करेन्ट लागेर मृत्यु भएको भनिएका व्यक्तिको हत्या भएको आशंका

बुधबार, कात्तिक २४, २०७८

बैतडी, २४ कात्तिक : गत आइतबार करेन्ट लागेर मृत्यु भएको भनिएका दार्चुलाको बसरका ३५ वर्षीय प्रेम महराको हत्या भएको आशंका गरिएको छ । 

जिल्लाको मार्मा गाउँपालिका- ४ बिम्थी बसर बस्ने महराको वडा नं.- २ को लामबगरस्थित गणेशसिंह बिष्ट र शेरसिंह बिष्टको घरमा ढलान गर्ने क्रममा मृत्यु भएको थियो । उनको योजनाबद्ध तवरले हत्या गरिएको आशंका रहेको मृतकका भतिज सुरेन्द्र महराले बताए । 

उनले भने, ‘करेन्ट लागेको भनिएको छ तर हामी आफन्तहरू कोही पनि घटनास्थल नपुग्दै मृतकलाई अर्कै ठाउँमा लगिएको छ । घटनास्थलमा एक थोपा रगत छैन । लटिनाथ स्वास्थ्यचौकीमा पुग्दा १०-१५ लिटरजति रगत बगेको छ । टाउकोमा गम्भीर चोट लागेको छ । करेन्ट लागेको भए चोट कसरी लाग्यो ? उहाँको मृत्यु करेन्टले नभएर योजनाबद्ध हत्या हो ।’ हत्या गरिएका प्रमाणहरू फेला पर्न थालेकाले घटनाको सत्यतथ्य छानबिन हुनुपर्ने उनले बताए ।

घटना भएको भनिएको ठाउँमा त्यस दिन १०० भन्दा बढी मान्छेहरू भए पनि उनीहरूले फरक फरक कुराहरू बताइरहेको पीडित पक्षको भनाइ छ । 

मृतकका आफन्त घटनास्थलमा नपुग्दै महरा घाइते भएको भनी अन्यत्रै लगिएको स्थानीय प्रकाश धामीले बताए । मिस्त्री पेसामा आवद्ध महराको शव अहिले पोस्टमार्टमका लागि जिल्ला अस्पताल दार्चुलामा राखिएको छ । 

मृतकका आफन्तले हत्याको आंशकासहित जाहेरी दिएकाले घटनाका विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । घटना भएको दिन घर ढलान कार्यमा संलग्न व्यक्तिहरूमाथि नै आफन्तले आंशका गरेकाले घटनाको सत्यतथ्य छानबिन गरिने दार्चुलाका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक माधव विश्वकर्माले बताए । घटनाको सत्यतथ्य छानविन गरी कोही पनि व्यक्ति दोषी ठहरिएमा कारवाही गरिने उनले बताए । 

मृतक महराका दुई श्रीमती र दुई जना छोरा छन् । उनका जेठा छोरा आठ वर्षका छन् भने अर्का चार वर्षका छन् । 

प्रकाशित मिति: बुधबार, कात्तिक २४, २०७८  २०:०१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार