पर्यटक घुमाउने गुरुङ बेल्चा र गैँतीसँग खेल्दै

शनिबार, कात्तिक १३, २०७८

काठमाडौँ । सङ्खुवासभाका दीपेन्द्र गुरुङलाई पदमार्ग निर्माणको फरक अनुभूति भइरहेको छ । सधैँ विदेशी पर्यटक हात समाएर रमाउँदै हिँड्ने पथप्रदर्शक गुरुङ यतिखेर पदमार्ग निर्माण जुटेका छन् ।  अहिले उनीसँग पर्यटकको झोला होइन, हातमा बेल्चा र गैती छन् । “पहिला पदयात्रामा पथप्रदर्शकको काम गरिन्थ्यो, अहिले दुई वर्षदेखि बेरोजगार भइएको छ, त्यसैले खाली बस्नुभन्दा सानो तिनो भए पनि कमाइ हुने भएकाले यो काममा लागेको हुँ”, निधारबाट खलखल झरेको पसिना पुछ्दै उनले भने । सोलुखुम्बुका रणबहादुर आलेमगरको पनि गुरुङकोभन्दा फरक धारणा छैन । उनले भने, “पहिला पदयात्रामा निस्कदा विदेशीसँगको यात्रा रोमाञ्चक हुन्थ्यो । अहिले परिस्थितिले यस्तो बनाएको छ, पहिला सुकिला खैरेको हात समाएर हिँड्ने हातमा अहिले बेल्चा र गैतीका भरमा जीवन गुजारा गर्नुपर्ने बाध्यता छ ।” नेपाल एसियन ट्रेकमा गाइडको काम गर्ने आलेको परिवारको जीविकोपार्जनका आधार नै ट्रेकिङ हो ।
काठमाडौँको चन्द्रागिरि नगरपालिका–६ मा मातातीर्थ कुण्ड पदमार्ग एवं साइकल मार्ग निर्माणमा जुटेका मजदुरको कहानी र व्यथा उस्तै छ । यो क्षेत्रमा आकर्षक पदमार्ग तथा साइकल मार्ग निर्माण गरिएको छ । कोभिड–१९ महामारीका कारण नराम्ररी थला परेको पर्यटन क्षेत्रमा आबद्ध मजदुरको पेशा व्यवसाय बाध्यताले बदलिएको छ । पर्यटकको गाइड तथा भरिया भएर डलर कमाउने गुरुङ र आलेमगरजस्तै अन्य पर्यटन क्षेत्रमा आबद्ध मजदुरको पेशा बदलिएको छ । जसोतसो गरेर भए पनि परिवार धान्नैपर्ने बाध्यता छ । त्यसैले पर्यटन मजदुर फरक शैलीमा जीविकोपार्जनको जोहोमा जुटेका हुन् ।
जीविकोपार्जन पुनरुत्थानका लागि दिगो पर्यटन परियोजनामार्फत पर्यटन क्षेत्रका मजदुरलाई रोजगारीको अवसर सिर्जना गरिएको हो । नेपाल पर्यटन बोर्डले संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी) सँगको सहकार्यमा झण्डै पाँच हजारलाई रोजगारी दिने लक्ष्यसहित जीविकोपार्जन पुनरुत्थानका लागि दिगो पर्यटन परियोजना सञ्चालन भइरहेको छ ।
पर्यटन मजदुरलाई रोजगारी गुमेकामा भन्दा पनि आफूहरूले पसिना बगाएर श्रम गरेको पदमार्गको उपयोग हुन्छ कि हँुदैन भन्नेमा उनी चिन्तित छन् । गुरुङले भने, “साइकल टे«क र पदमार्ग बेवारिसे नबनोस्, बालुवामा पानी हालेको जस्तो नहोस्, यसलाई स्थानीयवासीले अपनत्व लिनुपर्छ ।”
कोभिड महामारीका कारण रोजगारी तथा आम्दानी गुमाएकालाई केही मात्रामा भए पनि रोजगारी तथा आयआर्जनको अवसर सिर्जना गरी पर्यटकीय क्षेत्रमा रहेका अतिप्रभावित जनशक्तिलाई रोजगारी दिन सुरु गरिएको परियोजनाका राष्ट्रिय संयोजक मणि लामिछानेले बताए । 
परियोजनामा चन्द्रागिरि नगरपालिकाले पनि सहकार्य गरेको छ । राजधानी काठमाडौँ नजिकको पदमार्ग हराभरा जङ्गलमा प्राकृतिक आनन्द लिँदै करिब एक घण्टाको उकालो यात्रा तय गर्दै दृश्यस्थलमा पुगेर पुनः तल झर्ना मन फुरुङ्ग हुन्छ, यसले आन्तरिक तथा विदेशी पर्यटकको आकर्षण बढ्ने विश्वास स्थानीयवासीको छ । 
करिब रु ३२ लाख ९२ हजारको लागतमा निर्माण गरिएको सो पदमार्गमा ३२४ जना पर्यटन मजदुरले रोजगारी पाएका छन् । मातातीर्थ कुण्डबाट सुरु हुने पदमार्गमा दुई किलोमिटर फुट ट्रेल र छ किलोमिटर साइकल ट्रयाक बनाइएको छ । चन्द्रागिरि नगरपालिकाका नगरप्रमुख घनश्याम गिरीले चन्द्रागिरि नगरपालिकालाई पर्यटकीय नगरका रूपमा विकास गर्न पदमार्गले सहयोग पुग्ने विश्वास व्यक्त गरे । 
चन्द्रागिरिमा आन्तरिक तथा विदेशी पर्यटक भित्र्याउन तथा कृषि उत्पादनलगायत अन्य व्यवसायले लाभ लिनसक्ने उनको भनाइ छ । 
चन्द्रागिरि नपा वडा नं ६ का अध्यक्ष सञ्जय सिग्देलले पर्यटन क्षेत्रमा काम गुमाएका मजदुरले धेरै मेहनत गरेर बनाएको आकर्षक पदमार्गको संरक्षण प्रवद्र्धनका लागि स्थानीय निकायले जिम्मेवारी लिने विश्वास दिलाए । 
मातातीर्थमा वर्षेनी उल्लेख्य सङ्ख्यामा आन्तरिक तथा धार्मिक पर्यटक पुग्ने गरेका छन् । पवित्र धार्मिक तीर्थस्थल मातातीर्थमा पदमार्ग निर्माणले पर्यटकीय आकर्षण बढ्ने विश्वास लिइएको छ ।
पर्यटन हातेमालो समाजका सल्लाहकार राम भुजेलले पदमार्ग निर्माणमा समूह ए र बी गरी हरेक समूहमा ३० भन्दाबढी सङ्ख्यामा मजदुर परिचालन गरिएको छ । कोभिड महामारीले रोजगारी गुमाएका पर्यटन मजदुरलाई केही भए पनि रोजगारी मिलेको र आगामी दिनमा यसलाई निरन्तरता दिन सकिए मजदुरको जीविकोपार्जनका लागि सहज वातावरण सिर्जना हुने उनको भनाइ छ । 
परियोजनाअन्तर्गत १५ क्षेत्रका विशेषगरी पदमार्ग, सम्पदा आदि क्षेत्रमा प्राथमिकता निर्धारण गरेर काम गरिएको छ । पहिलो चरणमा नेपालका मुख्य पर्यटकीय क्षेत्रमा रहेका अतिप्रभावित एक हजार ६०० जनशक्तिलाई पर्यटकीय क्षेत्रको सरसफाइ, पदमार्गको मर्मतसम्भार, पैदलमार्गका सिंढी मर्मतसम्भार, सङ्केत चिन्हको स्थापन तथा मर्मत सम्भारलगायतका कार्यमा संलग्न गराई ४० दिन बराबरको रोजगारी प्रदान गरिएको छ । सात प्रदेशका कम्तीमा १०० मजदुर समेटिने गरी रोजगारी दिइएको छ । उनीहरूलाई हरेक दिन रु एक हजार पारिश्रमिक दिइन्छ ।
दुई वर्ष छ महिना अवधिको परियोजनाका लागि बोर्डले १० लाख तथा युएनडिपीका तर्फबाट १० लाख ५० हजार गरी कूल २० लाख ५० हजार अमेरिकी डलर बराबरको रकम खर्च गरिनेछ । देशभरका स्थानीय तहसँग साझेदारिता गरेर थप दुई हजारभन्दा बढीलाई रोजगारी दिइने लक्ष्य लिइएको छ । यसैबीच परियोजनाले काठमाडाँैको कीर्तिपुर, चन्द्रागिरि भक्तपुरको चाँगुनारायण, मकवानपुरको थाहा, चितवनको रत्ननगर नगरपालिकासँगै ताप्लेजुङ, सोलुखुम्बुका, सङ्खुवासभा, मुस्ताङ, पर्वत र ओखरढुङ्गा एक एक गरी १० वटा स्थानीय तहसँग सम्झौता गरी जीविकोपार्जन पुनःउत्थानका लागि दिगो पर्यटन परियोजना सुरु गरिसकेको छ ।
परियोजनाको पदमार्ग पर्यटन क्षेत्रअन्तर्गत अन्नपूर्ण क्षेत्र, सगरमाथा क्षेत्र, लाङ्टाङ क्षेत्र, मनास्लु क्षेत्र, कञ्चनजङ्घा पाथीभरा क्षेत्र, मकालु बरुण क्षेत्र र खप्तड क्षेत्र रहेका छन् । त्यस्तै सांस्कृतिक सम्पदा क्षेत्रतर्फ लुम्बिनी, जनकपुर र काठमाडौँ उपत्यका छन् । ¥याफ्टिङ र जल पर्यटन क्षेत्र त्रिशूली, भोटेकोशी कालीगण्डकी, कर्णाली तथा मस्र्याङ्दी छन् । उक्त परियोजनाको तालुकदार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमार्फत अर्थ मन्त्रालयबाट स्वीकृत भई निर्देशिका अनुसार बोर्ड कार्यान्वयन साझेदार रही कार्यक्रम सञ्चालन गर्नेगरी बोर्ड र युएनडिपीबीच विसं २०७७ मङ्सिरमा सम्झौता भई पुस १७ गतेदेखि सञ्चालनमा आएको थियो ।
नेपाल पर्यटन बोर्डले तयार गरेको कोभिडपछिको पर्यटन क्षेत्रको असरसम्बन्धी अध्ययनअनुसार वैद्यरूपमा सञ्चालन भएका पर्यटन क्षेत्रमा रु एब खर्ब ५३ अर्बको लगानी छ । यो निजी क्षेत्रको मात्रै लगानी हो । यस्तो लगानी पर्यटन क्षेत्रका होटल, एयरलाइन्स, रेस्टुरेन्टदेखि पदयात्रा पर्वतारोहण, जलयात्रालगायत छन् । कोभिडको मुख्य प्रभाव पर्यटन क्षेत्रमा परेको छ । यो क्षेत्रमा दुई लाख ७३ हजारले प्रत्यक्ष रोजगारी पाएका छन् ।

प्रकाशित मिति: शनिबार, कात्तिक १३, २०७८  २०:५५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार