४० प्रतिशत काम सकियो अरूण तेस्रो परियोजनामा 

अ‌ाज पानी डाइभर्सन 
सोमबार, माघ १९, २०७७

किमाथाङ्का । सङ्खुवासभामा निर्माणाधीन नौ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् परियोजनाको काम ४० प्रतिशत सम्पन्न भएको  छ । परियोजनाले नदीको पानी डाइभर्सन गर्न ४२९ मिटरको सुरुङ मार्गसमेत निर्माण गरिसकेको छ । परियोजनाले सोमबार सुरुङतर्फ फर्काउने सबै तयारी पूरा गरेको सतलज कम्पनीका कार्यकारी अधिकृत अरुण धिमानले जानकारी दिए । परियोजनाको २०७४ वैशाख २९ गते  प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीले संयुक्त रूपमा शिलान्यास गरेका  थिए । 
अरुण नदीको पानी थुनेर सोमबार सुरुङतर्फ फर्काइने छ । बाँधस्थल मकालु गाउँपालिका–५ फ्याक्सिन्दा र विद्युत्गृहस्थल चिचिला गाउँपालिका–२ पुखुवामा निर्माणको काम चौबीसै घण्टा तीव्र गतिमा चलिरहेको परियोजनाले जनाएको छ । बाँधस्थलमा जयप्रकाश एशोसियटस निर्माण कम्पनीले तथा विद्युत्गृहस्थल क्षेत्रमा पटेल इञ्जिनीयरिङ कन्सल्टेन्टले ठेक्का लिएर काम गरिरहेका छन् । परियोजनामा अहिले भारतीय र नेपालीसहित  तीन हजार कामदारले काम गरिरहेका छन् । फ्याक्सिन्दादेखि पुखुवा निस्कने मुख्य सुरुङमार्गको दूरी ११ दशमलव ७४ किमी  छ । परियोजना विकास सम्झौता (पिडिए) अनुसार सन् २०२२ सेप्टेम्बर भित्रै काम सम्पन्न हुनेछ । परियोजना निर्माणका लागि नेपाल सरकारको समेत सकारात्मक सहयोग रहेको आयोजनाले जनाएको छ । यन्त्र राख्न १६ हजार सात सय घनमिटर र ट्रान्सफर्मर राख्न ४७ हजार चार सय घनमिटर सुरुङ खनिएको छ । पाइलट होल ९० मिटर  खनिएको छ । रु एक खर्ब ४४ अर्ब लागत अनुमान गरिएको परियोजनाबाट नेपाललाई २१.९ प्रतिशत अर्थात् १९७.१ मेगावाट बिजुली निःशुल्क पाइने र विभिन्न शीर्षकमा रु तीन खर्ब ४८ अर्ब आर्थिक लाभ लिनेछ । परियोजनाबाट प्रभावित स्थानीयवासीले रु एक अर्ब ६० करोडको शेयर पाउनाका साथै प्रतिमहिना ३० युनिट विद्युत् प्राप्त गर्नेछन् । परियोजनाबाट २५ वर्षमा नेपालले रोयल्टी, निःशुल्क विद्युत् र आयकर गरी रु तीन खर्ब ४८ अर्ब प्राप्त हुने अनुमान छ । निर्माण सम्पन्न भएको २५ वर्षपछि परियोजना नेपाल सरकारलाई हस्तान्तरण गरिने पिडिएमा उल्लेख गरिएको छ ।–रासस
 

प्रकाशित मिति: सोमबार, माघ १९, २०७७  ०४:२४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार