मानहुँकोटमा पर्यटकको भिड

बिहीबार, कात्तिक २७, २०७७

दमौली । तनहुँको व्यास नगरपालिका–५ मा रहेको मानहुँकोट डाँडा हिजोआज निकै चर्चित छ । यहाँ दिनहुँ मानिसहरुको भिड लाग्न थालेको छ । केही समयअघिसम्म उपेक्षित मानहुँकोटमा हिजोआज दिनमै एक हजारभन्दा धेरै मानिस घुम्न पुग्छन् । बस्ती नै रित्तिसकेको यो डाँडोमा अहिले मान्छेको चापलाई व्यवस्थापन गर्न गाह्रो भएको बताउँछन् व्यास नगरपालिकाका मेयर वैकुण्ठ न्यौपाने ।  
केही व्यक्तिले डाँडो र त्यहाँबाट देखिएका दृश्य सामाजिक सञ्जालमा राखेपछि भाइरल भएको थियो । त्यसपछि बिस्तारै आन्तरिक पर्यटकको चाप बढेको छ । शनिबार अत्यधिक भिडभाड भएपछि नगरपालिकाले व्यवस्थापनका लागि गत (आइतबार) डाँडामै बैठक राखेको थियो । 
‘सामाजिक सञ्जालमार्फल भाइरल भएपछि युवाहरु आएका छन् । बस्ने ठाउँ नपाएर, मान्छेहरु होटल पनि नपाएर चोक र गल्लीमा छन्’ मेयर न्यौपानेले भने, ‘हामी पनि चकित छौं । हामीले त्यहाीँ मिटिङ पनि ग¥यौं ।’ मानहुँकोट जान सदरमुकाम दमौली बजार र नजिकैका जिल्लाहरुका मात्रै नभएर पश्चिम कञ्चनपुर, पूर्वको झापा, काठमाडौं, चितवनलगायतका जिल्लाबाट गाडी रिजर्भ  गरेर पनि मानिसहरु आइरहेका मेयर न्यौपानेले बताए । उनीहरुले सूर्याेदय र सूर्यास्त हेर्न दार्जिलिङ जानुभन्दा मानहुँकोट आएको बताउने गरेका छन् ।
पर्यटकको चाप बढेपछि उपेक्षित मानहुँकोटमा अहिले भने दमौलीका व्यापारीले जग्गा खरिद गर्न थालेका छन् ।
जिल्ला सदरमुकाम दमौली बजारबाट ६ किलोमिटर टाढा पर्ने यो डाँडालाई ‘बजारको छाता’ पनि भनिन्छ । बिहान ११–१२ बजेसम्म दमौलीलाई कुहिरोले ढाक्छ । दिउँसो ३ बजेपछि मानहुँ डाँडाको छाया पर्छ ।
समुन्द्र सतहदेखि ११०० मिटर उचाइमा रहेको मानहुँकोट खासमा मान्छे बस्न नरुचाउने डाँडो हो । पछिल्लो समय यहाँ मानव बस्ती निकै पातलिएको छ । पुरानो बस्तीका मानिस बसाइ सरेर ७ घर मात्र बाँकी छन् । केही वर्षअघिसम्म ७० घर रहेको यो ठाउँका कोही नजिकैको दमौली बजारतिर झरे, कोही अन्तै बसाइ सरे । नजिकै भएकोले धेरैजसो थातथलो छाडेर दमौली बजार नै बसाइ सरेको स्थानीय बताउँछन् । जिल्ला सदरमुकाम दमौली र मानहुँकोटको दूरी जम्मा ६ किलोमिटर पर्छ । मानहुँकोटमा अहिले पनि खानेपानीको सुविधा छैन । एक घण्टाको बाटो हिँडेर यहाँका बासिन्दा खानेपानीको जोहो गर्छन्

मानहुँकोटको विशेषता
मानहुँलाई नगरपालिकाले पर्यटकीय स्थलका रुपमा लिए पनि पर्यटकलाई आह्वान गरेको थिएन । तर एकाएक पर्यटकको संख्या ह्वात्तै बढ्यो । बस्ती हराउँदै गएको यो डाँडामा मान्छे ओइरिनुका केही कारण छन् । डाँडाका केही विशेषताका कारण पूर्वदेखि पश्चिमबाट पर्यटकहरु आइरहेका हुन् । यो डाडो आफैंमा भ्यू टावर हो । अग्लो र फराकिलो क्षेत्र भएकाले यहाँबाट गण्डकी प्रदेशका धेरै क्षेत्र देखिन्छ । मुख्यतः दिउँसो यो डाँडाबाट ‘ह्वाइट लेक’ अर्थात हिमालय क्षेत्र प्रष्टसँग देखिन्छ । बिहान र बेलुका सूर्याेदय र सूर्यास्त राम्रो देखिन्छ । यहाँबाट अन्नपूर्ण, माछापुच्छ्रे, मनास्लुलगायतका हिमशृंखला देखिन्छ ।
डाँडाबाट रातिमा दमौली बजारको निकै रमाइलो दृश्य पनि देखिन्छ । दमौली, मादी र सेतीको संगमस्थल व्यास भूमि पनि देखिन्छ ।
बिहान, बेलुका र दिउँसो जुनसुकै समयमा पनि केही न केही अवलोकन गर्न सकिने भएकोले पछिल्लो समय मानहुँलेख पर्यटकको रोजाइमा परेको छ ।

के गर्दै छ नगरपालिका ?
पर्यटकको चाप बढेपछि व्यास नगरपालिकाले मानहुँमा थप पर्यटन विकास गर्ने योजना बनाएको छ । केही नभएको डाँडोमा पर्यटकको भिड लागेपछि तत्काललाई सामान्य व्यवस्थापन गरी दीर्घकालीन विकासका लागि गुरुयोजना बनाउने तयारी नगरपालिकाको छ ।
डाँडासम्म सडक निर्माण भइसकेको छ । केही भाग कालोपत्रेसमेत गरिएको छ । पर्यटक बढ्न थालेपछि नगरपालिकाले २५ लाख रुपैयाँको लागतमा भिरपट्टीको क्षेत्रमा बार लगाइसकेको मेयर न्यौपानेले जानकारी दिए । डाँडामा २७ लाख रुपैयाँको लागतमा ‘भ्यु प्वाइन्ट’ पनि निर्माण हुँदै छ । मुख्य गरी खानेपानीको समस्या रहेकोले त्यसका लागि पनि लिफ्टिङ गरेर पानी पु¥याउने तयारी नगरपालिकाको छ । तत्काललाई शौचालय निर्माण, सुरक्षाको व्यवस्था र सरसफाइको काम गरिने मेयर न्यौपानेले जानकारी दिए ।
‘तत्काललाई शौचालय निर्माण, सुरक्षा र सरसफाइको व्यवस्थापनको काम गर्छाैं । गुरुयोजनाको तयारी गरेका छौं । त्यसपछि अरु काम हुन्छ । त्यहाँ कस्ता घर बनाउने भन्ने कुरासमेत भइरहेको छ’ मेयर न्यौपानेले बताए । 

दिनमा ३०० जनामात्रै जान पाउने, जग्गा किनबेचमा रोक
पर्यटकीयस्थल मानहुँकोटमा दैनिक ३०० जनालाई मात्रै अनुमति दिइने भएको छ । एकाएक पर्यटकको संख्या अत्यधिक बढेपछि दैनिक ३०० जनालाई मात्रै मानहुँकोट जान अनुमति दिने निर्णय गरिएको मेयर न्यौपानेले जानकारी दिए । आन्तरिक पर्यटक बढेपछि त्यसको व्यवस्थापनका लागि गत आइतबार मानहुँकोटमै नगरपालिकाको बैठक बसेको थियो । बैठकले कोरोना भाइरस (कोभिड–१९) को संक्रमण नियन्त्रणमा आइनसकेको बेला भिड बढेकोले त्यसको व्यवस्थापनका लागि रजिस्जेशन गरेर मात्रै पठाउने निर्णय गरिएको हो । रजिस्टेशन शुल्क भने लिइने छैन । बैठकले मानहुँकोटको जग्गा खरिद–बिक्रीमा समेत रोक लगाएको छ । यसअघि स्थानीयले समेत छाडेको ठाउँमा पर्यटकको चहलपहल भएपछि व्यापारीले जग्गा किन्ने क्रम बढेपछि नगरपालिकाले पुस मसान्तसम्म जग्गा किनबेच गर्न रोक लगाएको हो ।
 

प्रकाशित मिति: बिहीबार, कात्तिक २७, २०७७  १३:२२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार