तालिबान लडाकुहरू अफगानिस्तानको राजधानी काबुल छिरे

आइतबार, साउन ३१, २०७८

काबुल । अफगानिस्तानमा तालिबान लडाकुहरू राजधानी काबुल प्रवेश गरेको छन् ।  समाचारसंस्था रोएटर्सले आन्तरिक मामिलामन्त्रीलाई उद्धृत गर्दै जनाएअनुसार लडाकुहरू राजधानीको सबैतिरबाट छिरेका हुन् । तालिबान समूहले काबुलमा हिंसा नगर्न र बाहिरिन चाहनेलाई सुरक्षित रूपमा निस्किन दिन आफ्ना लडाकुहरूलाई निर्देशन दिएको दोहास्थित एक नेतालाई उद्धृत गर्दै रोएटर्सले जनाएको छ । उनले सुरक्षा दिइएका क्षेत्रतर्फ जान महिलाहरूलाई आग्रह समेत गरेका छन् । आइतवार बिहान मात्रै लडाकुहरूले पूर्वी सहर जलालाबादलाई बिनासङ्घर्ष नियन्त्रणमा लिएका थिए । काबुल छिर्ने क्रममा तालिबान लडाकुहरूले खासै ठूलो प्रतिरोध खेप्नुपरेको छैन ।  तालिबानले आक्रमण तीव्र पारेयता शनिवार पहिलो पटक राष्ट्रका नाममा सम्बोधन गर्दै राष्ट्रपति गनीले मुलुक ‘गम्भीर खतरामा’ रहेको बताएका थिए । तीव्र रूपमा सरकारी फौजहरूको विफलतासँगै राजीनामाका लागि राष्ट्रपतिमाथि दबाव बढ्दो छ । तर आइतवार अपराह्ण अफगान राष्ट्रपतिको कार्यालयले स्थिति नियन्त्रणमा भएको दाबी गरेको छ । राष्ट्रपतिको कार्यालयले पाश्तो भाषामा ट्विटरमा लेखेको छः ूकाबुलमा फाट्टफुट्ट गोली चलेको छ, काबुलमा आक्रमण भएको छैन। सहरको सुरक्षा सुनिश्चित गर्न देशका सुरक्षा र प्रतिरक्षा फौजहरू विदेशी साझेदारसँग मिलेर काम गरिरहेका छन्, स्थिति नियन्त्रणमा छ । तर एक अफगान सांसद फर्जाना कोचाईले मानिसहरू राजधानीबाट भाग्न कति आतुर छन् भनेर बताएकी छन् । ‘मलाई थाहा छैन, उनीहरू कहीँ पनि जान सक्दैनन्। कुनै ठाउँ बाँकी छैन । विमानहरू भरिएका हुनसक्छन् अनि आज काबुलबाहिर । जस्तै भारत वा अन्य छिमेकी मुलुक जाने उडान पनि । मैले त्यता जान लागेका साथीहरूसँग सोधेकी थिएँ उनले भनिन् ।  ‘उनीहरूका अनुसार विमान भरिएका र आफूहरू अड्किएका छन्’ उनले भनिन् ।

अफगान युद्धको पृष्ठभूमि के हो ? 
सन् २००१ को सेप्टेम्बर ११ मा अमेरिकामाथि हमला भएको एक महिनापछि अमेरिकाले पनि अफगानिस्तानमा हवाई हमला सुरु गर्‍यो । तर तालिबानले अमेरिकामाथि हमला गर्ने ओसामा बिन लादेन अमेरिकालाई सुम्पिन अस्वीकार गर्‍यो । त्यसपछि अमेरिकासँग अन्तर्राष्ट्रिय गठबन्धन जोडिन पुग्यो र तालिबान तत्कालै सत्ताबाट हट्यो । यद्यपि उक्त समूह विद्रोही फौजमा परिणत भयो र घातक हमलाहरू निरन्तर जारी राख्दै अफगान सरकारलाई अस्थिर बनायो । अन्तर्राष्ट्रिय गठबन्धनले सन् २०१४ मा आफ्नो सैन्य अभियानअन्त्य गर्‍यो र अफगान फौजलाई तालिम दिनमा मात्रै आफूलाई सीमित राख्यो ।  त्यसपछि तालिबानले देशभरि आफ्नो प्रभावक्षेत्र विस्तार गर्न खोजेको थियो । आफ्नो नियन्त्रणबाट खोसिएका क्षेत्रहरू फेरि कब्जा गर्ने प्रयास तालिबान लडाकुहरूले गरे । तर अमेरिका भने एक्लैले हवाई हमलालगायत युद्ध कारबाही चलाएर निरन्तर सक्रिय रह्यो । तालिबानले पनि आफ्नो गतिविधि कायमै राख्यो ।

के हो तालिबान ?
अफगानिस्तानबाट सोभियत सेना फर्किएपछि सन् १९९० को दशकमा पूर्वार्धमा एउटा कट्टरपन्थी धार्मिक अभियान सुरु भयो ।  अधिकांश पाश्तुन समुदायका व्यक्तिहरू संलग्न भएको तालिबान अभियानबारे सन् १९९४ मा बारे धेरैले थाहा पाए । साउदी अरबबाट आएको आर्थिक सहयोगमा सञ्चालित कट्टरपन्थी सुन्नी इस्लामबारे पढाइने विद्यालयहरूबाट सो अभियान सुरु भएको विश्वास धेरैको छ । पाश्तुनहरूको बाहुल्य भएको पाकिस्तान र अफगानिस्तानका क्षेत्रहरूमा शान्ति र सुरक्षा स्थापित गर्ने वाचासहित आफ्नै इस्लामिक कानुन अर्थात् शरिया कार्यान्वयन गर्ने तालिबानको उद्देश्य थियो । तालिबानले दुवै देशमा हत्यारा र व्यभिचारीहरूलाई सार्वजनिक रूपमा मृत्युदण्ड दिन थाल्यो। चोरी गरेको प्रमाणित भए अङ्गभङ्गको दण्ड दिइन्थ्यो । तालिबानको प्रभाव भएको क्षेत्रमा पुरुषले दाह्री पाल्नै पर्ने र महिलाले पूरै शरीर छोपिनेगरी बुर्का लगाउनै पर्ने बनाइयो । टीभी, चलचित्र र सङ्गीतमाथि प्रतिबन्ध लाग्यो । अनि १० वर्ष र त्यसभन्दा माथिका बालिकालाई विद्यालय जान दिइएन ।

काबुलमा तालिबान शासन
दक्षिणपश्चिम अफगानिस्तानबाट सुरु भयो तालिबानले बिस्तारै आफ्नो प्रभाव विस्तार गर्‍यो । सन् १९९५ को सेप्टेम्बर महिनामा तालिबानले इरानसँग सीमा जोडिएको हेरात प्रान्त आफ्नो नियन्त्रणमा लियो । त्यसको एक वर्षपछि देशको राजधानी काबुल तालिबानको नियन्त्रण पुग्यो । राष्ट्रपति बुरानुद्दिन रब्बानीलाई हटाएर तालिबान देशको सत्तामा पुग्यो । सन् १९९८ सम्ममा अफगानिस्तानको ९० प्रतिशत भूभागमा तालिबानको नियन्त्रणमा आइसकेको थियो । सत्तामा पुगेको सो इस्लामिक कट्टरपन्थी समूहले सन् २००१ मा बामियानस्थित बुद्धका विशाल मूर्तिहरू भत्काइदिएको थियो ।
तर न्यूयोर्कमा आक्रमण भएको एक महिनाभित्रै अक्टोबर ७, २००१ मा अमेरिकी नेतृत्वमा अफगानिस्तानमा सैन्य कारबाही सुरु भयो। डिसेम्बर महिनाको पहिलो हप्तामा तालिबान सत्ता धराशायी भयो । तालिबान अभियान सुरु गराएको आरोप पाकिस्तानलाई लाग्ने गरेको छ। तर इस्लामाबादले भने त्यसको खण्डन गर्दै आएको छ । तालिबान सन् १९९० को दशकको मध्यदेखि सन् २००१ सम्म अफगानिस्तानको सत्तामा रह्यो । त्यसबेला साउदी अरब, यूएई र पाकिस्तान गरेर तीन देशले मात्र उसलाई औपचारिक मान्यता दिएका थिए । दुई देशले तालिबानसँगको कूटनीतिक सम्बन्ध विच्छेद गर्दा पनि पाकिस्तानले भने पछिसम्म कायम राखेको थियो ।

बिन लादेनसँगको सम्बन्ध
सन् २००१ मा न्यूयोर्कस्थित वर्ल्ड ट्रेड सेन्टरमा भएको आक्रमणपछि अफगानिस्तानको शक्तिमा रहेको तालिबान समूहको चर्चा विश्वस्तरमा भयो । न्यूयोर्कमा भएका आक्रमणको आरोप लागेका ओसामा बिन लादेन र अल–कायदालाई तालिबानले अफगानिस्तानमा सुरक्षित रूपमा बस्न सघाएको आरोप लगाइयो । सेप्टेम्बर ११ आक्रमणपछि अमेरिकाको नेतृत्वमा तालिबानलाई सत्ताच्युत गरियो । तर पछि तालिबानले बिस्तारै आफ्नो शक्ति बढाउँदै लग्यो र पाकिस्तानमा पनि बलियो रूपमा देखा पर्‍यो । 
तालिवान आक्रमणपछि ८० भन्दा बढी अफगान सिपाहीहरू उज्वेकिस्तानमा
तालिवान समूहले देशका २४ राज्यलाई आफ्नो नियन्त्रणमा लिएको बताइरहँदा अफगानिस्तानको सिमा क्षेत्रमा तैनाथ ८४ अफगान सैनिकले अफगान–उज्वेकिस्तान सीमा पार गरी स्थानीय प्रशासनसमक्ष सहयोग मागेका उज्वेकिस्तानको विदेश मन्त्रालयले जानकारी गराएको छ । 
“अगस्त १४ मा ८४ जना अफगान सरकारी सैनिकको एउटा समूहले सीमा पार गरको र उनीहरूलाई राज्य सुरक्षा सेवाका सीमा फौजका एकाइहरूद्वारा पक्राउ गरिएको बताइएको छ । 
सीमा उल्लङ्घन गरी उज्वेकिस्तान पुगेका अफगान सैनिकलाई पक्राउ गर्दा उनीहरूबाट कुनै प्रतिरोध नभएको मन्त्रालयले बताएको छ । उनीहरूमध्ये तीन सिपाही घाइते रहेका र उनीहरूलाई उपचारको व्यवस्था गरिएको रूसी सञ्चार संस्था स्पुत्निकले मन्त्रालयलका अधिकारीलाई उद्धृत गरी समाचार लेखेको छ । सिपाहीहरूलाई उज्वेकिस्तान सरकारद्वारा चिकित्सा सहायता, खाना र अस्थायी आश्रय दिएको बताइएको छ । 
रूसी समाचार संस्थाका अनुसार अफगानिस्तानको उत्तरमा रहेको एक मात्र प्रान्त बल्खको राजधानी बल्ख तालिबानको नियन्त्रणमा आएपछि देशकोे सम्पूर्ण उत्तरी क्षेत्र लडाकूहरूको नियन्त्रणमा आएको छ । 
तालिबानले अफगानिस्तानको चौथो ठूलो शहर मजार–आई–शरिफलाई आफ्नो नियन्त्रणमा लिएपछि उत्तरमा सरकारको नियन्त्रण गुमेको हो । खामा प्रेसका अनुसार मार्शल अब्दुल राशिद डोस्टम र “प्रमुख ‘जिहाद नेता’ अट्टा मुहम्मद नूरको प्रभाव क्षेत्र रहेको मजार–आई–शरिफ आफ्ना लडाकू र छोराहरूसँगै उज्बेकिस्तान भागेपछि उक्त क्षेत्रमा सरकार कमजोर भएको मानिएको थियो । अट्टा नूरले मजार–ए–शरीफमा सैनिक पतन एउटा षड्यन्त्र भएको र यसको उद्देश्य आफैलाई पक्राउ गरी आफू र मार्शल डोस्टमलाई आत्मसमर्पण गराउनु रहेको दावी उज्वेकिस्तानबाट गरेका छन् । 
यसैबीच तालिवानले प्रान्तीय कार्यालय, प्रहरी मुख्यालयस राष्ट्रिय सुरक्षा निर्देशनालय (एनडिएस) स्थानीय कार्यालय र २०९ औँ शाहीन चिहान क्षेत्र आफ्नो लडाकूको कब्जामा आएको दाबी गरेको छ । विदेशी सेनाको पूर्ण फिर्ता भएको केही हप्ताभित्रै तालिबानले अफगान सेना र नागरिकहरू विरुद्ध आफ्नो आक्रामक हमलालाई तीव्र बनाउँदा अफगानिस्तानमा हिंसाग्रस्त अवस्था देखिरहेको छ । तालिबान समूह अहिले देशको केन्द्रीय राजधानी काबुल पुगिसकेको छ ।– एजेन्सी

प्रकाशित मिति: आइतबार, साउन ३१, २०७८  १७:३३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार