम खर्च गरिएको छ । “ढुङ्गा र तारजालीसहितको तटबन्ध निर्माण गर्दा निकै बढी खर्च गर्नुपर्ने हुन्थ्यो,” लालझाडी गाउँपालिकाका अध्यक्ष मदनसेन वडायकले भने, “स्थानीय साधनस्रोतको परिचालन गरी रेडक्रससँगको सहकार्यमा थोरै रकम खर्च गरी जैविक तटबन्ध निर्माण गरी स्थानीय बासिन्दाको भूक्षय भइरहेको जग्गा जोगाएका छौँ ।”
 
    

प्रकाशित मिति: बिहीबार, पुस १, २०७८  १४:५९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार