सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौँ । सरकारले दाङको घोराही उपमहानगरपालिका वडा नं ४ र ५ (साविकको धर्ना र लक्ष्मीपुर गाविस वडा नं १) अन्तर्गत विभिन्न चारकिल्लाभित्र पर्ने ५४९ बिघा जग्गालाई ‘दाङ औद्योगिक क्षेत्र’ घोषणा गरेको छ । मन्त्रिपरिषद्ले आइतबार बसेको बैठकले औद्योगिक क्षेत्र बनाउने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता पार्वत गुरुङले जानकारी दिए । मन्त्री गुरुङका अनुसार पूर्वमा लमही घोराही सडक, पश्चिममा पाण्डेश्वर धार्मिक वन, उत्तरमा बबई नदी र दक्षिणमा वन क्षेत्रलाई ‘दाङ औद्योगिक क्षेत्र’ घोषणा गर्ने निर्णय भएको छ ।
शहीद र बेपत्ता परिवारलाई सम्मान र परिचयपत्र सरकारले लोकतान्त्रिक परिवर्तनका लागि भएका सबै जनआन्दोलन र सशस्त्र सङ्घर्षका योद्धालाई सम्मान र परिचयपत्र उलब्ध गराउने भएको छ । सरकारले त्यसका लागि जनआन्दोलन र सशस्त्र सङ्घर्षका क्रममा जीवन उत्सर्ग गर्ने शहीद र बेपत्ता व्यक्तिका परिवार, लोकतन्त्रका योद्धा, द्वन्द्वपीडित र विस्थापित, अपाङ्गता भएका व्यक्ति, घाइते तथा पीडितको अभिलेख सङ्कलन गर्ने निर्णय निर्णय गरेको छ । उनीहरुलाई सम्मान र परिचयपत्र उपलब्ध गराउने सम्बन्धमा आगामी बैठकमा प्रस्ताव पेश गर्न परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गर्ने निर्णय गरेको सञ्चारमन्त्री गुरुङले जानकारी दिए । समितिमा खानेपानीमन्त्री मणिचन्द्र थापा र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शिवमाया तुम्वाहाङ्फे सदस्य रहेका छन् ।
शताब्दी पुरुष जोशी र राष्ट्रकवीका हुलाक टिकट सरकारले वाङ्मय शतादी पुरुष सत्यमोहन जोशी र स्व. राष्ट्रकवि माधवप्रसाद घिमिरेको तस्बिर अङ्कित हुलाक टिकट प्रकाशन गर्न स्वीकृत दिएको छ । ती हुलाक टिकट छपाई भई आइसकेका छन् ।