Dashain Banner
Dashain Banner

सुन्तलाको मूल्य बढ्ने आशमा किसान

बुधबार, मंसिर २९, २०७८

बलेवा, २९ मङ्सिर । उमेरले ६० कट्नुका खगेश्वर सुवेदी दम्पत्तिलाई बारीभरि लटरम्म फलेको सुन्तला स्याहार्न भ्याइनभ्याइ छ । बिक्रीका लागि तयार भएको सुन्तलामा औसा किरा लाग्ने त्रासले सुवेदी दम्पत्ति बगानमा हुन्छन् । जैमिनी नगरपालिका–५ सर्कुवामा रहेको सुन्तला बगान सुवेदी परिवारको मुख्य आयस्रोत हो । झरेको सुन्तला गाड्ने, ओइलिएको पात झार्ने र बिरुवामा रोग लागे नलागेको हेर्ने उनीहरुको दैनिकी हो । गतवर्ष रु चार लाखमा बिक्री भएको उनको बगानका लागि यसवर्ष पनि पोखराका व्यापारीले बैना लगाएका छन् । 

    बागलुङ नगरपालिका–८ सिगानाका किसानलाई यतिबेला सुन्तला खरिदका लागि आएका व्यापारीसँग मोलमोलाई गर्न भ्याइनभ्याइ छ । सुन्तला बिक्री गर्न किसान हतारमा छन् । समयमै सुन्तला नटिपे नयाँ फूल नलाग्ने र अर्को वर्ष उत्पादनमा कमी आउने किसानलाई चिन्ता छ । सिगानाको सुन्तला खरिद गर्न व्यापारीलाई पनि उत्तिकै हतार छ । 

    व्यापारी बगानमै पुगेर मोलमोलाइ गर्न थालेका छन् । पोखरा, चितवनदेखि बागलुङ र म्याग्दीसम्मका व्यापारी सुन्तला खरिद गर्न आउन थालेको सिगानाका किसान अनन्त खड्का भन्छन्र, “व्यापारी आएका छन्, तर बिक्री सुरु गरेका छैनौँ, पुसको पहिलो साताबाट बिक्री गर्नुपर्ला” गत वर्षभन्दा यसवर्ष सुन्तलाको मूल्य बढ्ने आशामा किसान छन् । जैमिनीका खगेश्वर र सिगानाका अनन्त दुवैले गत वर्षभन्दा यसवर्ष बगान नै खरिद गर्ने व्यापारीलाई रु एक लाख मूल्य बढाएर दिने सोँच बनाएका छन् । सर्कुवामा सुवेदी परिवारको मात्रै ठूलो बगान छ । अरु आसपासका किसानले फुटकर बिक्री गर्छन् भने सिगानामा साना–ठूला गरी ७० बगान छन् । बजारसम्म पु¥याउँदा दोब्बर फाइदा लिन सकिने भएकाले व्यापारी यहाँको सुन्तलाप्रति आकर्षित हुने सुवेदी बताउछन् । गतवर्ष बगानमै ठेक्का लिँदा प्रतिकिलो रु ४० देखि ५० सम्ममा सुन्तला बिक्री भएको थियो । यस वर्ष मूल्य बढेर रु ६० देखि ७० पुग्ने आशा किसानमा छ ।   “एक हजार मिटर तल लगाइएको सुन्तलामा रोग लागेको खबर पाएका छौँ, उत्पादन कम हुने भएकाले देशभरिको बजारमा हाम्रो सुन्तलाको मूल्य स्वभाविक बढ्छ”, खड्का भन्छन् “गतवर्ष अन्तिम समयमा हामीले रु १००मा एक किलो बिक्री गरेका थियौँ, यसवर्ष सुन्तला राम्रो फले पनि अधिक वर्षाले किरापर्ने र झर्ने समस्या झेल्नुप¥यो ।” डोके व्यापारीले बगानबाट प्रतिकिलो रु ५० मा उठाएको सुन्तला बजारमा रु १०० का दरले बिक्री गर्दै आएका छन् । सुन्तला बिक्रीबाट गतवर्ष झण्डै रु एक करोड सिगानामा भित्रिएको थियो । 

“बगानबाटै व्यवसायीले सुन्तला उठाउँदा टिप्ने, स्तरीकरण गर्ने र बिक्रीका लागि ढुवानी गर्ने झण्झट कम हुन्छ”, खड्काले भने । रोग किराको प्रकोप जिल्लाभर नै रहेको कृषि ज्ञान केन्द्रले जनाएको छ । सुन्तला र कागती जातका फलफूलमा देखिएको रोग नियन्त्रणका लागि शिविर नै सञ्चालन गरेर सुविधा दिइएको ज्ञान केन्द्रका प्रमुख भानुभक्त भट्टराईले बताए । उत्पादन लिने बेलामा देखिने समस्या तत्काल समाधान गर्दा किसानले ठूलो क्षति व्यहोर्नुनपर्ने उनको भनाइ छ ।
 

प्रकाशित मिति: बुधबार, मंसिर २९, २०७८  १६:४९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार