घडेरी सम्याउनमै सीमित भए स्वास्थ्यचौकीका भवन

शुक्रबार, मंसिर १७, २०७८

 रोल्पा, १७ मङ्सिर । जिल्लाका चार स्थानीय तहमा आधारभूत स्वास्थ्यचौकी भवन शिलान्यास भएको एक वर्ष पूरा हुँदासमेत निर्माण अगाडि बढ्न सकेको छैन । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गत वर्षको मङ्सिर १५ गते देशभरका ३९६ स्थानीय तहको स्वास्थ्यचौकी भवन एकैपटक शिलान्याश गर्ने कार्यक्रम अन्तर्गत र जिल्लाका ती स्वास्थ्यचौकीको पनि शिलान्याश गरिएको थियो ।
सरकारले पाँच, १० र १५ शय्याको स्वास्थय सुविधा दिने जनाउँदै ती स्वास्थ्यचौकी भवन शिलान्यास एकैपटक गरेको थियो । यहाँका थवाङ, परिवर्तन, माडी र त्रिवेणी गाउँपालिकामा स्वास्थ्यचौकी भवनको शिलान्यास गरिएको थियो । शिलान्याश गरिएका ती भवनमध्ये अधिकांश भुइँ खोस्रनेबाहेक थप काम भएका छैनन् ।
थवाङ गाउँपालिकामा भवन निर्माणका लागि सम्झौता भइसकेको र घडेरी सम्याउने जगको पिलर उठाउने काम भइरहेकोे गाउँपालिका अध्यक्ष वीरबहादुर घर्तीमगरले जानकारी दिए । 
“कामको सुस्तता हेर्दा निर्माण कहिले सकिने हो भन्न सकिने अवस्था छैन”, उनले भने ।
परिवर्तन गाउँपालिकामा भने करिब सात प्रतिशत काम सम्पन्न भएको गाउँपालिका अध्यक्ष निमकान्त डाँगीको भनाइ छ । घडेरी सम्याउने काम अन्तिम चरणमा भएको जनाउँदै थप काम अघि बढ्ने उनले बताए । सम्झौतापश्चात बोलपत्र प्रक्रियामा अघि बढेको उनले जानकारी दिए । 
माडी गाउँपालिका अध्यक्ष नन्दबहादुर पुनका अनुसार जग्गाको विषयमा केही समय विवाद भएकाले निर्माण अवरुद्ध भए पनि विवाद समाधानसँगै घडेरी सम्याउने काम सकिएको बताए । 
निर्माणको जिम्मा लिएको कम्पनीले सडक कालोपत्रका काम गरिरहेको र त्यो काम सकिनेबित्तिकै स्वास्थ्यचौकी भवन निर्माणको कामलाई अगाडि बढाउने उनले जानकारी दिए ।
त्रिवेणी गाउँपालिका अध्यक्ष शान्तकुमार वलीले आफ्नो गाउँपालिकामा पाँच प्रतिशतमात्र काम भएको जानकारी दिए । 
उनले निर्माणको जिम्मा लिएको कम्पनी तिहार मनाउन घर गएको र अहिलेसम्म नआएको र  बारम्बार फोन गरेर बोलाउँदासमेत रकम थप भएपछि मात्र काम सुरु गर्ने शर्त राखेको बताए ।
सङ्घीय सरकारको करिब रु १८ करोड लागतमा स्वास्थ्यचौकी भवन निर्माण हुने भनिए पनि करिब रु १३ करोडको मात्रै बोलपत्र भएका स्थानीय तहका प्रमुखहरूको भनाइ छ । मन्त्रालयले दुर्गम क्षेत्रका नागरिकलाई स्वास्थ्यमा पहुँच पु¥याउन सो कार्यक्रम अघि सारे पनि भवन निर्माणकै काम अलपत्र परेको छ । ती स्वास्थ्यचौकी भवन सम्झौता भएको मितिले करिब दुई वर्षभित्र निर्माण गरिसक्ने लक्ष्य लिएको छ ।
 
मौलाकालिका अस्पतालमा पिआइसियू सेवा सुरु 
जिल्लामा सञ्चालनमा रहेको मौलाकालिका अस्पतालले आजदेखि आठ शय्याको शिशु तथा बालरोग सघन कक्ष (पिआइसियु) सञ्चालनमा ल्याएको छ । कक्षको बागमती प्रदेशसभा सदस्य विजय सुवेदीले पिआइसियु सेवाको शुभारम्भ गर्दै   अस्पतालकासेवा  प्रतिस्पर्धी नभई सहयोगी बन्नुपर्नेमा जोड दिए । 
अस्पतालका प्रबन्ध निर्देशक डा केशराज भुर्तेलले यस अस्पतालको   सेवालाई अझै प्रभावकारी बनाउँदै लैजाने जानकारी दिए ।
अस्पतालका अध्यक्ष डा माणिकलाल मानन्धरले अस्पतालले १०० शय्या क्षमताको अत्याधुनिक भवन निर्माण गरी उच्चस्तरको सेवा दिने तयारीमा रहेको जानकारी दिए । 
अस्पतालका बालरोग विशेषज्ञ डा स्वेताकुमारी गुप्ताले जिल्लामा आवश्यकताअनुसारको पिआइसियु नहुँदा बिरामीले सेवा पाउन नसकेको जनाउँदै यस अस्पतालले सेवा सुरु गरेसँगै थप बिरामी लाभान्वित हुने बताए । 
सो सेवाअन्तर्गत एक महिनादेखि १४ वर्षसम्मका बालबालिकालाई उपचार गरिन्छ । जिल्लाका दुई मेडिकल कलेज र निको बाल अस्पतालबाहेक अन्यत्र यो सेवा नहुँदा बिरामी उपचारका लागि बाहिर जान बाध्य छन् । सरकारी अस्पतालमा समेत यो सेवा सुरुआत हुन सकेको छैन ।
मौलाकालिकाले जन्मिएदेखि एक महिनासम्मका बालबालिकालाई उपचार गर्ने १० शय्याको बाल सघन उपचार कक्ष, छ शय्याको सघन उपचार कक्षसमेत सञ्चालन गर्दै आएको छ । अस्पतालमा प्रसूति, हाडजोर्नी, सर्जिकल, मनोरोग, युरोलोजी, मेडिसिन, रेडियोलोजीलगायतका सेवा उपलब्ध रहेको जनाइएको छ ।–रासस
 
 

प्रकाशित मिति: शुक्रबार, मंसिर १७, २०७८  २०:४३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार