बैतडीमा २५ प्रतिशत तरकारी खेतीमा क्षति

मंगलबार, कात्तिक १६, २०७८

बैतडी :  कात्तिक पहिलो साता परेको बेमौसमी वर्षाले बैतडीमा २५ प्रतिशत तरकारी खेतीमा क्षति पुर्‍याएको प्रारम्भिक अनुमान गरिएको छ । जिल्लाका विभिन्न स्थानीय तहबाट प्राप्त तथ्यांकअनुसार २५ प्रतिशत तरकारी बाली पूर्ण रूपमा नष्ट भएको कृषि ज्ञान केन्द्र बैतडीका कृषि प्रसार अधिकृत नरेन्द्रबहादुर चन्दले बताए । 

जिल्लाको पाटन, गोकुलेश्वरलगायतका तरकारी पकेट क्षेत्रमा वर्षाका कारण बढी क्षति भएको चन्दले बताए । किसानहरूले बारीमा लगाएको बन्दालगायतका तरकारी वर्षाले कुहेर नष्ट भएका छन् । दशरथचन्द नगरपालिका- ४ जर्गका किसान अकबरसिंह मालले भने, ‘टमाटर र बन्दाका लागि भारी वर्षा घातक रहेछ । अहिलेको सिजनको अधिकांश तरकारी खेतमै कुहिएको छ । यसपालि हामीलाई लाखौँको क्षति भयो । यसरी नै हरेक बेला क्षति भएमा हामी किसानले कसरी बाँच्ने भन्ने चिन्ता भएको छ । कहिले असिना-पानीले तरकारी नष्ट गर्छ, कहिले वर्षा नहुँदा समस्या हुन्छ । जति नोक्सान भए पनि सरकारी निकायबाट केही राहत पाइँदैन । व्यावसायिक किसानहरू साह्रै मारमा छौँ ।’ 

बेमौसमी वर्षाले बारीमा लगाएको बन्दा कुहिएको दशरथचन्द नगरपालिका- १ का किसान कृष्णदत्त भट्टले बताए । उनले भने, ‘यस वर्ष वर्षाका कारण बन्दा कुहिँदा हामी किसानहरूलाई लाखौँको घाटा लागेको छ ।’

यस्तै, वर्षाले अगौटे आलुखेतीमा पनि क्षति पुर्‍याएको कृषि प्रसार अधिकृत चन्दले बताए । जिल्लाका पाटन नगरपालिका, मेलौली नगरपालिका र डिलाशैनी गाउँपालिकबाट मात्र तरकारी खेतीमा क्षति पुर्‍याएको विवरण प्राप्त भएको चन्दले जानकारी दिए । 

पाटनमा २०० हेक्टर जमिनमा तरकारी देती हुँदै आएकामा ५० हेक्टरमा लगाएको तरकारी पूर्ण रूपमा नष्ट भएको पाटन नगरपालिकाका कृषि शाखा प्रमुख महेश अवस्थीले बताए । 

जिल्लामा एक हजार २२९ हेक्टर जमिनमा तरकारी खेती हुँदै आएकामा ३०० हेक्टर जमिनमा लगाएको तरकारी खेतीमा क्षति पुगेको कृषि ज्ञान केन्द्र बैतडीले जनाएको छ ।

प्रकाशित मिति: मंगलबार, कात्तिक १६, २०७८  २१:१२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार