लुम्बिनी विकास प्राधिकरणको सिइओमा अनन्तराज घिमिरे नियुक्त

आइतबार, असोज २४, २०७८

दाङ : लुम्बिनी विकास प्राधिकरणको प्रमुख कार्यकारी अधिकृतमा दाङका अनन्तराज घिमिरे नियुक्त भएका छन् । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले आइतबार इन्जिनियर घिमिरेलाई शपथग्रहण गराएका हुन् ।

लुम्बिनी प्रदेश सरकारको शुक्रबार बसेको मन्त्रिपरिषद्‍को बैठकले उनलाई लुम्बिनी विकास प्राधिकरणको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको थियो । शपथग्रहणपछि सिइओ घिमिरेले सरकारले दिएको जिम्मेवारी र विश्वासलाई गम्भीरताका साथ पूरा गर्ने प्रतिबद्धता जनाउँदै लुम्बिनी प्रदेशको पूर्वाधार विकासका लागि खाका कोर्ने बताए । उनले अब लुम्बिनी प्रदेशभित्र आवश्यक आयोजनाहरूको तर्जुमा गर्ने र यहाँका आयोजनाले छिट्टै गति लिने बताए ।

प्रमुख कार्यकारी अधिकृत घिमिरेले यसअघि ऊर्जा मन्त्रालयअन्तर्गत रहेको विद्युत् उत्पादन कम्पनी लिमिटेडको प्रबन्ध निर्देशकका रूपमा एक वर्ष काम गरिसकेका छन् ।

त्यसअघि उनले मध्यपश्चिम विश्वविद्यालयको इन्जिनियरिङ संकायको डिनको रूपमा तीन वर्ष जिम्मेवारी सम्हालेका थिए । त्यसअघि इन्जिनियर घिमिरेले काठमाडौंको थापाथलीस्थित इन्जिनियरिङ क्याम्पसमा नौ वर्षसम्म अध्यापन गराएका थिए ।

प्रकाशित मिति: आइतबार, असोज २४, २०७८  २१:११
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार