बाढीपहिरो कहर : जनप्रतिनिधि सहानुभूति राख्न तलब दिन्छन्

दीर्घकालीन योजना बनाउन सक्दैनन्
आइतबार, कात्तिक ७, २०७८

सुनसरी : चार वर्षअघि स्थानीय तहका जनप्रतिनिधि निर्वाचित भएको महिना दिनमा नै इटहरीले विपत्तिको सामना गर्नुपर्‍यो । सुनसरी र मोरङको सीमा छुट्टाउने बुढी खोलामा आएको बाढीले इटहरीका ६ जनाले ज्यान गुमाउनु परेको थियो । 

ठूलो धनमालको क्षति गरेको उक्त बाढीले इटहरीवासीलाई खतराको संकेत गरेको थियो । त्यसको चार वर्षपछि फेरि बेमौसमी वर्षातका कारण ठूलो धनजनको क्षति गर्‍यो । चार जनाको ज्यान गयो, एक जना बेपत्ता छन् । सयौँ घरमा बाढी पस्यो । करोडौँको धनमाल बालुवामा परिणत गरिदियो । निर्वाचित भएको पहिलो महिनामा नै विपत्तिको पीडा देखेका, भोगेका जनप्रतिनिधिले इटहरीलाई बाढीबाट मुक्त गर्लान् भन्ने आशसमेत गरेका थिए । 

आफूले रोजेको जनप्रतिनिधिलाई धेरै स्थानीयले समेत पटक पटक घच्घच्याउँछन् । तर, आजपर्यन्त कुनै दीर्घकालीन योजनासमेत बनाउन सकेनन् । आफ्नो तलब काटेर विपतको समयमा सहानुभूति राख्न सक्ने जनप्रतिनिधिले किन राज्यबाट रकम मागेर खर्च गर्न सक्दैनन् ? इटहरीलाई सेरा खोला, खेती खोला, टेङ्ग्रा खोला र बुढी खोलाले बाढीकै कारण तहसनहस पार्ने गरेको छ । 

स्थानीय सरकारले हरेक वर्ष बाढी रोकथाम तथा खोला सरसफाइ भन्दै लाखौँ रकम खर्च गरेको छ । छोटो समयमा तीव्र बजारीकरणको रूपमा फेरिएको इटहरीमा स्थानीयले खोला पैनी मिचेर भौतिक संरचना बनाएका छन्, हडपेर बनाएका संरचना हटाउने तथा भत्काउने पूर्ण अधिकार स्थानीय सरकारलाई छ । तर, आजसम्म इटहरीका खोला पैनी मिचेर बनाएका संरचना हटाउन कुनै निकायले पनि आँट गरेका छैनन् । 

मेयर चौधरीको बोली एउटा व्यवहार अर्कै 

इटहरीका मेयर द्वारिकलाल चौधरी स्थानीय सरकारको प्रमुखमा निर्वाचित भएको समय निकै चर्चामा आए । खोला पैनी मिचेर बनाएका संरचना हटाउँछु भन्दै जानी नजानी डोजर चालक बनेर खोला भित्र पसेका थिए । पछि एक समिति बनाएर काम गर्ने भन्दै उनले संरचनामाथि डोजर चलाउन सकेनन् ।

इटहरीमा भएको डिभिएम बोडिङ् स्कुल, एमालेको पार्टी कार्यालय, इटहरी ५ मा रहेको सिमरबना सहकारी भवन, नमुना कलेज लगायतका कयौँ स्थानकाबारेमा पटक पटक प्रश्न उठ्दै आएको छ । तर, आफ्नो कार्यकाल सकिन केही महिना मात्रै बाँकी रहँदा पनि मेयर चौधरी अतिक्रमित खोलाको क्षेत्र हटाउने आश्वासन बाँड्दै आएका छन् । उनी इटहरीवासीको साझा सहमतिबाटै समाधान निकाल्नु पर्ने र सोही अनुरूप काम गर्नु पर्ने बताउँछन् । 
यसरी बाढीको जोखिम कम गर्न सकिन्छ  । 

विशेष गरी इटहरी डुबान हुने भनेको सम्बन्धित निकायको कमिकमजोरी प्रष्ट देख्न सकिन्छ । जुन ठाउँबाट इटहरीमा बाढी पस्छ, त्यस ठाउँमा दीर्घकालीन योजना बनाएर सदाका लागि तटबन्ध नलगाउनु । विपद व्यवस्थापनमा छुट्ट्याइएको रकम खर्च गर्न नसक्नु जस्ता कारणले आज इटहरी बाढी र डुबानको सिकार हुँदै आएको छ । 

इटहरी पूर्वको उदाउँदो सहर हो । पहाडी जिल्लाबाट बसाइसरी आउनेको संख्या अत्यधिक छ । उनीहरूले खरिद गरेको जग्गा कुन भूगोलमा छ ? खोला पैनीलाई असर गरेको छ कि छैन ? भन्ने सामान्य जानकारीविना घर निर्माण गर्दा डुबान हुने गरेको लामो समयदेखि इटहरीमा बसोबास गर्दै आएका बद्रीप्रसाद पोखरेल बताउँछन् । घर बनाउने बेला उपमहानगरले भूगोलको अवस्था हेरेर मात्रै नक्सा पास गरी भौतिक संरचना निर्माण गर्न दिनुपर्ने उनको तर्क छ । 

त्यस्तै इटहरीका अगुवा नेता रामप्रसाद चौलागार्इं इटहरीको बीच भागबाट टेङ्ग्रा खोलालाई इटहरीदेखि खनारसम्मको खोलालाई डाइभर्सन निर्माण गरी बुढी नदीमा जोड्नु अर्को स्थायी समाधान हुन सक्ने बताउँछन् । जसका कारण धेरै वडा डुबानबाट सुरक्षित राख्न सकिने उनले बताए । 

जनप्रतिनिधि आए पनि दीर्घकालीन समाधान तर्फ कुनै कदम नचाल्नुले इटहरीलाई सामान्य वर्षाबाट डुबान रोक्न नसकेको उनको भनाइ छ । त्यस्तै नागरिक समाज इटहरीका अध्यक्ष राजु केसी ड्रेनको दीर्घकालीन योजना बनाउनु पर्ने बताउँछन् ।

पुराना पैनीलाई नयाँ संरचनाका आधारमा उही क्षेत्रफलमा बनाउनुले समेत बाढीले इटहरीलाई त्रसित पार्ने गरेको उनको भनाइ छ । खोला पैनीको क्षेत्रमा बसोबास गर्ने बासिन्दालाई सरकारले उचित र सुरक्षित स्थानमा राख्नुपर्ने र खोलाको आफ्नो क्षेत्र क्लियर गर्नुपर्ने केसीको भनाइ छ । 

प्रकाशित मिति: आइतबार, कात्तिक ७, २०७८  १०:१५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार