सोसल मिडिया
Contact Us
युनिकोड
कञ्चनपुर, १ पुस । नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय महेन्द्रनगरले टोकन प्रणालीमार्फत किसानबाट धान खरिद गर्न थालेको छ । अधिकांश किसानले व्यापारीलाई धान बेचेपछि कम्पनीले बल्ल खरिद गर्न सुरु गरेको हो । कार्यालयले किसानबाट मोटो धान प्रतिक्विन्टल रु दुई हजार ७५२ का दरले खरिद गर्न सुरु गरेको छ । गत भदौ महिनामा बसेको मन्त्रिपरिषद्को बैठकले मोटा धानको समर्थन मूल्य प्रतिक्विन्टल रु दुई हजार ७५२, मध्यम धानको रु दुई हजार ९०२ निर्धारण गरेको थियो । अन्य धानको हकमा खरिद कमिटीले मूल्य तय गर्ने बताइएको छ । सरकारले निर्धारण गरिएको मूल्यअनुसार कम्पनीको कार्यालयले मोटो धान मात्रै खरिद गर्न थालेको हो । कार्यालयका निमित्त शाखा प्रमुख तपेन्द्र उपाध्यायका अनुसार प्रत्येक हप्ता को शुक्रबार कार्यालयबाट किसानलाई टोकन वितरणको व्यवस्था गरिएको छ । हप्ताका बाँकी पाँच दिन आइतबारदेखि बिहीबारसम्म धान खरिदको कार्य हुने गरेको छ । “धान खरिदका लागि गत शुक्रबारदेखि टोकन वितरणको कार्य गरेका हौँ”, निमित्त शाखा प्रमुख उपाध्यायले बताए, “४८ वटा टोकन वितरण गरिएका छन् । डेढ सय क्विन्टल को हाराहारीमा फ्रेस (गुणस्तरयुक्त) धान खरिद गरिएको छ ।” केन्द्रीय कार्यालयबाट मोटो धान खरिदका लागि स्वीकृति पाएअनुसार किसानबाट सो धान मात्रै खरिद भइरहेको उनले बताए ।