मोटरसाइकल दुर्घटना: एक जनाको मृत्यु, एक घाइते

बुधबार, मंसिर २९, २०७८

वाग्मती, २९ मङ्सिर । मोटरसाइकल दुर्घटनामा परी हेटौँडामा एक जनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् । आज बिहान हेटौँडा उपमहानगरपालिका–१९ दारिमटारमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक चितवन रत्ननगरका अन्दाजी ४० वर्षीय युवराज आचार्यको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा मोटरसाइकलमा सवार बागलुङका ३३ वर्षीय नुरबहादुर थापा घाइते भएको र उनको चुरेहिल अस्पताल हेटौँडामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका निमित्त प्रवक्ता एवम् प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिए ।  उनका अनुसार बुधबार बिहान इँटा बोकेर हेटौँडाबाट मनहरितर्फ जाँदै गरेको  प्रदेश ३ ००१ ख १८४९ नं को टिपर र हेटौँडातर्फ आउँदै गरेको ना४९प ८२५२ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाएर दुर्घटना भएको थियो । यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

प्रकाशित मिति: बुधबार, मंसिर २९, २०७८  १४:४०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार