इँट्टा उद्योगमा प्रयोग हुने सम्पूर्ण मेसिन नेपालमै उत्पादन

शनिबार, भदौ २६, २०७८

सुनसरी : लामो समयदेखि इँट्टा उद्योगमा प्रयोग हुने सम्पूर्ण सामग्री भारतमुखी बन्दै आएको छ । सानादेखि ठूला मेसिन नेपालमा बन्न नसक्दा इँट्टा व्यवसायीले सोचेअनुसार उत्पादन गर्न सकिरहेका छैनन् ।  तर, अब नेपालमै पहिलो पटक इँट्टा उद्योगमा प्रयोग हुने सामग्री बन्न थालेपछि व्यवसायीलाई सहज भएको छ । मोरङको बूढीगंगा गाउँपालिका- ७ मा आफ्नै लगानीमा केही व्यवसायी मिलेर एनआर इन्जिनियरिङ एण्ड वर्कसप स्थापना गरी इँट्टा उद्योगमा प्रयोग हुने माटो मुछ्ने मेसिन, फाइबर कनेन्टिङ, फाइबर पंखा, फाइबर फर्मा, कोइला क्रसर मेसिन, माटो सम्याउने मेसिन नेपालमै पहिलो बनाउन थालेपछि इँट्टा उद्योगी खुसी भएका छन् ।  भारतबाट आयात गर्दा लामो समय कुर्नुपर्ने, महँगोमा खरिद गर्नुपर्ने तथा बिग्रिएपछि पनि भारत नै लैजानुपर्ने बाध्यता भएकै कारण उद्योग स्थापना गरेको एनआर इन्जिनियरिङ एण्ड वर्कसपका संचालक रूपेश बस्नेतको भनाइ छ । भारतसँग निर्भर रहनुपर्थ्यो । अब यसले यहाँको पुँजीलाई विदेश पलायन हुनबाट रोक्ने उनी बताउँछन् ।  यहाँका सामग्रीहरू भारतमा बनेका भन्दा गुणस्तरीय भएको बस्नेतको बुझाइ छ । भारतमा भन्दा एकदेखि दुई लाख रुपैयाँसम्म सस्तो भएकै कारण सोचेभन्दा बढी माग रहेको उनले बताए ।  बस्नेतले भने, ‘भारतबाट ल्याउँदा बिग्रियो भने बनाउन उतै लैजानुपर्ने अवस्था थियो । अहिले सबै समस्या हल भएको छ ।’ अब यसलाई देशव्यापी बनाउन चितवन, बुटवल, नेपालगंजलगायत काठमाडौंसम्म लैजाने उनको भनाइ छ ।  नेपालमा पहिलो पटक स्थापना भएको उक्त उद्योगले अहिले एक महिनामा १२ वटा मेसिन उत्पादन गर्दै आएको छ । भारतमुखी सामग्रीको भर पर्दा महँगो भाडा तिर्नुपर्ने, नेपालमै बेरोजगार युवाले रोजगारी पाउने तथा सस्तो भएकाले इँट्टा उद्योगीलाई सहज भएको इँट्टा व्यवसायी संघ प्रदेश १ का अध्यक्ष खगेन्द्र श्रेष्ठको भनाइ छ ।

प्रकाशित मिति: शनिबार, भदौ २६, २०७८  ०७:३९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार