सोसल मिडिया
Contact Us
युनिकोड
मनिला । कोरोनाभाइरस महामारीका कारण पर्यटन क्षेत्रमा मन्दी आएसँगै फिलिपिन्सको पर्यटन राजश्वमा सन् २०२० मा झण्डै आठ अर्ब ३० करोड डलरभन्दा बढी कमी आएको छ । फिलिपिन्सको पर्यटन विभागका अनुसार सन् २०२० मा १३ लाख पर्यटकले मात्र फिलिपिन्सको भ्रमण गरेका थिए । पर्यटन उपसचिव रोबर्टो अलाबाडोले सन् २०१९ को तुलनामा फिलिपिन्समा झण्डै ८० प्रतिशत कम पर्यटक आएको संसद्लाई जानकारी दिए । उनले सन् २०१९ मा झण्डै ८३ लाख पर्यटक फिलिपिन्स आएको बताए । दक्षिण पूर्वी एसियाली मुलुक फिलिपिन्समा पर्यटकको सङ्ख्यामा आएको व्यापक गिरावटका कारण झण्डै ५७ लाख व्यक्ति बेरोजगार भएको बताए । फिलिपिन्सको तथ्याङ्क विभागका अनुसार सन् २०१९ मा फिलिपिन्सको अर्थतन्त्रमा पर्यटन उद्योगले करिब १२.७ प्रतिशत योगदान गरेको थियो । अर्थतन्त्रमा पर्यटन क्षेत्रको ठूलो योगदान रहेकाले यसको पुनरुत्थानका लागि सरकारले विशेष पहल गर्नुपर्ने खाँचो रहेको पनि उनले बताए । कोरोनाभाइरस महामारीका कारण फिलिपिन्ससहित छिमेकी देशमा कडा लकडाउन गरिएका थिए । लकडाउनका कारण मुख्यरुपमा पर्यटकीय गतिविधिलाई व्यापक असर पारेको र ठूलो संङ्ख्यामा मानिस अन्यत्र पलायन हुन बाध्य भएका थिए । हाल फिलिपिन्सले बिस्तारै देशभित्रको यात्रालाई सहजीकरण गर्न थालेको छ र स्वास्थ्य एवं सुरक्षाका मापदण्ड अपनाएर यात्रा अनुमति प्रदान गर्न थालिएको छ । तैपनि कमै मानिसले मात्र स्वास्थ्य जोखिम लिन चाहेको पाइएको छ । लकडाउन र अन्य प्रतिबन्धका बाबजूद फिलिपिन्समा कोभिड–१९ बाट करिब पाँच लाख २९ हजार सङ्क्रमित भएका र तीमध्ये १० हजार ८७४ जनाको मृत्यु भएको थियो ।–सिन्ह्वा