सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई नयाँ बनाउन संस्कार, सोच्ने तरिका, संगठन गर्ने शैली, निर्णय प्रक्रिया र जवाफदेहितामा परिवर्तन आवश्यक रहेको बताएका छन् । शनिबार सानेपास्थित कांग्रेस केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा बोल्दै उनले आफूलाई प्राप्त जिम्मेवारी व्यक्तिगत विजय नभई परिवर्तनप्रतिको विश्वास भएको बताए । उनले आफूले चमत्कार गर्ने वाचा नगरे पनि इमानदार प्रयास गर्ने र कठिन प्रश्न तथा कठोर निर्णयबाट नभाग्ने प्रतिबद्धता व्यक्त गरे । थापाले भने, ‘यो मेरो व्यक्तिगत विजय होइन, परिवर्तनप्रतिको विश्वास हो । नेपाली कांग्रेसलाई नयाँ बनाउँछौँ भन्ने हाम्रो संकल्पप्रतिको विश्वास हो । यो विश्वासलाई म खेर जान दिनेछैन ।’ उनले १५औँ महाधिवेशनले पार्टी परिवर्तनको संकल्पलाई संस्थागत रूपमा अघि बढाउने जिम्मेवारी दिएको बताए । महाधिवेशनबाट नेतृत्व परिवर्तन हुँदैमा कांग्रेस स्वतः परिवर्तन हुन्छ भन्ने भ्रममा आफू नरहेको उनले बताए । ‘नेपाली कांग्रेस बदल्नका निम्ति हामीले हाम्रो संस्कार बदल्नुपर्नेछ, सोच्ने तरिका बदल्नुपर्नेछ, संगठन गर्ने तरिका बदल्नुपर्नेछ, निर्णय गर्ने तरिका बदल्नुपर्नेछ, जिम्मेवारी लिने तरिका बदल्नुपर्नेछ र जवाफदेहिता लिने तरिकालाई पनि बदल्नुपर्नेछ,’ थापाले भने । थापाले महाधिवेशनमा भएको प्रतिस्पर्धालाई अब समाप्त गरेर पार्टीभित्र सबैलाई एकताबद्ध गर्दै अघि बढ्नुपर्ने बताएका छन् । मतगणनापछि हुने जित–हारलाई पार्टीभित्रको स्थायी विभाजनका रूपमा लिन नहुने उनले बताए । उनले नागरिकको विश्वास पुनः प्राप्त गर्ने अभियान कांग्रेसले अघि बढाउनुपर्ने बताए । त्यसका लागि आफू एक्लैले वा कुनै समूहले मात्र सम्भव नहुने भन्दै सबै नेता–कार्यकर्तालाई साथमा लिएर अघि बढ्ने प्रतिबद्धता जनाए । आफूसँग सभापतिका लागि प्रतिस्पर्धा गरेका श्यामकृष्ण खड्गीप्रति आभार व्यक्त गर्दै थापाले उनको प्रतिस्पर्धाले कांग्रेसभित्रको आन्तरिक लोकतन्त्रलाई जीवन्त राख्न महत्वपूर्ण भूमिका खेलेको बताए । महाधिवेशनमा विभिन्न पदमा प्रतिस्पर्धा गरेका तर निर्वाचित हुन नसक्ने नेताहरूको भूमिका पनि महत्वपूर्ण हुने थापाले बताए । उनले पद प्राप्त गर्न नसक्नुको अर्थ उनीहरूको राजनीतिक महत्व कम हुनु नभएको भन्दै सबैलाई समेटेर अघि बढ्ने प्रतिबद्धता जनाए । महाधिवेशन प्रक्रियामा सहभागी नभएका नेताहरूलाई समेत पार्टीको मूलधारमा जोड्ने प्रयास जारी राख्ने थापाले बताए । उनले कांग्रेस र नागरिकबीच टुटेको विश्वास पुनः जोड्न पार्टीको काम गर्ने शैली परिवर्तन गर्नुपर्नेमा जोड दिए ।