गगनजीले नेपाली कांग्रेसलाई नयाँ इतिहासतिर डोर्‍याउनुभयो : प्रचण्ड

आइतबार, असोज १८, २०८३

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीमा नयाँ इतिहास निर्माण गरेको बताएका छन् ।  आइतबार काठमाडौंमा सुरु भएको नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रचण्डले निरन्तरतामा क्रमभङ्ग गर्दै कांग्रेसलाई नयाँ इतिहासतर्फ डोर्‍याउने काम गरेको भन्दै थापालाई बधाई दिए । उनले भने, ‘मैले सँधै भन्ने गर्थें निरन्तरतामा क्रमभङ्ग गर्न सक्नुपर्छ । तपाईंले निरन्तरतामा क्रमभङ्ग गरेर कांग्रेसलाई नयाँ इतिहासतिर डो¥याउनुभयो । त्यसका लागि विशेष बधाई भन्न चाहन्छु ।’ प्रचण्डले देश अहिले असाधारण, जटिल र चुनौतीपूर्ण परिस्थितिबाट गुज्रिरहेको बताए । प्राकृतिक विपद्का कारण हजारौँको ज्यान गएको, ठूलो मात्रामा सम्पत्ति नष्ट भएको र हजारौँ मानिस बेपत्ता रहेको उल्लेख गर्दै उनले यस्तो अवस्थामा कांग्रेसको महाधिवेशन हुन लागेको बताए ।  उनले गगन थापालाई आफू दोस्रोपटक प्रधानमन्त्री हुँदा स्वास्थ्य मन्त्रीका रूपमा काम गर्दादेखि नै देशको नेतृत्व गर्नसक्ने व्यक्तिका रूपमा हेरेको स्मरण गरे । थापाले अहिले देशको नेतृत्व गर्ने आँट गरेको भन्दै आफूहरू उनको साथमा रहेको बताए । ‘तपाईंले अन्ततः एकदिन यो देशको नेतृत्व गर्ने अवस्था आउनसक्छ भन्नेको थिएँ, आज आएको देख्छु । निकै ठूलो जिम्मेवारी छ । तपाईं अगाडि बढ्नुस् । हामी तपाईंलाई सम्पूर्ण रूपले साथ दिन तयार छौँ,’ प्रचण्डले भने । प्रचण्डले कांग्रेसभित्र नयाँ पुस्ता र पुरानो पुस्ताबीच विभाजनको भावना विकास गर्न नहुने बताए । समाज वृद्ध, प्रौढ र युवाहरू मिलेर अघि बढ्ने भएकाले सबै पुस्तालाई समेटेर अघि बढ्नुपर्ने उनको भनाइ थियो । उनले देशमा लोकतन्त्र र संविधानसमेत अप्ठ्यारो अवस्थामा रहेको दाबी गर्दै संघीय लोकतान्त्रिक गणतन्त्र र संविधानलाई थप सुदृढ गर्न सबै राजनीतिक दल मिलेर अघि बढ्नुपर्ने बताए । ‘यस्तो बेलामा संविधानलाई अझ सुदृढ गर्ने, संघीय लोकतान्त्रिक गणतन्त्रलाई अझ सुदृढ गर्ने काममा सबै राजनीतिक दलहरू मिलेर अगाडि बढ्न जरुरी छ,’ उनले भने । शान्ति सम्झौताका बाँकी काम पूरा गर्नुपर्ने उल्लेख गर्दै प्रचण्डले त्यसको जिम्मेवारी कांग्रेस सभापति गगन थापाले लिनुपर्ने बताए । समावेशी लोकतन्त्रका उपलब्धिलाई थप सुदृढ गर्दै शान्ति प्रक्रियालाई पूर्णता दिनुपर्ने उनको भनाइ थियो । प्रचण्डले आगामी दिनमा कांग्रेस, वामपन्थी तथा अन्य राजनीतिक शक्तिहरूबीच समझदारी आवश्यक रहेको बताए । समृद्ध, शान्तिपूर्ण र लोकतान्त्रिक नेपाल निर्माणका लागि सबै मिलेर अघि बढ्नुपर्ने उनको धारणा थियो । उनले आफ्नो राजनीतिक यात्रामा पटक–पटक ‘क्रमभङ्ग’ गरेको स्मरण गर्दै अब नयाँ पुस्ताको पालो आएको बताए । प्रचण्डले कांग्रेसको १५औँ महाधिवेशनले नयाँ नेपाल निर्माणमा कोसेढुंगा बन्न सक्ने विश्वास व्यक्त गर्दै महाधिवेशनको सफलताको शुभकामना दिए ।

प्रकाशित मिति: आइतबार, असोज १८, २०८३  १८:०१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार