उपत्यकामा निर्माण हुने चार शहरबारे अध्ययन गर्न बन्य अर्काे समिति

  शहरी विकासमन्त्री झाँक्रीद्वारा पदबहाली
शनिबार, असोज २३, २०७८

काठमाडौँ । नवनियुक्त शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले आज मन्त्रालय पुगी पद बहाली गरेकी छन् । पदबहालीपछि काठमाडौँ उपत्यकामा निर्माण हुने चार शहरका विषयमा थप अध्ययन गर्न मन्त्रालयका सहसचिवको संयोजकत्वमा समिति गठन गर्ने निर्णयमा उनले हस्ताक्षर गरिन् । कार्यक्रममा मन्त्री झाँक्रीले आवास, भवन र शहरी क्षेत्र विकासको कार्यक्रमलाई विस्तार गरिने प्रतिबद्धता जनाइन् । 
शहरलाई व्यवस्थित रुपमा विकास गर्न आवश्यक पूर्वाधार निर्माणका लागि नीतिगत काम गर्न सरोकार भएका सबै निकायसँग समन्वयात्मक रुपमा काम गर्ने लक्ष्य पनि उनले सुनाइन् । मन्त्रालयले अघि सारेका कार्यक्रमका विषयमा जानकारी गराउँदै सचिव डा.रमेशप्रसाद सिंहले २०६९ जेठ ५ गते भौतिक योजना मन्त्रालयबाट शहरी विकास मन्त्रालय छुट्याएपछि भए गरेका कामका विषयमा मन्त्री झाँक्रीलाई जानकारी गराएका थिए । शहरी विकासलाई व्यवस्थित रुपमा अघि बढाउन नगरपालिकाहरूको सम्पर्क मन्त्रालयका रुपमा शहरी विकास मन्त्रालयलाई स्थापित गरिनुपर्ने उनको भनाइ थियो । मन्त्रालयका प्रवक्ता विष्णुप्रसाद शर्माले सुन्दर शहर, सुन्दर घर बनाउन मन्त्रालयको कार्यक्षेत्र विस्तार भएको बताए ।  सघन शहरी, नयाँ शहर योजनालगायत कार्यक्रम मन्त्रालयले अघि बढाएको उनले जानकारी दिए । शपथ ग्रहण र मन्त्रिपरिषद्को पहिलो बैठक सम्पन्न गरी मन्त्रालय प्रवेश गरेपछि मन्त्री झाँक्रीलाई सचिव सिंहलगायत उच्च पदस्थ कर्मचारीले पुष्पगुच्छा खादासहित स्वागत गरेका थिए । अखिल नेपाल राष्टिय स्वतन्त्र विद्यार्थी युनियनको अध्यक्ष हुँदै पार्टी राजनीतिमा प्रवेश गरेकी मन्त्री झाँक्री निडर युवा राजनीतिज्ञका रुपमा स्थापित छिन् ।–रासस 
 

प्रकाशित मिति: शनिबार, असोज २३, २०७८  ०७:५४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार