सोसल मिडिया
Contact Us
युनिकोड
कुन्दुज (अफगानिस्तान) । अफगानिस्तानको उत्तरी कुन्दुज प्रान्तको राजधानी सहरमा शुक्रबार प्रार्थना भइरहेको समय एक मस्जिदमा बम आक्रमण हुँदा कम्तीमा १८ जना भक्तालुको मृत्यु हुनुका साथै अन्य ५० भन्दा बढी घाइते भएका प्रान्तीय स्रोतले पुष्टि गरेको छ । तालिबान प्रवक्ता जाबिहुल्लाह मुजाहिदले भने, ‘शिया धर्मावलम्बीहरूको मस्जिदमा स्थानीय समयअनुसार शुक्रबार दिउँसो २ बजे विस्फोट भएको र उक्त घटनामा प्रार्थनाका लागि भेला भएका केही भक्तालुको मृत्यु भएको केही घाइते भएका छन् ।’ सावधानीका लागि सहरको सैयद अबाद मस्जदको वरपर तालिबान सुरक्षा बलले घेरा हाली अनुसन्धान सुरु गरेको छ, उनले भने । घटनाको प्रकृति हेर्दा आत्मघाती बम विष्फोट हुनसक्ने प्रत्यक्षदर्शी स्थानीयवासीले बताएका छन् । मुजाहिदले घटनास्थलको सुरक्षास्थिति कडा पारिएको बताउँदै भने, “अफगानिस्तानको इस्लामिक इमिरेट्सका मुजाहिद्दीनका विशेष बलहरू उक्त स्थानमा छन् । उनीहरूले घटनाको अनुसन्धान गरिरहेका छन् ।” यसैबीच प्रान्तीय स्वास्थ्य निर्देशनालयका उप–प्रमुख मौलवी हकनावाजले सिन्ह्वासँग १८ जनाको मृत्यु भएको र ५० जनाभन्दा बढी घाइते भएको बताउनुभयो । ज्यान गुमाउनेको सङ्ख्या थप बढ्नसक्ने उनले बताए । यस आक्रमणका लागि अहिलेसम्म कुनै पनि समूहले जिम्मेवारी दाबी गरेको छैन । अगस्टको मध्यतिर तालिबानको कब्जा भएदेखि अफगानिस्तानभरि सुरक्षा स्थिति सामान्यतया शान्त तर अनिश्चित रहेको छ । तथापि, हालैका हप्ताहरूमा पूर्वी नानगाहर प्रान्तको राजधानी काबुल र जलालाबाद सहरमा इस्लामी राज्य (आईएस) सम्बद्ध समूहहरूले बम आक्रमण गरेका थिए । आइतबार काबुलको एक मस्जिद बाहिर भएको विस्फोटमा आठ जनाको मृत्यु भएको थियो भने अन्य २० जना घाइते भएका थिए जसका लागि आईएस समूहले जिम्मेवारी लिएको थियो ।– सिन्ह्वा