प्रमुख कार्यकारी जेफ बेजोसले छाडे अमेजन

बिहीबार, माघ २२, २०७७

वासिङ्टन । अमेजनका संस्थापक जेफ बेजोसले यसै वर्ष सन् २०२१ को अन्त्यदेखि कम्पनीको प्रमुख कार्यकारी अधिकृतको पदबाट अलग हुने घोषणा गरेका छन् ।  सानो व्यवसायलाई विश्वकै एउटा महत्वपूर्ण कम्पनीका रुपमा रुपान्तरण गर्ने श्रेय बेजोसमाथि छ । अमेजनमा रहेको सम्पत्तिका आधारमा विश्वकै धनाढ्य व्यक्तिको सूचीमा रहेका बेजोसले यस वर्षको तेस्रो चौमासिक अवधिमा कम्पनीको कार्यकारी अध्यक्ष रहने र प्रमुख कार्यकारीको भूमिका एन्डी जेस्सीलाई हस्तान्तरण गर्ने बताए । जेस्सीले हाल अमेजन वेब सर्भिसेजको नेतृत्व गरिरहेका छन् । कोरोनाभाइरस महामारीका कारण जताततै लडकडाउन भएपछि अनलाइन व्यवसाय फस्टाएका कारण अमेजनको पनि नाफा झण्डै दोब्बर अर्थात् ७.२ अर्ब डलर भएको थियो । कम्पनीले गरेको कूल कारोबारमा पनि ४४ प्रतिशतले वृद्धि भएर एक खर्ब २५ अर्ब डलरभन्दा बढी पुगेको थियो । 
अमेजनका कर्मचारीलाई सम्बोधन गरिएको पत्रमा बेजोसले आफू अमेजनका गतिविधिका साथै परोपकारी कार्यमा सक्रियरुपमा सहभागी हुने बताउनु भएको छ । उहाँले हाल डे वान फन्ड र बेजोस अर्थ फन्ड नामका दुई परोपकारी अभियान सञ्चालन गरिरहेका छन् ।  हाल ५७ वर्ष पुगेका बेजोसले अमेजन सन् १९९४ मा आफ्नो ग्यारेजबाट शुरु गर्नु भएको थियो । हाल अमेरिकामा यस कम्पनीले अनलाइन खुद्रा (रिटेल) व्यवसायमा प्रभाव सिर्जना गरिसकेको छ भने यसले सङ्गीत र टेलिभिजनको स्ट्रिमिङका साथै खाद्य, क्लाउड कम्प्युटिङ, रोबोटिक्स, आर्टिफिसियल इन्टेलिजेन्स र अरु नवीन परियोजनामा काम गरिरहेको छ । उनका अन्य व्यवसायमा दी वासिङ्टन पोस्ट अखबार र निजी अन्तरिक्ष संस्था ब्लू ओरिजिन रहेका छन् । अमेजनको प्रमुख कार्यकारीका रुपमा नियुक्त हुन लाग्नुभएका जेस्सीले सन् १९९७ मा मार्केटिङ व्यवस्थापकका रुपमा काम शुरु गरेका थिए । उनी सन् २००३ देखि अमेजन वेब सर्भिसेजमा कार्यरत छन् । बेजोसले जेस्सी बेजोड प्रतिभा र नेतृत्व रहेको बताउँदै उनीमाथि आफ्नो पूर्णविश्वास रहेको बताएका छन् । बेजोसको नेतृत्वमा व्यापक प्रगति गरेको अमेजनको मुख्यालय सियाटल, वासिङ्टनमा रहेको छ र यसले अमेरिकी राजधानी बाहिर दोस्रो मुख्यालय पनि बनाउँदैछ । 
अमेजनको बजार मूल्य मङ्गलबार झण्डै १६ खर्ब ९० अर्ब डलरको रहेको छ । दश वर्षअघिको तुलनामा यो वृद्धि झण्डै १० गुणा बढी हो ।– एएफपी
 

प्रकाशित मिति: बिहीबार, माघ २२, २०७७  ०९:१४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार