थलिएको पयर्टन क्षेत्र व्युँत्याउने सरकारी प्रयास 

यस्ता छन् पर्यटक भित्रयाउन नेपालको तयारी
शनिबार, माघ १७, २०७७

काठमाडौं । कोभिड–१९ महामारीबाट सबै भन्दा बढी प्रभावित बनेको पर्यटन क्षेत्रलाई चलायमान बनाउन सरकारले रणनीतिक महत्वका अल्पकालीन र दीर्घकालीन योजनासहितका कार्यक्रम अघि बढाउने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले महामारीका कारण प्रभावित बनेको पर्यटन क्षेत्रको पुनरुत्थानसाथै उत्साहवद्र्धक गतिविधि सञ्चालनका लागि सरोकारवालासँगको समन्वयमा प्रवावकारी योजना कार्यक्रम ल्याइने बताए । महामारीबाट थलिएको पर्यटन प्रवद्र्धनका कार्यक्रम कसरी अघि बढाउने विषयमा मन्त्रालयमा पत्रकारसँग सुझाव लिने क्रममा पर्यटनमन्त्री ढकालले पर्यटन क्षेत्रको विभिन्न स्थानलाई तत्कालीन र नीतिगत रुपमा सम्बोधन गर्नुपर्ने कार्यलाई यथाशीघ्र अघि बढाइने बताएका हुन् । पर्यटनमन्त्री ढकालले पर्यटन क्षेत्रको प्रभावकारी प्रवद्र्धन तथा यसका गतिविधिलाई अघि बढाउन मन्त्रालयले पञ्जवर्षीय योजना तथा आवधिक रुपमा सरकारको नीति तथा कार्यक्रममा परेका विषयलाई सम्बोधन गरिनुका साथै १० वर्षे योजनामासमेत पर्यटनका विषयलाई समेटिने जानकारी दिए ।    

अनअराइभल भिसाको व्यवस्था गरिने

पर्यटनमन्त्री ढकालले विदेशी पर्यटकको नेपाल आवागमनलाई सहज तुल्याउन मन्त्रालयले सरोकारवाला निकायसँग छलफल गरी अनअराइभल भिसाको व्यवस्थाका लागि आवश्यक प्रक्रिया अघि बढाउने बताए । उनले कोभिड विरुद्धको खोप लगाएर आएको विदेशी नागरिक निर्वाध रुपले नेपाल घुम्न पाउनुपर्छ भन्ने मन्त्रालयको धारणा रहेको र सोही अनुरुप माथिल्ला निकायमा पत्राचार गरिएको पनि जानकारी दिए । 

पिसीआर नेगेटिभ रिपोर्ट भए क्वारेन्टिन बस्नु नपर्ने 

७२ घण्टे पिसीआर रिपोर्टकासाथ होटल क्वारेन्टिन बस्नुपर्ने झण्झटले विदेशी पर्यटक आवागमनमा असहज भएको भनी व्यवसायीले गुनासो गरिरहेकाबेला पर्यटन मन्त्रालयले उक्त मापदण्ड खुकुलो बनाउने भएको छ । 
पर्यटनमन्त्री ढकालले पिसीआर नेगेटिभ रिपोर्टले निर्वाध रुपमा घुम्न पाउने र खोपलगाएर आएको विदेशीले सहज रुपमा नेपाल भ्रमण गर्नसक्ने व्यवस्थासहित मन्त्रालयले निर्णय गरी कोभिड– १९ सङ्क्रमण व्यवस्थापन केन्द्र (सिसिएमसी)लाई पत्राचार गरिएको र छिट्टै मन्त्रिपरिषद्बाट निर्णय हुने जानकारी दिए । 
कोभिडको खोप लगाएर आएका पर्यटकको सहज आवागमनका लागि सार्वजनिक रुपमा सूचना जारी गरिनेछ । पर्यटनमन्त्री ढकालले कोभिडबाट प्रभावित बनेको पर्यटन क्षेत्रलाई सहज वातावरण तुल्याउन अन्तर मन्त्रालय र सरोकारवाला निकायसँग छलफल गरी अब एक्सनमूलक काम गर्नेगरी मन्त्रालय अघि बढेको जानकारी दिए । 
भारतलगायत मुलुकबाट धार्मिक पर्यटक आकर्षण गर्न प्रवद्र्धनात्मक कार्यक्रम गरिनुकासाथै आन्तरिक पर्यटन प्रवद्र्धनलाई जोड दिइने उनको भनाइ छ । 

अन्तरराष्ट्रिय विमानस्थल प्रमुख प्राथमिकतामा
पर्यटन मन्त्रालय मातहतको राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल र बारामा प्रस्तावित निजगढ दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको स्थलगत अवलोकन अध्ययन गरी सोको प्रतिवेदन सम्बन्धित निकायमा पेश गरेर बाँकी काम द्रुत गतिमा अघि बढाइने जानकारी दिए । हाल भैरहवा विमानस्थलको ९८ प्रतिशत र पोखरा विमानस्थलको ७० प्रतिशत भौतिक प्रगति भएको । अबको केही महिनाभित्रै यी विमानस्थलमा जहाज उडाउने सरकारी योजना छ । त्यसैगरी निजगढ विमानस्थलमा लगानी मोडालीटी टुङ्ग्याउने प्रक्रियामा छ । विमानस्थलको चार किल्ला घेरी तारबार गर्ने र जग्गाको मुआब्जा वितरणको काम भइरहेको छ । कार्यक्रममा पर्यटन मन्त्रालयका सचिव यादवप्रसाद थपलियाले कोभिडपछिको पर्यटनलाई चलायमान बनाउन मन्त्रालयले योजनाबद्ध रुपमा कार्यक्रम अघि बढाउने बताए ।–रासस
 

प्रकाशित मिति: शनिबार, माघ १७, २०७७  ०६:५०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार