Dashain Banner
Dashain Banner

गगन थापासँग प्रतिस्पर्धा गरेका खड्गी भन्छन्, 'मेरो उम्मेदवारी आन्तरिक लोकतन्त्र बलियो बनाउन थियाे'

सोमबार, असोज २६, २०८३

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदका उम्मेदवार श्यामकृष्ण खड्गीले नवनिर्वाचित सभापति गगनकुमार थापालाई पार्टीभित्रका सबै पक्षलाई समेटेर अघि बढ्न आग्रह गरेका छन् । महाधिवेशनबाट सभापतिमा निर्वाचित थापासहित अन्य पदाधिकारी तथा सदस्यहरूलाई बधाई दिँदै खड्गीले पार्टीभित्रको आन्तरिक लोकतन्त्र, विधि र विधानको रक्षा तथा एकतालाई प्राथमिकता दिनुपर्ने बताएका छन् । सोमबार पत्रकार सम्मेलन गर्दै खड्गीले आफ्नो उम्मेदवारीको मुख्य उद्देश्य पार्टीको आन्तरिक लोकतन्त्रको रक्षा गर्नु रहेको उल्लेख गरेका छन् । चार दशक लामो राजनीतिक यात्राका क्रममा सभापति पदमा उम्मेदवारी दिने निर्णय चुनौतीपूर्ण भए पनि त्यसले पार्टीभित्र प्रतिस्पर्धात्मक लोकतान्त्रिक अभ्यासको महत्त्व स्थापित गरेको उनको भनाइ छ । उनले नेपाली कांग्रेसको इतिहासमा आन्तरिक प्रतिस्पर्धाबाट नेतृत्व चयन हुँदै आएको उल्लेख गर्दै निर्वाचनमा हारजितलाई स्वाभाविक रूपमा लिनुपर्ने बताए । निर्वाचन परिणाम जे भए पनि पार्टीलाई बलियो बनाउने, विधि र विधानको रक्षा गर्ने तथा सभापतिका सकारात्मक कदममा आफूले साथ दिने प्रतिबद्धता उनले व्यक्त गरेका छन् । खड्गीले विशेष महाधिवेशन र नियमित महाधिवेशनका क्रममा पार्टीभित्र उत्पन्न असमझदारी अन्त्य गर्नुपर्नेमा जोड दिएका छन् । छुट्टै महाधिवेशनको बाटोमा रहेका नेताकार्यकर्तालाई समेत संवाद, सहमति र सम्मानका माध्यमबाट पार्टीको मूलधारमा समेट्नु नयाँ कार्यसमितिको प्रमुख दायित्व भएको उनले बताएका छन् । स्थानीय तहको निर्वाचनअघि नै पार्टीभित्रको विभाजन अन्त्य गर्न सभापति थापालाई सहयोग गर्ने प्रतिबद्धतासमेत उनले जनाएका छन् । नवनिर्वाचित सभापति थापालाई सम्बोधन गर्दै खड्गीले उनलाई मत दिने र नदिने सबैलाई समान रूपमा समेटेर अघि बढ्न आग्रह गरेका छन् । फरक विचार राख्ने कसैले पनि पार्टीभित्र पराइ महसुस गर्न नहुने उल्लेख गर्दै उनले नेतृत्वको सफलता निर्वाचन जित्नुमा मात्र नभई फरक मत राख्ने नेताकार्यकर्ताको विश्वास जित्नुमा पनि निर्भर रहने बताएका छन् । कांग्रेसलाई गुटबन्दी र भागबन्डाभन्दा माथि उठाउनुपर्ने धारणा राख्दै खड्गीले विचार समूह र स्वस्थ प्रतिस्पर्धालाई भने पार्टीभित्र सधैँ खुला राख्नुपर्ने बताएका छन् । पार्टीलाई सशक्त, एकताबद्ध र जनताको भरोसायोग्य बनाउन व्यक्ति र गुटभन्दा पार्टी तथा प्रतिस्पर्धाभन्दा एकतालाई प्राथमिकता दिनुपर्ने उनको भनाइ छ । निर्वाचनमा सहभागी भएर लोकतान्त्रिक अभ्यासलाई जीवन्त बनाउने महाधिवेशन प्रतिनिधि तथा आफूलाई प्रत्यक्ष र अप्रत्यक्ष रूपमा सहयोग गर्ने सबैप्रति खड्गीले आभार व्यक्त गरेका छन् ।  निर्वाचनको परिणामले आफूहरूसँगको आत्मीय सम्बन्ध, विश्वास र सहकार्यमा कुनै असर नपर्ने उनले उल्लेख गरेका छन् । विजयी सभापति थापालाई सफल कार्यकालको शुभकामना दिँदै खड्गीले व्यक्तिगत हारजितभन्दा पार्टीको एकता, पदभन्दा सम्बन्ध र स्वार्थभन्दा विचार ठूलो हुने बताएका छन् । उनले सबै नेताकार्यकर्तालाई नेपाली कांग्रेसको उज्ज्वल भविष्यका लागि एकताबद्ध भएर अघि बढ्न आह्वान गरेका छन् ।

प्रकाशित मिति: सोमबार, असोज २६, २०८३  १८:१८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार