सोसल मिडिया
Contact Us
युनिकोड
इस्तानबुल । टर्कीका विद्यार्थीहरूले विद्यालयमै गएर पढ्न पाउने व्यवस्था गर्न लागिएको छ । सरकारी अधिकारीहरूले आगामी फेब्रुअरी १५ पछि विद्यालयमै गएर पठन पाठन गर्न पाउने व्यवस्था गर्न लागिएको जानकारी दिएका छन् । आम नागरिकलाई कोरोनाविरुद्धको खोप लगाउने अभियान चलिरहेका बेला शिक्षा मन्त्री जिया सेल्कुकले विद्यालय खोल्ने तयारी गरिएको जानकारी दिएका हुन् । उनले भने, ‘उच्च सतर्कता र उच्च सुरक्षा मापदण्ड अपनाउँदै विद्यालयहरूमा पठन पाठन सञ्चालन गर्ने तयारी भइरहेको छ ।’ शिक्षा मन्त्री सेल्कुकले आफूहरू अब विद्यालय खोल्नु पर्छ भन्ने निष्कर्षमा पुगेकाले त्यही अनुसार तयारी भइरहेको जानकारी दिए । ‘सबै कुरा अहिलेकै अवस्थामा अगाडि बढ्दै गएमा फेब्रुअरी १५ देखि विद्यालयहरूमा पठन पाठन हुने कुरा लगभग सुनिश्चित भइसकेको छ’, उनले भने । विद्यालय खोल्ने बारेमा समाज, परिवार, अविभावक र बालबालिकाहरूको नै महत्वपूर्ण भूमिका हुने शिक्षा मन्त्री सेल्कुकले बताए । सबैको तर्फबाट पर्याप्त सकारात्मक सहयोग र भूमिका हुने पूर्ण अपेक्षा गरिएको पनि उनले उल्लेख गरे । कोरोनाभाइरसबाट सङ्क्रमितहरूको सङ्ख्या बढ्दै गएपछि टर्कीमा केही समय अगाडि अनलाइन कक्षासमेत बन्द गरिएको थियो । अनलाइनबाट कक्षा सञ्चालन गरे पनि सिकाइको मात्रा र गुणस्तर नपुग्ने र पछि फेरी परिपूर्ति गर्न पनि गाह्रो हुने शिक्षकहरूले बताएका थिए । शिक्षकहरूको यही अनुभवका आधारमा पनि सरकारले विद्यालय खुलाएर अध्ययन अध्यापन कार्य सञ्चालन गर्ने निर्णयमा पुगेको शिक्षा मन्त्री सेल्कुकले जानकारी दिए । उनले विद्यालय आउँदा जाँदा र विद्यालयमा रहँदा कोरोनाविरुद्धका सबै मापदण्ड पालना गराउन कुनै कसर बाँकी नराखिने अठोट पनि व्यक्त गरेका छन् । टर्कीमा यही जनवरी १४ देखि कोरोनाभाइरसविरुद्धको खोप लगाउने अभियान चलिरहेको छ । टर्कीले चिनियाँ कम्पनीले बनाएको खोप प्रयोग गरिरहेको छ । सरकारी अधिकारीहरूका अनुसार स्वास्थ्यकर्मी, वृद्धवृद्धालगायतका गरी टर्कीमा अहिलेसम्म दश लाखभन्दा बढीलाई कोरोनाभाइरसविरुद्धको खोप लगाइएको छ । खोप लगाउने अभियान चलिरहेको र उच्च प्राथमिकतामा परेका वा उच्च जोखिममा रहेकाहरूलाई लगाइएपछि अन्य नागरिकलाई खोप लगाइने अधिकारीहरूले जनाएका छन् ।– सिन्ह्वा