Dashain Banner
Dashain Banner

कांग्रेसको मतगणना सकिन ५ देखि ७ दिन लाग्ने अनुमान, गति बढाउने तयारी

आइतबार, असोज २५, २०८३

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत जारी मतगणना सम्पन्न गर्न अझै पाँचदेखि सात दिन लाग्ने अनुमान गरिएको छ । केन्द्रीय निर्वाचन अधिकृत तुलसीराम पराजुलीले धेरै क्लस्टर, उम्मेदवारको ठूलो सङ्ख्या र मतपत्रको सङ्ख्या बढी भएकाले मतगणनामा समय लागेको बताए ।  सानेपास्थित पार्टी कार्यालयमा जारी मतगणनाबारे जानकारी दिँदै पराजुलीले उपसभापति र महामन्त्री पदको मतगणना भोलिसम्म सम्पन्न गर्ने लक्ष्य राखिएको बताए । सहमहामन्त्री पदको मतगणनाका लागि पनि तयारी भइरहेको उनले जानकारी दिए । उनले भने, ‘नेपाली कांग्रेसको १५औँ केन्द्रीय निर्वाचन भर्खरै मात्र सम्पन्न भएर सानेपा पार्टी कार्यालयमा मतगणनामा जुटिरहेका छौँ । कांग्रेस आफैँमा एउटा लोकतान्त्रिक पार्टी भएकाले धेरै क्लस्टरहरू राखिएको थियो । त्यस कारण मत मतगणनामा ढिलाइ भएको अवस्था हो । आधिकारिक रुपमा यति नै दिन लाग्छ भनेर भन्ने अवस्था त छैन तर ५ देखि ७ दिन लाग्ने नै देखिन्छ ।’ उनका अनुसार सभापति पदको मतगणना निर्वाचन भएकै दिन सम्पन्न गरी परिणाम सार्वजनिक गरिएको थियो । त्यसपछि प्राविधिक तयारी तथा मुचुल्कालगायतका कामले गर्दा अन्य पदाधिकारीको मतगणना सुरु गर्न केही ढिलाइ भएको थियो । हाल उपसभापति र महामन्त्री पदको मतगणना जारी छ । पराजुलीले मतगणनाको गति बढाउन थप जनशक्ति परिचालन गर्ने र मतगणनास्थलको सङ्ख्या बढाउने तयारी भइरहेको बताए । आवश्यक व्यवस्थापन मिलाएर रातभरि पनि मतगणना गर्ने योजना रहेको उनको भनाइ छ । कांग्रेसको १५औँ महाधिवेशनमा सभापतिदेखि विभिन्न पद तथा समावेशी समूहका लागि २३ वटा मतपत्र प्रयोग गरिएको पराजुलीले जानकारी दिए । यसपटक जेनजी पुस्ता अर्थात् ३५ वर्षमुनिका युवा तथा पेसागत विज्ञ समूहलाई समेत प्रतिनिधित्व गराइएकाले निर्वाचन प्रक्रिया थप विस्तृत भएको उनको भनाइ छ । खुला केन्द्रीय सदस्यतर्फ ४५ पदका लागि ८९ भन्दा बढी उम्मेदवार प्रतिस्पर्धामा रहेकाले मतगणनामा थप समय लाग्ने उनले बताए । दसैँ नजिकिएकाले काठमाडौं उपत्यका छाडेर घर जानेक्रम बढेको र उम्मेदवार तथा सर्वसाधारणलाई पनि परिणाम छिटो थाहा पाउन सहज होस् भन्ने उद्देश्यले मतगणनाको गति बढाउन लागिएको उनले बताए । उनले मतगणनामा भएको ढिलाइलाई बुझिदिन र परिणाम सार्वजनिक नभएसम्म धैर्य गर्न सञ्चारमाध्यम तथा सर्वसाधारणलाई आग्रहसमेत गरेका छन् ।

प्रकाशित मिति: आइतबार, असोज २५, २०८३  २०:५१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार